Logo
Logo

माओवादीको पत्रले छातिमा हानेको तीर




जीवनमा दुःख र समस्याको सिलसिला कति पुगेपछि सिद्धिन्छ ? घर थिएन, बल्लबल्ल घर भयो– त्यो सानै घरको खुसी पनि अनुभव गर्न पाएको थिएन । देशमा घटिरहेका घटनाले जीवनकै बारे अनेक प्रश्न जगाइरहेका थिए ।

राजदरबार हत्याकाण्डले मेरो नयाँ घरसराईलाई फिक्का बनाइदिइसकेको थियो । मनलाई बलियो बनाउन मद्दत पुग्छ भनेर विपश्यना पनि गएँ । तर, देशमा चलिरहेको सशस्त्र संघर्षका दुवै पक्षबाट हरेक दिन कतै न कतै भइरहेको हत्या हिंसाका समाचारले मन व्याकुल नै रहिरह्यो ।

तिथि मिति त बिर्सें, दरबार हत्याकाण्डभन्दा अघि नै– माओवादी सशस्त्र संघर्षको सुरु–सुरुतिरै– जाजरकोटमा एकैपल्ट १०० जना भन्दाबढी मान्छे मरेको समाचारले मनलाई अशान्त बनाएको थियो । त्यो समाचार सुनेपछि कैयौं दिन म निदाएकी थिइन । अब देशमा हिंसाहत्याको श्रृंखला शुरु हुने भयो भनेर । त्यही बेला आफ्नो व्याकुलतालाई एउटा सानो कवितामा पोखेकी थिएँ –

ठूलो पोखरीमा विष घोलेपछि
कुन सानो माछा
अनि कुन ठूलो माछा
सबैलाई मर्नु नै त छ !

जाजरकोटपछि त झन् बढी ‘साना माछा’, ‘ठूला माछा’ मरेको, मारिएको समाचार सुन्न थालियो । हुँदाहुँदा राजदरबारकै ‘ठूला माछा’हरू पनि मरे, मारिए ।

समाचार मात्र हैन, शहरमै बम विष्फोटको आवाज पनि सामान्य हुन थाल्यो । मान्छे जन्मिएपछि एकदिन त मर्नु नै छ । तर, अकालमा मारिनुपर्ने अवस्थाले कतिबेला आफूलाई पनि त्यो ‘माछा मार्ने जाल’मा लाने हो भन्ने अनिश्चितता हुन थाल्यो ।

खाम खोलेर हेर्दा म जिल्ल परेँ । माओवादीले पठाएको चिठी रहेछ, १० लाख रुपैयाँ चन्दा मागेको ! चिठीमा हस्ताक्षर थियो माओवादी नेता, अहिलेका प्रधानमन्त्री प्रचण्डको । हाम्रो निम्ति ‘१० लाख’ भन्नु सानो कुरा थिएन, त्यो पनि ऊबेला ।

‘क्रान्ति’, ‘आन्दोलन’कै नाममा भएका हिंसा हत्याको पक्षमा म थिइनँ । मेरो संवेदनशील मन क्रान्तिका विभिन्न तर्कहरूले बुझाउनै नसक्ने भइसकेको थियो । किरा मरे झैं मान्छे मर्ने अवस्थालाई म कसैगरी स्वीकार्न सक्तिन थिएँ ।

घर किनेको धेरै भएकै थिएन । कहिले ‘नेपाल बन्द’ कहिले के हुँदै दिनहरू गुज्रिरहेकै थिए । घर किन्दा बोकेको ऋणको भारीले थिचेर पनि मन अशान्त थियो । विपश्यनामा रहुञ्जेल अर्कै दुनियाँमा रहेको जस्तो भए पनि फर्केपछि त फेरि उही सांसारिक भोगाई भोग्नु नै थियो ।

एकदिन सरोज अस्पतालबाट फर्किंदा अनुहारमा चिन्ताको रेखा र हातमा एउटा खाम देखें । ‘के हो ?’ भनेर सोध्दा ‘तिमी आफै हेर न !’ भनेर दिए । खाम खोलेर हेर्दा म जिल्ल परेँ । माओवादीले पठाएको चिठी रहेछ । दश लाख रुपैयाँ चन्दा मागेको चिठी ! चिठीमा हस्ताक्षर थियो माओवादी नेता, अहिलेका प्रधानमन्त्री प्रचण्डको । हाम्रो निम्ति ‘दश लाख’ भन्नु सानो कुरा थिएन, त्यो पनि ऊबेला ।

दश हजार पनि घर भित्र्याउन गाह्रो हुने बेलामा ऋणको भारीले बेस्सरी नै थिचिरहेको थियो । बच्चाहरुलाई पढाउन पनि सजिलो थिएन । दश लाख रुपैयाँको त्यो धम्कीपूर्ण माग छातिमा हानेको तीर जस्तो भयो । हामीप्रति के धारणा राखेर मागेका थिए, त्यो थाहा भएन । धनी भनेर हो कि दानी भनेर हो कि, वा अरु नै कुनै कारण थियो केही थाहा भएन ।

विवाहको २० वर्षपछि अलि खुट्टासम्म तन्काउन मिल्ने सानो घर जोडेका थियौं । त्यो पनि साथीहरू र सहकारीको ऋणमा । अन्य दुःख, सुख त आफ्नै ठाउँमा छँदैथियो । घर भएपछि हामीलाई एकाएक ‘धनी भए’ भन्ठानेछन् कि ? सामन्त नै भन्ठानेछन् कि ? ‘प्रतिगामि तत्व’ भन्ठानेछन् कि ! अस्पतालका सबैभन्दा ठूलो मान्छे ठानेछन् कि …आदि कुराहरू मनमा प्रश्नहरूको लस्कर आए ।

हाम्रो आफ्नै पनि वाम आन्दोलनको इतिहास भएपनि माओवादीसँग न नजिक थियौं न विरोध गर्दै हिंडेकै थियौं ! सरोज आफ्नो अस्पतालमा एकातिर घाइते माओवादी अर्कोतिर माओवादीले घाइते पारेका बिरामीको उपचार गरिरहेका हुन्थे । सरकारको कडा उर्दीका बीच घाइते माओवादीलाई सुरक्षित उपचार दिन उनलाई कम गाह्रो थिएन ।

देशकै निम्ति भनी विदेशबाट फर्केका हामी । पैसा कमाउन र जोगाउन सकिने ठाउँबाट फर्केका थिएनौँ– त्यो बेलाको चीन अहिलेको जस्तो थिएन । विद्यार्थी जीवन सिध्याएर फर्केका हामी– खल्ती खाली नै थियो । त्यसैले पनि पैत्रिक घरमा ६ वर्ष दुःखजेलो गर्दै बसेका थियौँ । त्यसपछि पनि चार वर्ष डेरामै बसेर भर्खर भर्खरै मात्र जोडेको घरमा बस्न नपाउँदै यस्तो कुराको सामना गर्नुपर्ने हुँदा मन दिक्क हुने नै भयो । देशैसँग चित्त दुखेको जस्तो पनि भयो ।

राज्यबाट हामीले कुनै बेला केही खोजेनौं । दिन सकेको बेला सबै कुरा दियौं मात्र । ज्यान जोखिममा पारेर पनि हिँडेकै थियौं । त्यो बेला पनि ‘सम्पूर्ण आकाश’मा एउटा लेख लेखेकी थिएँ– आफ्नै चित्त बुझाउन । हामी ‘देश देश भनेर फर्केका’ भनेर । कुरा सत्य पनि थियो । नत्र हामी पनि विदेशमै हराउन सक्थ्यौं । विदेश पढ्न भनी हिंडेका धेरै विदेशमै हराएका छन्… ।

हामीलाई समस्या परेको कुरा केही साथी र आफन्तले थाहा पाए । मेरी दिदी पद्माले ज्यादै चिन्तित भएर फोन गर्नुभयो र भन्नु भयो ‘…त्यस्तो एकान्तको घरमा एक्लै नबस्नु, चन्दा दिन नसकेको कारण जे पनि हुन सक्छ ! यता हामी कहाँ नै बस्न आउनु …!’

हुन पनि कुनै कारणै बिना कतिको ज्यान गइरहेको कुरा पनि सुन्नु परिरहेको बेला थियो ।

केहीवर्ष अगाडि मात्रै संसार त्याग गर्नुभएका एक असल मित्र विनय कसःजुले पनि कसरी थाहा पाउनु भएछ, चिन्ता लिँदै भन्नुभयो ‘ज्यादै अप्ठ्यारो भए हामी साथी पनि छौं, साथीहरूबाट पैसा सहयोग गरेर भएपनि समस्या समाधान गर्ने हो कि !’

आपदको बेला सहयोगका कुरा गर्नेहरूलाई कहिल्यै नबिर्सिने रहेछ । विनय कसःजुलाई हामीले कहिल्यै बिर्सन सक्तैनौं ।

अर्को हामीलाई माया गर्ने आदरणीय पद्मरत्न दाइले पनि यो कुरा बुझेपछि उहाँले नै माओवादी नेताहरूसँगै कुराकानी गर्नु भएछ । पछि थाहा पाएँ, ‘नपुग्नुपर्ने ठाउँमा चिठी पुगेछ’ पनि भने अरे ! पद्म दाइले नै सुनाउनु भएजस्तो लाग्छ । पछि त्यो चन्दाको ताकेता आउन छोड्यो । हामी एउटा ठूलो समस्याबाट मुक्त भयौं ।

अहिले फर्केर हेर्दा जुनबेला आन्दोलनमा लागेर काम गर्यौं, देशकै निम्ति भनेर गरेका थियौँ, जनताको सेवा भनेरै लागेका थियौँ । त्यो आफैभित्र रहेको करुणाको बीऊको प्रस्फुरण थियो । त्यसका निम्ति ग्लानिको आवश्यकता छैन । तर, वाम आन्दोलनले जसरी बाटो बिरायो र अहिलेको अवस्थामा आइपुग्यो, त्यो देख्दा दुःख भने लाग्दो रहेछ …।

प्रतिक्रिया दिनुहोस्