Logo
Logo

सर्वोत्तम सिमेन्टको आईपीओ सर्वसाधारणले भर्न पाउने



काठमाडौं । सर्वोत्तम सिमेन्टले प्राथमिक सेयर (आईपीओ) निस्कासन गरेको छ । सर्वोत्तम सिमेन्टले पहिलोपटक बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ जारी गरेको हो ।

बुधबारदेखि बिक्री खुला भएको सर्वोत्तमको आईपीओमा संस्थागत लगानीकर्ताले मात्रै आवेदन दिन पाउनेछन् । संस्थागत लगानीकर्तालाई बाँडफाँट भइसकेपछि अर्को चरणमा मात्रै सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

कम्पनीले जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता सेयर जारी गर्न लागेको हो । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयर पहिले योग्य संस्थागत लगानीकर्तालाई प्रदान हुनेछ भने बाँकी ६० प्रतिशत अर्थात ३६ लाख कित्ता सेयर सर्वसाधारणलाई पछि जारी हुनेछ ।

कम्पनीको सेयरका लागि संस्थाहरुलाई न्यूनतम मूल्य प्रतिकित्ता ४०१ रुपैयाँदेखि अधिकतम ६०१ रुपैयाँ ५० पैसाको रेञ्ज प्रदान गरिएको छ । संस्थागत लगानीकर्ताले मंसिर १० गतेसम्म यो कम्पनीको आईपीओ खरिदका लागि आवेदन दिनेछन् ।

संस्थागत लगानीकर्ताले गोप्य शिलबन्दीमार्फत तोकिएको मूल्य रेञ्जभित्र रहेर दिएको आवेदनअनुसार प्रतिस्पर्धाका आधारमा निश्चित मूल्य (कट अफ प्राइस) तय हुन्छ । त्यहीं कटअफ प्राइसभन्दा १० प्रतिशत कम मूल्यमा पछि सर्वसाधारणलाई ३६ लाख कित्ता सेयर जारी हुनेछ ।

सर्वसाधारणले बुक बिल्डिङबाट खुल्ने आईपीओमा कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था छ । बाँडफाँटका क्रममा पनि एक व्यक्तिले कम्तीमा ५० कित्ता सेयर पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्