Logo
Logo

‘भ्रष्टाचार र अनियमितताले सामाजिक मनोविज्ञान बिथोलिँदै छ’


378
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले लोकतान्त्रिक स्थिरताका साथ मुलुक समृद्धि र समाजवादतर्फ अगाडि बढ्ने विश्वासिलो आधार अहिलेसम्म पुनस्र्थापित हुन नसकेको बताएका छन् ।

बिहीबार अन्तर पार्टी निर्देशिका (अपानि) जारी गर्दै अध्यक्ष नेपालले यहि मौकामा दक्षिणपन्थी–पुनरुत्थानवादी शक्तिहरुले संविधान, राष्ट्रिय एकता, सामाजिक सद्भाव र लोकतान्त्रिक मूल्यहरुमाथि औँला उठाउन थालेको समेत बताएका छन् ।
अपानिमा भनेका छन्, ‘बरु राष्ट्रिय राजनीतिले एकपछि अर्को झन्झन्टबढी प्रतिकूलताको सामना गर्दैछ । आर्थिक क्षेत्रमा समस्या गहिरिँदै गएका छन् । भ्रष्टाचार र अनियमितताले सामाजिक मनोविज्ञान बिथोलिँदै गएको छ ।’

राजनीतिलाई विचारहीन, सिद्धान्तहीन सस्ता नाराको खेल बनाउने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै अपानिमा भनिएको छ, ‘मुलुकमा भूराजनीतिक दबाब बढ्दै गएको छ र राष्ट्रिय हितका विरुद्ध अनेक षडयन्त्रहरु हुँदै गरेका आशंकाहरु बढ्न थालेका छन् । आज मुलुकमा बढ्दै गरेको संकटले राजनीतिमा एउटा प्रभावकारी क्रान्तिकारी हस्तक्षेपको माग गरेको छ । स्पष्ट समाजवादी कार्यदिशा भएको एउटा बलियो लोकतान्त्रिक पार्टीले मात्रै त्यस्तो हस्तक्षेप गर्न सक्छ ।’

यस्तै, नेपाली कांग्रेस एउटा उदारवादी राजनीतिक शक्ति भएको हुँदा आजको संकटलाई सामना गर्ने वैचारिक सामथ्र्य उसँग अपेक्षा गर्न नसकिने एकीकृक समाजवादीको निष्कर्ष छ ।

‘अहिले उठेका कैयौँ प्रश्नमा पनि नेपाली कांग्रेसले आफ्ना नीतिहरु स्पष्ट पारिसकेको छैन । नेकपा एमाले वामपन्थी जनमत भएको ठूलो पार्टी भए पनि संसद विघटनपछि त्यसको नेतृत्वमा झन् बढि वैचारिक, सैद्धान्तिक र साङ्ठानिक समस्याहरुमा जेलिँदै गएका छन् । समग्र पार्टी दक्षिणपन्थी व्यक्तिपूजाको शिकार हुँदै गएको छ’ अपानिमा भनिएको छ, ‘कतिपय सैद्धान्तिक कारणले नेकपा माओवादी केन्द्रले अहिलेको राजनीतिमा हस्तक्षेप गर्ने गरी एक्लै पहलकदमी लिन सक्दैन । यस परिस्थितिमा वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले आजका संकटको वस्तुगत विश्लेषण र समाधानको स्पष्ट बाटो लिएको राजनीतिक शक्ति हाम्रो पार्टी नेकपा एकिकृत समाजवादी नै हो ।’

गत असोज १४—२८ मा पार्टीले आयोजना गरेको ‘समाजवादी जागरण अभियान’का दौरानमा अहिलेका समस्या र तिनको समाधानबारे सार्वजनिकरुपमा राखेका धारणामा देखिएको जनसमर्थनले पनि त्यसलाई पुष्टि गर्ने उनले उल्लेख गरेका छन् ।
‘अहिलेको चुनौतिको सामना गर्न सक्नेगरी हाम्रो पार्टी सङ्गठनात्मकरुपमा बलियो भैसकेको छैन । विद्रोहबाट जन्मेको र त्यसपछि एकपछि अर्को निर्वाचनमा जानु पर्दा पार्टीलाई सङ्गठनात्मकरुपमा विस्तार गर्न आवश्यक समय हामीले पाएनौँ’ अपानिमा भनिएको छ, ‘यदि सहि राजनीतिक कार्यदिशा भएन भने संगठनात्मकरुपले शक्तिशाली पार्टी प्रतिगमनको झन प्रभावशाली हतियार हुँदोरहेछ भन्ने कुरा हामी आफैँले भोगेर आएका छौँ ।’

प्रतिक्रिया दिनुहोस्