दार्चुला । सामरिक महत्व बोकेको नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–तिङ्कर सडकको स्थलगत अनुगमन गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला नेतृत्वको टोलीले बिहीबार दार्चुला–तिङ्कर सडक आयोजनाको स्थलगत निरीक्षण गरेको हो ।
दार्चुलाको व्याँस गाउँपालिकाको तुसरपानीदेखि तिङ्करसम्म ७९ किलोमीटर सडकको जिरो पोइन्टको स्थलगत निरीक्षण गरिएको हो । ७९ किलोमिटरमध्ये अहिलेसम्म १० किलोमीटर सडकको ट्याक खोलिएको छ । त्यस्तै, मन्त्री ज्वालाको टोलीले व्यास गाउँपालिका–१ को छाङरु र तिंकरको हवाई निरीक्षण गरेको हो ।

सडक अनुगमनका क्रममा मन्त्री ज्वालाले समयबद्ध योजना निर्माण गरि दार्चुला–तिङ्कर चाँडो सक्न नेपाली सेनालाई निर्देशन दिएका छन् । उनले सडकको राष्ट्रिय महत्वलाई ध्यानमा राख्दै आवश्यक बजेटको व्यवस्था मन्त्रालयबाट गरिने बताए ।
अनुगमन टोलीमा मन्त्री ज्वालासहित दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडू, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सहसचिव उमेश बिन्दु श्रेष्ठ, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, नेपाली सेनाका विकास निर्माण निर्देशनालय प्रमुख विकास पोखरेल लगायतको सहभागिता थियो ।
बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले नेपाली सेनाद्वारा निर्माण भइरहेको दार्चुलाको ‘तुसारपानी–कोठेधार–टिकर’ सडक खण्डको राष्ट्रिय महत्वलाई ध्यानमा राख्दै उक्त सडक यथाशीघ्र निर्माण सम्पन्न गर्न आवश्यक बजेट निकासा दिन समितिले अर्थ मन्त्रालयलाई निर्देशन दिएको थियो ।














