Logo
Logo

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : वर्षमान पुन


567
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुनले गणतन्त्र कार्यान्वयनका क्रममा आएका झिना–मसिना समस्या देखाएर राजतन्त्रको वकालत गर्नु जायज नहुने बताएका छन् । उनले गणतन्त्रको विकल्प गणतन्त्र, राजतन्त्र हुन नसक्ने बताए ।

सत्तारुढ दल माओवादी केन्द्रको चन्द्रागिरी नगरपालिका–२ मा शनिबार आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले भने, ‘राजतन्त्रको अन्त्य र संविधान जारी गरेसँगै जनवादीक्रान्ति पूरा भयो । तर, जनताको अवस्थामा सुधार आएको छैन । नेताको आचरण र व्यवहारमा सुधार आएको छैन । तीन जना राष्ट्रपति भए । आचरण र व्यवहारमा प्रश्न उठाउँदै राजासँग दाँज्ने काम भयो । त्यसैले हामीले आचरण र व्यवहार सुधार गर्नुपर्छ । गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन ।’

गणतन्त्र प्राप्तीपछि देशमा संघीयता, धर्मनिरपेक्षता, समावेशीता, सामाजिक न्याय जस्ता विषय स्थापित भएको भन्दै उनले आर्थिक समृद्धिको काम अझै बाँकी रहेको बताए । उनले आफ्नो पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेको कामको प्रशंसा गर्दै भने, ‘अध्यक्ष प्रचण्ड नेतृत्वको वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, समृद्धिका क्षेत्रमा राम्रो काम गरेको छ । सुनकाण्ड विरुद्धको अभियान चलाएको छ । अरुले सुन पास गराइरहेका थिए । माओवादी नेतृत्वको सरकारले समात्यो त के नराम्रो भयो ?’

नेता पुनले मध्यपहाडी राजमार्ग माओवादीले बनाएको तर त्यसलाई एमालेले दावी गरिरहेको बताए । उनले भने, ‘नौ वटा लोकमार्ग बनाउने कुरा हाम्रो घोषणा पत्रमा उल्लेख छ । बाटो चौडा पार्ने, लोडसेडिङ हटाउने काम माओवादीले गरेको हो ।
सुन काण्डका विषयमा पनि हाम्रो पार्टीमाथि नेताहरुमाथि प्रश्न उठ्यो । जनताले प्रश्न उठाउँदैमा भाग्नु हुँदैन । हामीले जवाफ दिनुपर्दछ ।’

नेता पुनले थपे, ‘हाम्रो पार्टीले भ्रष्टाचार र कालाबजारीलाई संरक्षणा गर्दैन । तर पनि आरोप लगाउनेका विरुद्ध भने हामी जुध्नु पर्छ । यदि कसैले गल्ती गरेको छ भने उसको बचाउमा संगठन लाग्दैन । गल्ती गर्ने कसैलाई छोड्नु हुँदैन ।’

गल्ती नगरे पनि प्रविधिको दुरुपयोग गरेर माओवादीविरुद्ध जनतालाई भ्रम पार्न खोज्नेप्रति सचेत हुनुपर्ने बताउँदै उनले भने, ‘पुस १० गते अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको एकवर्ष पुग्दैछ । आफ्नो सचिवालय, मन्त्री, सल्लाहाकार फेर्छु तर पछि हट्दिन, देश र जनताको पक्षमा काम गर्छु भन्नुभएको छ । परिणाम निकाल्छु भन्नु भएको छ । पार्टीले उहाँलाई साथ दिएको छ ।’

प्रतिक्रिया दिनुहोस्