
झापा झापाको शिवसताक्षी नगरपालिकास्थित पर्यटकीय क्षेत्र दोमुखामा ‘ट्रस ब्रिर्ज’ निर्माण गरिएको छ । यहाँ आउने पर्यटकको सजहताका लागि दोमुखास्थित नुनमाटी खोलामा ट्रस ब्रिज निर्माण गरिएको हो ।
यो ट्रस ब्रिज रु ३३ लाख ७५ हजार आठ सय ७१ को लागतमा निर्माण भएको हो । संघीय झोलुंगे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत रु २८ लाख ६९ हजार चार सय ९०, शिवसताक्षी नगरपालिकाको रु चार लाख ३८ हजार आठ सय ६३ र जनसहभागिता रु ६७ हजार पाँच सय १७ रहेको नगरप्रमुख मेगाहांग थोप्राले राससलाई जानकारी दिए ।
चौबीस मिटर लामो ट्रस ब्रिज निर्माणमा प्राविधिक सहयोग सहारा नेपालले प्रदान गरेको उनले बताए । ट्रस ब्रिज निर्माणपश्चात् दोमुखमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि हुने अपेक्षा गरिएको उनले बताए ।
पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको दोमुखामा पर्यटक लक्षित सडकलगायत पूर्वाधार निर्माण भइरहेका छन् । यहाँ नगरपालिकासँगै प्रदेश र संघीय सरकारले पुल, सडकलगायत अन्य भौतिक पूर्वाधार निर्माणमा लगानी गरेका छन् ।














