
चितवन । चितवनको इच्छाकामना–३ तोक्दाङमा सामुदायिक घरबास सञ्चालनमा आएको छ । पर्यटन प्रवद्र्धनका लागि तोक्दाङ ढाप सामुदायिक घरबास सञ्चालनमा आएको हो ।
घरबासको जिल्ला समन्वय चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले शनिबार उद्घाटन गर्दै उनले घरबासले पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
उनले घरबासमा बस्ने पाहुनालाई यहाँको स्थानीय उत्पादनबाट बनेका परिकार खुवाउनुका साथै स्थानीय सांस्कृतिक झाँकीले मनोरञ्जन प्रदान गर्नुपर्नेमा जोड दिए ।
इच्छाकामना पर्यटकीय गन्तव्यको निकै सम्भावना रहेको गाउँपालिका हो भन्दै उनले पर्यटन प्रवद्र्धनका लागि जिल्ला समन्वयबाट सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।
फिस्लिङबाट इच्छाकामना, उर्दाङगढी हँुदै सौराहा जाने पर्यटकका लागि लक्ष्य गरी पर्यटन प्रवद्र्धनका लागि घरबास सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए ।
अध्यक्ष गुरुङले भने, ‘फिस्लिङबाट इच्छाकामना उपर्दाङगढी हुँदै सौराहा जान सकिन्छ भन्ने प्रचार–प्रसार गर्न र गाउँमा बास बस्न चाहने पर्यटकका लागि सहज होस् भनेर सामुदायिक घरबास सञ्चालनमा ल्याएका हौँ, दश जना बस्न सक्ने दुईकोठे भवनमा घरबास सञ्चालन गरिएको हो ।’
गाउँपालिकाको १३ लाख, इच्छाकामना आमा समूह तोक्दाङको १ लाख ९२ हजार र नेपाल रेडक्रस सोसाइटी इच्छाकामना–३ तोक्दाङ ढापको एक लाखको लागतमा भवन निर्माण गरिएको हो ।
साथै गाउँपालिकाले घरबासका लागि आवश्यक बिछ्यौना पनि उपलब्ध गराएको छ । भवन निर्माणका लागि स्थानीय कृष्णबहादुर गुरुङले जग्गादान गरेका हुन् ।
जिल्लाको उपर्दाङगढी, सिराइचुली हात्तीवाङ, इच्छाकामना मन्दिर, मायाटार जलविरे झरनालागयत पर्यटकीयस्थलमा आउने पर्यटकलाई लक्ष्य गरप्ी घरबास सञ्चालन गर्न स्थानीयलाई आर्थिक अनुदानसहित तालिमको व्यवस्था गरिने गाउँपालिकाको योजना छ ।














