Logo
Logo

एमालेले भन्यो- संकल्प यात्रा उपलब्धीमूलक बन्यो



काठमाडौं । नेकपा एमालेले ‘समृद्धिका लागि संकल्प यात्रा’ उपलब्धीमूलक भएको जनाएको छ । एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित आफ्नो ‘समृद्धिका लागि संकल्प यात्रा’का उपलब्धि सार्वजनिक गर्दै यस्तो दावी गरेको हो ।

एमालेले बैतडीको झुलाघाटबाट गत मङ्सिर १४ गते सुरु भएको उक्त यात्रा यही पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन भएको थियो । उक्त यात्राको उपलब्धी सार्वजनिक गर्न एमालेले आइतबार केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन आयोजना गर्दै यात्रा सफल र उपलब्धीमूलक भएको जनाएको हो ।

अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा यात्राले पार्टी, कार्यकर्ता र स्थानीय जनतामा उत्साह देखिनुका साथै विकास, समृद्धि तथा राष्ट्रियतालाई जोड्न महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाइएको छ ।

अध्यक्ष ओलीले उक्त यात्रा असाधारण र अविस्मरणीय भएको बताउँदै मध्यपहाडी क्षेत्रको विकास र समृद्धिमा प्राथमिकता दिन सरकारसँग माग गरे । ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’को मर्म एवं भावनाअनुरुप उक्त अभियानका क्रममा जनसभा, जनभेला तथा भेटघाट, कलेज तथा विद्यालयका विद्यार्थीसँग छलफल भएको जनाइएको छ ।

साथै, स्थानीय किसानसँग अन्तक्र्रिया, कृषि वैज्ञानिकसँग संवाद, विकास कार्यको अवलोकन र नमुना काम गरिरहेका उद्यमीसँग भेटघाट, ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलको अवलोकन, जनताका अनुभूति, गुनासा र सुझावको सङ्कलन गरिएको एमालेले जनाएको छ ।

अभियानका क्रममा पहाडबाट भइरहेको तीव्र बसाइँसराइको पहिचान र समाधानको खोजी, सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्र्धनमा सहयोग, मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायतका सम्भावना बुझ्न सहयोग मिलेको एमालेका महासचिव शङ्कर पोखरेलले बताए । उक्त यात्रामा एमालेका शीर्ष नेतृत्व, केन्द्रीय पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्य तथा प्राविधिक टोलीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्