Logo
Logo

१४ किलो सुन तस्करी प्रकरण: १३८ किलो सुन ल्याएको छानबिन समितिको निष्कर्ष



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको १४ किलो सुन तस्करी प्रकरणको छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

भन्सार प्रमुख मणिराम पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले आज आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयलाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा मीनबहादुर घले नेतृत्वको समूहले पटक–पटक गरी एक सय ३८ किलो सुन ल्याएको र त्यसमध्ये मङ्सिर २२ गते १४ किलो सुन बरामद भएको निष्कर्ष निकालिएको छ ।

मीनबहादुर घलेले दुबईमा बस्ने गरेका भारतीयसँग मिलेर सुन तस्करी गर्ने गरेका प्रतिवेदनमा उल्लेख छ । प्रहरीले मङ्सिर २१ गते १४ किलो सुनसहित गोरखाका चन्द्र घलेलाई विमानस्थलबाट पक्राउ गरेको थियो ।

प्रतिवेदनमा मीनबहादुर घलेले विमानस्थलमा ‘सेटिङ’ मिलाउन दानबहादुर गुरुङलाई प्रयोग गर्ने गरेका र विमानस्थलबाट सुन बाहिर निकाल्न नागरिक उड्डयन प्राधिकरणका कर्मचारी राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, अवकाश प्राप्त भई करारमा कार्यरत रमेश देउला, पलम्बर शेरबहादुर बस्नेत र कार्यालय सहयोगी अनिल श्रेष्ठको भूमिका रहेको उल्लेख छ ।

सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सफाइ, शौचालय, प्लम्बर, एसी लगायतमा सफाइ र मर्मतको काम गर्नेहरूले भन्सार जाँच छलेर बाहिर निकाल्ने गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्