Logo
Logo

मिङ्माको आत्मकथा ‘सगरमाथाको शेर्पा म’ लोकार्पण



काठमाडौं । पर्यटन प्रबद्र्धक मिङ्मा शेर्पाको आत्मकथा ‘सगरमाथाको शेर्पा म’ सार्वजनिक भएको छ । शनिबार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा काठमाडौंमा आयोजित कार्यक्रममा शेर्पाको आत्मकथा सार्वजनिक गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि पूर्वराष्ट्रपति पुनसहित लेखक शेर्पा, प्रकाशक संस्था जरा फाउन्डेसनका अध्यक्ष कृष्ण प्रसाईं, गीतकार देवेन्द्र केसी, नियात्राकार प्रतीक ढकाल, साहित्यका डा.रेणुका सोलु, छायाँ लेखक सिर्जना शर्मा र पर्यटन व्यवसायी निमा तेन्जिङ शेर्पाले संयुक्तरुपमा पुस्तकको सार्वजनिक गरेका थिए ।

लास्ट फ्रन्टिएर ट्रेकिङको आयोजनामा भएको उक्त ‘सगरमाथाको शेर्पा म’ लोकार्पण कार्यक्रममा उपस्थित अतिथिलाई निमा तेन्जिङ शेर्पाले स्वागत गर्दै आफ्नो पापा मिङ्मा शेर्पा एउटा उदाहरणका रुपमा आफूले पाएको बताएका थिए ।

कार्यक्रममा लेखक मिङ्मा शेर्पालाई बौद्धिक युवाहरुको समूहको तर्फबाट सम्मान गरिएको थियो । गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्यासी थापा, संगीतकला पत्रकार संघका अध्यक्ष सुमन बैरागी, गीतकार तथा संचारकर्मी नरेश भट्टराई, गीतकार सत्यकला लामाले संयुक्त रुपमा लेखक मिङ्मा शेर्पालाई सम्मान गरेका थिए ।

शेर्पालाई पर्यटन क्षेत्रको प्रबद्र्धन, मानव सेवा, सामाजिक कार्य हुँदै देशको नामलाई विश्वसामु उच्च राख्न योगदान पुराएको भन्दै सम्मान अर्पण गरिएको हो । पुस्तक ‘सगरमाथाको शेर्पा म’ लोकार्पणपछि छायाँ लेखक सिर्जना शर्माले लेखक मिङ्मा शेर्पा समाजको एक अथक योद्धाका रुपमा पाएको बताएकी थिइन् । लेखन, अडियो रेकर्डलाई आफूले पुस्तकमा भाषागत रुपमा प्रस्तुत गर्न पाउँदा शेर्पाको जीवन भोगाईले आफ्नो जीवनमा समेत उर्जा थपेको उनले बताएकी थिइन् ।

यस्तै, गीतकार देवेन्द्र केसीले लेखक मिङ्मा शेर्पालाई पुस्तक ‘सगरमाथाको शेर्पा म’ जीवन भोगाइको दस्तावेज भएपनि समाज रुपान्तरणको स्तम्भका रुपमा लिएको बताए । शेर्पा विदेशीको भरियामात्र नभएर नेपालको चिनारी भएको बताउँदै मिङ्मा शेर्पाको सुरुका दिनदेखि आजसम्मको भोगाइमा धैर्यता, लगनशीलता, इमान्दारितासँगै पर्यटन क्षेत्रको विकासमा निरन्तर दिएको योगदानको उदाहरणीय दस्तावेज भएको बताए ।

त्यस्तै, नियात्राका प्रतीक ढकालले लेखक शेर्पालाई शुभकामना मन्तव्य दिँदै शेर्पा भनेको देश चिनाउने समुदाय भएको बताएका थिए । उनले देशका हरेक जनताले पहिला देश चिनाउने कार्य गर्न शेर्पासँग सिक्नुपर्ने बताए ।

साहित्यका डा.रेणुका सोलुले लेखक मिङ्मा शेर्पा एउटा खुला विश्वविद्यालय भएको बताउँदै परिश्रम गर्न कोही पनि नहिचकिचाउने हो भने विदेशमा भौंतारिनु पर्दैन भन्ने एउटा उदाहरणका रुपमा पाएको बताइन् । दुःखमा नआत्तिने र सुखमा नमात्तिने व्यक्तिका रुपमा लेखक शेर्पा रहेको बताउँदै उनले आफ्नो पूर्खा र भोलिका सन्ततिको लागि संस्कारको कथा बोकेको पुस्तकका रुपमा ‘सगरमाथाको शेर्पा म’ पाएको बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वउपराष्ट्रपति पुनले लोकार्पण पुस्तक ‘सगरमाथाको शेर्पा म’ एउटा प्रेरणाको स्रोत बन्ने विश्वास लिए । पहिलो भेटमै लेखक मिङ्मा शेर्पाको कुराले आफूलाई आकर्षित गरेको बताउँदै पूर्वउपराष्ट्रपति पुनले एउटा कर्मठ नेपाली छोरो, मेहनत गरे के हुँदैन ? भन्ने ज्वलन्त उदाहरण भएको बताए ।

जरा फाउन्डेसनका अध्यक्ष जेनकवि कृष्ण प्रसाईंले मिङ्मा शेर्पा पर्यटन क्षेत्रको एक अथक योद्धा भएको बताए ।

प्रतिक्रिया दिनुहोस्