
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माक्र्सवाद ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने दर्शन भएको बताएका छन् ।
१३१औँ ‘माओ दिवस’का सन्दर्भमा आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले आजको सन्दर्भमा विचारको विकास नै कम्युनिस्ट आन्दोलनको प्रमुख चुनौतिका रुपमा रहेको उल्लेख गरेका छन् ।
अध्यक्ष प्रचण्डले विकसित परिस्थितिको जगमा विचारको विकास गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति माओको जीवनकालको जस्तो छैन, माओपछि विश्व परिस्थितिमा निकै ठूलो फेरबदल आएको छ, साम्राज्यवादले नयाँनयाँ रणनीति र कार्यनीतिसहित आफूलाई टिकाइरहेको छ, हामी माक्र्सवादीहरूले ठोस परिस्थितिअनुसार आफूलाई जसरी रूपान्तरण गर्नुपथ्र्यो त्यो गर्न सकिरहेका छैनौँ, आजको मुख्य चुनौती यही हो ।’
माओको स्मरण गर्नुको अर्थ विचार र क्रान्तिलाई मौलिक ढंगले सोच्नु रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले माक्र्सवादीले यान्त्रिकता वा अन्धानुकरणमा जानु उपयुक्त नहुने विचार व्यक्त गरे । माओवादीको आठौँ महाधिवेशनले संश्लेषण गरेको कार्यदिशा पनि यही नै रहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिको बाटोबाटै समाजवादको आधार तयार हुनेमा जोड दिँदै त्यसका लागि आफ्नो नेतृत्वको वर्तमान सरकार क्रियाशील रहेको बताए । उनले भने, ‘सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई उच्च प्राथमिकता दिएको छ, यसको अर्थ समाजवादको आधार तयार पार्नु हो । त्यसकै आधारमा अगाडि बढ्छौँ ।’
पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को समापनलगत्तै नयाँ अभियानको थालनी गरिने जनाउँदै अध्यक्ष प्रचण्डले भने, ‘चार महिने अभियान पुस १६ गते समापन हुँदैछ, त्यसपछि हामी विचारको छलफल र अन्तरक्रियाका लागि जनतामा नै जान्छौँ, त्यसका लागि विचार केन्द्रित अर्को अभियान सुरू गर्छौँ ।














