Logo
Logo

कांग्रेसका हरुवा नेताहरू राष्ट्रियसभा छिर्ने दाउमा 


4.3k
Shares

काठमाडौं । राष्ट्रियसभा सदस्य २० जनाको पदावधि आगामी फागुन २० गते सकिँदै छ । पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन गर्दैछ ।

तर, संसद्को उपल्लो थलो राष्ट्रियसभाको मर्मभन्दा दलगत स्वार्थमा नेता व्यवस्थापन गर्ने थलो बन्दै आएको छ । दलीय भागबन्डा, नेताहरूको सक्रियता र राजनीतिक दलहरूको तयारी हेर्दा यो पटक पनि राष्ट्रियसभाका रिक्त पदहरू निर्वाचन हारेकाहरूले भरिने देखिन्छ । 

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट राष्ट्रियसभा निर्वाचनका लागि गत संसदीय निर्वाचनमा हारेका नेताहरूको नाम चर्चामा छ । राष्ट्रियसभा निर्वाचनको लागि कोशी प्रदेशबाट दुई हरुवा नेता कृष्णप्रासद सिटौला र सुजाता कोइरालाको नाम सिफारिस भएको छ । 

राष्ट्रियसभा निर्वाचनको लागि यता बागमती प्रदेशमा पनि आकांक्षी धेरै छन् । तर सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई उम्मेदवार बनाउने पार्टी सभापति शेरबहादुर देउवाको तयारी छ । 

२०७९ मंसिर चार गते भएको प्रतिनिधिसभा निर्वाचनमा झापा–३ मा सिटौला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनसँग, सुजाता मोरङ– ३ मा एमालेका उम्मेदवार ऋषिकेश पोखरेलसँग र डिना मकवानपुर– १ मा राप्रपाका दीपकबहादुर सिंहसँग पराजित भएका थिए । 

कोशीमा कांग्रेसको तेस्रो धार बनाएर शेरबहादुर देउवालाई सहयोग गर्दै आएका नेता कृष्णप्रसाद सिटौला चुनाव लडेर राष्ट्रियसभाको अध्यक्ष बन्ने योजनाका साथ अगाडि बढिरहेको चर्चा छ । उनले १४ औँ महाधिवेशनमा सभापति देउवालाई सघाएका कारण देउवाले सिटौलालाई राष्ट्रियसभामा लैजान जोडबल गर्ने उनीनिकट नेताहरू बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्