बारा । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको बिजुलीको लाइन काटिदिएपछि मजदूहरु आन्दोलनमा उत्रिएका छन् । लाइन काट्दा का उद्योगमा कार्यरत मजदुरहरुको रोजगारी संकटमा परेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
बुधबार उनीहरुले विरोध प्रदर्शन गर्दै इलाका प्रशासन कार्यालय सिमरामा ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । उद्योग बन्दा हुँदा ६ हजारभन्दा बढी मजदुरको रोजगारीमा प्रत्यक्ष असर परेको उनीहरुको भनाइ छ ।

इलाका प्रशासन कार्यालय सिमराका प्रमुख ध्रुव गिरीमार्फत् नेपाल विद्युत प्राधिकरणलाई बुझाइएको ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘नेपाल विद्युत प्राधिकरणले एक्कासी विद्युत लाइन काटेपछि रोजगार दाताहरुबाट उद्योगमा श्रमिकहरु कटौती गरी पारिश्रमिक दिन नसक्ने जानकारी गराएको हुँदा ती प्रतिष्ठानहरुमा कार्यरत ६ हजारभन्दा बढी श्रमिकहरुको रोजगारीमा प्रत्यक्ष असर पर्न गएको व्यहोरा सम्बन्धित सरोकारवाला सबैमा गम्भीर ध्यानाकर्षण गराउँदछौँ ।’
‘डेडिकेटेड फिडर’ र ‘ट्रंक लाइन’मार्फत वितरण गरेको विद्युतको महसुल भुक्तानी नगरेको भन्दै विद्युत् प्राधिकरणले कतिपय उद्योगको लाइन काटेको छ । प्राधिकरणले बारा जिल्लास्थित जगदम्बा स्टिल्स, त्रिवेणी स्पेनिङ मिल्स, हुलास स्टिल, अशोक स्टिलसहितका उद्योगहरुमा पुस ७ गते बिजुली काटेको थियो ।
त्यसको विरोधमा मजदुरहरुले कालो ब्यानर र प्लेकार्डसहित बुधबार प्रदर्शन गरेका हुन् । उनीहरुले रोजगारीको ग्यारेन्टी गर, श्रमिकको अधिकार सुनिश्चित गर, बन्द उद्योग खुला गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।














