काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मालगायत विरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । विशेष अदालतले गरेको फैसला चित्त नबुझेको भन्दै आयोगले सर्वोच्च अदातलमा आइतबार पुनरावेदनको निवेदन दिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाए ।
उनका अनुसार चुडामणि शर्मा र उनकी श्रीमती कल्पना उप्रेती शर्माका बारेमा विशेष अदालतले गत जेठ १८ गते गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने आयोगको दाबीमा ‘दाबी नपुग्ने’ ठहर गरेको थियो । तर, आयोगले विशेष अदालतको सो फैसलामा चित्त नबुझेको भन्दै सिर्वोच्चमा पुनरावेदन गरेको हो ।

आयोगका अनुसार चुडामणि शर्माको जाँच अवधिको समग्र व्यय ७ करोड १५ लाख ७३ हजार ३८ रुपैयाँ र आय ३ करोड ७० लाख ४० हजार ६ सय ८१ रुपैयाँ १५ पैसा देखिएको छ ।
शर्माले ३ करोड ४५ लाख ३२ हजार ३५६ रुपैयाँ ८५ पैसा बराबरको रकमको स्रोत पुष्टि गर्न नसकेको आयोगको दाबी छ । आयोगले उक्त रकम गैरकानुनी रुपमा शर्माले आर्जन गरेको दाबीसहित सर्वोच्च अदालतमा पुनरावदेन दिएको छ ।
अख्तियारले २०७४ साल १ साउनमा शर्मासहित ३ जनाविरुद्ध १० अर्ब २ करोड बढी भ्रष्टाचार गरेको अभियोगमा विशेषमा मुद्दा दायर गरेको थियो । यस्तै, २०७४ माघ १५ गते अकूत सम्पत्ति कमाएको भन्दै शर्मा र उनकी श्रीमती कल्पना उप्रेती शर्माविरुद्ध विशेषमा अर्को मुद्दा दर्ता भएको थियो ।














