Logo
Logo

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा कोशीको चौथो जित


378
Shares

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशमाथि ५५ रनको जित निकाल्दै कोशी प्रदेशले चौथो जित हात पारेको छ । गण्डकीको भने यो चौथो हार हो ।

कोशीले दिएको १०४ रनको लक्ष्य पछ्याएको गण्डकी १५ ओभरमा ४८ रन बनाउँदै अलआउट भयो । गण्डकीका लागि सुमन खतिवडाले सर्वाधिक २१ रनमा अविजित रहिन् । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कोशीका लागि कप्तान रुविना क्षेत्रीले एकै ओभरमा ३ विकेट लिइन् । संगिता राई र अलिशा खडियाले समान २-२ विकेट लिए । अप्सरी बेगमले १ विकेट लिइन् । मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०३ रन बनाएको हो ।

यस्तै, अर्को खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कर्णाली प्रदेशलाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जारी प्रतियोगितामा एपीएफले आफ्नो विजयी यात्रा जारी नै राखेको छ । हालसम्म पाँच खेल खेलेको एपीएफ क्लबले पाँच खेलमै जित हात पारेको छ ।

पाँच खेल खेलेको कर्णाली प्रदेशले भने आफूले खेलेका सबै खेलमा हार ब्यहोरेको छ । कर्णाली प्रदेश सबै खेलमा पराजित हुने एकमात्र टोली हो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ रोजेको एपीएफले निर्धारित ओभरमा केवल दुई विकेट गुमाएर एक सय ६० रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको कर्णाली प्रदेशले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर ६८ रनमात्र बनाउन सक्यो । त्यसअघि एपीएफ क्लबका लागि ओपनर ब्याट्र राजमती ऐरी र ममता चौधरीले एक सय १७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

यस्तै, प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार चौथो जित हात पारेको छ । त्यस क्रममा उसले बुधबार मधेश प्रदेशलाई ५ विकेटले हरायो । यो मधेशको चौथो हार हो । मूलपानी मैदानमा मधेशले दिएको ८३ रनको लक्ष्य सुदूरपश्चिमले खेल सकिन १ बल बाँकी छँदा ५ विकेट गुमाउँदै भेट्टायो । टस जितेर ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८२ रन बनाएको थियो ।

बुधवार नै खेलिएको अन्तिम खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशमाथि नौ रनको रोमाञ्चक जित हासिल गरेको छ । जारी प्रतियोगितामा पाँच खेल खेलेको बागमती प्रदेशको यो तेस्रो जित हो ।

टस जिती ब्याटिङको निर्णय लिएको बागमती प्रदेशले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय नौ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनी प्रदेशले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय रन मात्र बनाउन सक्यो ।

प्रतिक्रिया दिनुहोस्