Logo
Logo

लाइबेरियामा इन्धन ट्यांकर दुर्घटना, ४० भन्दा बढीको मृत्यु



मोनरोभिया । मध्य लाइबेरियामा इन्धन बोकेको ट्यांकर ट्रक दुर्घटना हुँदा ४० जनाभन्दा बढीको मृत्यु भएको त्यहाँका प्रमुख चिकित्सा अधिकारीले स्थानीय सञ्चारमाध्यमसँग बताएका छन् ।

राजधानी मोनरोभियाबाट करिब १३० किलोमिटर टाढा रहेको टोटोटामा पेट्रोल बोकेको ट्यांकर हिजो (बुधबार) दुर्घटनाग्रस्त भएर सडक नजिकैको खाडलमा खसेको थियो । त्यसपछि चुहिएको ग्यास भर्न स्थानीय घटनास्थलमा जम्मा भएका थिए ।

चिकित्सक फ्रान्सिस कातेहले स्थानीय प्रसारक सुपर बोन्जिज टिभीसँग भने, ‘पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनाग्रस्त हुँदा ४० जनाभन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ । घटनास्थलमा देखिएका जलेका मानवीय अवशेष हेर्दा यो संख्या अहिले जानकारीमा आएकोभन्दा केही बढी हुन सक्छ । यसका लागि प्रहरीले घटनास्थलबाट मृत शरीर उठाउने र परीक्षणका लागि अस्पतालसम्म पु¥याउने काम गरिरहेको छ ।’

उनले भने, ‘हाम्रो टोली घर–घरमा गएर हराएकाहरूको खोजी गरिरहेको छ । प्रहरीले यसअघि मृतकको संख्या १५ रहेको र स्थानीयहरू घटनास्थलमा भेला हुँदा कम्तीमा ३० जना घाइते भएको बताएको थियो ।

लाइबेरिया राष्ट्रिय प्रहरीका प्रहरी नायब महानिरीक्षक प्रिन्स बी मुलबाहले भने, ‘त्यहाँ धेरै मानिसहरू जलेका छन् । मृतकको संख्या तत्काल यति नै रहेको भन्न कठिन छ ।’

अर्का प्रहरी अधिकारी माल्भिन साकोरका अनुसार दुर्घटनापछि केही स्थानीयले चुहिएको ग्यास भरिरहेका समय ट्यांकर विस्फोट हुँदा हताहत हुनेको संख्या धेरै पुगेको छ ।

टोटोटाका एक प्रत्यक्षदर्शी आरोन मासाकोइले भने, ‘मानिसहरू ग्यास लिन ट्रकमाथि चढेका थिए भने केहीले ट्यांकरबाट ग्यास निकाल्न फलामका रडले ट्यांकी खोपेका र यसरी निस्केको ग्यास आगोको सम्पर्कमा पुग्दा विस्फोट हुन पुगेको थियो ।’

मासाकोइले भने, ‘ट्रकको चारैतिर मानिसहरू थिए र ट्रकका चालकले उनीहरूलाई चुहिएको ग्याँस लिन सक्ने अनुमति दिएको थिए । तर, उनीहरूलाई ट्यांकरमाथि नचढ्न र ट्यांकरलाई ठक्कर दिन रोक्न अनुरोध गरे पनि नमान्दा ठूलो मानवीय दुर्घटना हुनपुगेको छ । केही मानिसहरूले ट्यांकीमा प्वाल पार्न स्क्रूड्राइभरहरू पनि प्रयोग गरिरहेका थिए ।’

प्रतिक्रिया दिनुहोस्