Logo
Logo

रुपन्देहीमा डकैती र लुटपाट बढ्यो



रुपन्देही । जिल्लामा बढ्दो अपराधलाई रुपन्देही प्रहरीले नियन्त्रण गर्न असफल हँुदै गएको आरोप छ । सोझा र इमान्दार छविका एसपी भरतबहादुर विकलले रुपन्देही जस्तो महत्वपूर्ण र संवेदनशील जिल्लाको कमाण्ड राम्रोसँग सम्हाल्न नसक्दा जिल्लामा अपराधीहरू सल्बलाएका छन् ।

जिल्लाका विभिन्न ठूला व्यवसायी घरानाहरूको घरमा डकैतीदेखि लिएर वित्तीय संस्थाहरूमा चोरी र लुटपाटसमेत भएको छ । डाँकाहरूले विभिन्न घरानाबाट करोडौँ रुपैयाँ बराबरको सुन, चाँदी, हिरा, नगदलगायत लुटेर लगेका छन् । तर, प्रहरीले केही सीमित चोरलाई पक्राउ गरे पनि अन्य धेरै फरार नै छन् । पीडितहरूको धनमाल बरामद गरेर पनि प्रहरीले उनीहरूलाई दिनसकेको छैन ।

त्यसैगरी, अपराधीहरूले सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घर क्षेत्रमा र व्यवसायी भैरव कलवारको घरको कम्पाउण्डमा बम बिष्फोट गराई त्रसित गराएर फिरौतीसम्म माग्न भ्याए । भैरहवाको सिटी अस्पतालनजिक बम विस्फोट गराएर सर्वसाधारणलाई समेत आंतकित बनाइयो । प्रहरीले केहीलाई पक्राउ गर्यो ।

तर, गत भदौ तेस्रो साता जिल्लाको सियारी गाउँपालिकाको छपियास्थित ट्रकमुनि फेलापरेको बम राखी आतंक फैलाउनेलाई प्रहरीले अझैसम्म पक्राउ गर्न सकेको छैन । उक्त बम सेनाले डिस्पोज गरेको थियो ।

तस्करहरूले लुम्बिनीदेखि नक्कली नोट काठमाडौँसम्म समेत पुर्याए । काठमाडौं प्रहरीले उक्त नोटहरु बरामद गर्यो । तर, रुपन्देहीबाटै नक्कली नोट काठमाडौं पुग्दा समेत जिल्लाको प्रहरीले पत्तो पाएन ।
गत कार्तिकको दोस्रो साता सम्साँझै अपराधीहरूले व्यवसायी प्रकाश बरईलाई पेस्तोल देखाएर उनीसँग भएको ५ लाख रुपैयाँ लुटपाट गरेर फरार भए । तर, प्रहरीले सुरु गरेको अनुसन्धान अझै टुंगो लगाउन सकेको छैन ।

गत मंसिर महिनामा रुपन्देहीको नाकाबाट दुई पटक ठूलो परिमाणमा गएको चरेस भारतीय प्रहरीले समात्यो । रुपन्देही प्रहरीले आफंै बरामद गर्न सकेन ।

यतिमात्र नभई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ बाट मात्रै चोर गिरोहले एकैरातमा ८ वटा मोटरसाइकल चोरी ग¥यो । तर, प्रहरीले अझै पनि उक्त मोटरसाइकल बरामद गर्न सकेको छैन । यीबाहेक विगत केही महिनादेखि जिल्लामा निरन्तर मोटरसाइकल चोरीका साथै अन्य विभिन्न अपराधिक घटनाहरू घटिरहेका छन् । बलात्कार र सामुहिक बलात्कारका घटनाहरू पनि घटेका छन् ।

रुपन्देहीका क्यासिनोहरूमा एक सय रुपैयाँभन्दा माथिको प्रतिबन्धित भारतीय रुपैयाँको नोटको कारोबार हुने गरे पनि त्यसको नियन्त्रणमा पनि प्रहरीले चासो देखाएको छैन । क्यासिनोहरूमा कानुनविपरीत प्रतिबन्धित नोटको कारोबार हुदाँसमेत प्रहरीले जिल्लाका क्यासिनोहरूमा छापा मार्नै चाहँदैनन् ।

सीमानाकाबाट विना सुरक्षा जाँच आउजाउ गर्ने क्यासिनोका गाडीहरुलाई रुपन्देही प्रहरीले जाँच नगरी छाड्दा केही समयअघि सशस्त्र प्रहरीले होटल नान्स र होटल लाकौलमा रहेको क्यासिनोको गाडी नियन्त्रणमा लिई खानतलासी गर्दा १० लाख प्रतिबन्धित भारु नोट बरामद गरेको थियो ।

बिहीबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पत्रकार सम्मेलन गरेर विभिन्न समयमा चोरी भएका २३ वटा मोटरसाइकल बरामद भएको सार्वजनिक गरेको छ । जसमा संग्लन ८ जना पक्राउ गरिएको जनाएको छ । तर, एकैरातमा चोरी गरिएका ८ वटा मोटरसाइकल भने बरामद हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्