Logo
Logo
पुस्तक समीक्षा

कम्युनिस्ट आन्दोलनको सिंहावलोकन


शार्दूल भट्टराई



नेकपा (एमाले)का नेता केशवप्रसाद बडाल राजनीतिक सक्रियतासँगै लेखनमा पनि सक्रिय रहँदै आएका छन् । निरङ्कुश पञ्चायती कालमा मीनप्रसाद बडालका नाममा आर्थिक–राजनीतिक लेखहरू लेख्ने बडालको ‘संसार बनाउने श्रमजीवी जनता हुन्’ भन्ने पुस्तक त्यतिबेला निकै चर्चित थियो ।

राजनीति, सहकारी, कृषि–भूमिसुधार आदि विषयमा उनका थुप्रै कृतिहरू प्रकाशित छन् । कृषि, भूमिसुधार र सहकारीका विज्ञ बडाल नेपालको राजनीतिका पनि सूक्ष्म अध्येता हुन् । लामो समयदेखि आफू यही आन्दोलनसँग जोडिएर पनि होला नेपाली कम्युनिस्ट आन्दोलनका कुनै पनि घटना वा प्रसङ्गसँग उनी अनभिज्ञ देखिँदैनन् ।

झण्डै ६ दशक कम्युनिस्ट आन्दोलनमा बिताइसकेका बडाल कम्युनिस्ट आन्दोलनसँग गम्भीरताका साथ सरोकार राख्ने व्यक्तित्व भएकाले यस आन्दोलनका बारेमा लेख्ने कुरा आफैँमा महत्वपूर्ण रहेको छ । आफूले जानेबुझेका र आफ्नो मनमा लागेका विषयमा केही न केही लेखिरहने नेता बडाल लामो समयको तयारीपछि यतिबेला महत्वपूर्ण कृतिका साथ उपस्थित भएका छन् । उनको यो कृति हो– सिंहावलोकन ।

२००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएदेखि नेकपा (एमाले)को दशौँ महाधिवेशनसम्मको इतिहासलाई उनले यस कृतिमा समेटेका छन् । बडालको यो ‘सिंहावलोकन’ नेपाली कम्युनिस्ट आन्दोलनका बारेमा लेखिएको पछिल्लो कृति हो ।

कम्युनिस्ट पार्टीभित्रका असल–खराब बीचको अन्तरसङ्घर्ष र द्वन्द्वका अनेक दृश्यहरूको चित्रण गर्दै असल नेता–कार्यकर्ताले पार्टी र आन्दोलनलाई कसरी अगाडि बढाए भन्ने कुरालाई पुस्तकमा सविस्तार चर्चा गरिएको छ ।

२०८० साल जेठमा प्रकाशित यस पुस्तकको २०८० साल मङ्सिरमा दोस्रो संस्करण प्रकाशित भएको छ । यो वर्ष नेपाली कम्युनिस्ट आन्दोलनको हीरक जयन्ती वर्ष पनि हो । नेता बडालको यस पुस्तकले ७५ वर्षको इतिहासलाई समेटेकाले पुस्तकको सान्दर्भिकता अझै महत्वपूर्ण बन्न पुगेको देखिन्छ ।

नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास गौरवपूर्ण हुँदाहुँदै पनि यसभित्र तिता–मिठा, असल–खराब, इमानदारी–गद्दारीका अनेक परिदृश्यहरू पनि छन् । असल–खराबको द्वन्द्वमै समाजको विकास हुँदै आएझैँ नेपालको कम्युनिस्ट आन्दोलनमा पनि समाजको त्यही प्रतिबिम्ब देख्न सकिन्छ । त्यो प्रतिबिम्बलाई सत्यतथ्यका साथ छर्लङ्ग पारेर उजागर गर्ने काम यस पुस्तकका लेखकले गरेका छन् ।

कम्युनिस्ट पार्टीभित्रका असल–खराब बीचको अन्तरसङ्घर्ष र द्वन्द्वका अनेक दृश्यहरूको चित्रण गर्दै असल नेता–कार्यकर्ताले पार्टी र आन्दोलनलाई कसरी अगाडि बढाए भन्ने कुरालाई पुस्तकमा सविस्तार चर्चा गरिएको छ ।

लेखक बडाल आफैँ कम्युनिस्ट आन्दोलनको नेतृत्वकारी भूमिकामा रहँदै आएका व्यक्तित्व हुन् । यस आन्दोलनमा रहँदा उनले अनेक दुःखकष्टमात्र भोगेका छैनन्, व्यक्तिगत स्वार्थ, षडयन्त्र र गद्दारीका घटनाहरूलाई पनि साह«ै नजिकबाट देखेभोगेका छन् ।

उनका अनुभवहरू गौरवपूर्णमात्र छैनन्, क्रूर र पीडादायी पनि छन् । आन्दोलनमा लागेर अगाडि बढ्ने कुरामा पार्टीका असल नेता–कार्यकताहरूले अहिलेसम्म केकस्ता अनुभवहरू सँगाल्नुपरेको छ भन्ने कुरालाई पनि पुस्तकमा समेटिएको छ ।

बडाल एमालेका वरिष्ठ तहका नेता हुन् । नेकपाको पुष्पलाल समूह, सर्वहारावादी क्रान्तिकारी सङ्गठन नेपाल (प्रोन) हुँदै लामो समयदेखि एमालेको नेतृत्वमा रहेका बडालले पुस्तक लेखनका क्रममा सकेसम्म नेपालको कम्युनिस्ट आन्दोलनका सबै पक्षलाई समेट्न खोजेको पाइन्छ ।

उनी एमालेका नेता भएकाले मात्र होइन, विभिन्न तथ्यतथ्याङ्कको विश्लेषणका आधारमा पनि निष्कर्षमा एमालेलाई नै आन्दोलनको मूलधारको रूपमा प्रस्तुत गरेको पाइन्छ । २००६ सालमा स्थापित नेकपाको अविच्छिन्न निरन्तरताको रूपमा पनि उनले एमालेलाई नै लिएका छन् । यस विषयमा उनले ऐतिहासिक सत्यतथ्यका आधारहरू पनि प्रस्तुत गरेका छन् ।

पुष्पलालको नेतृत्वमा नेकपाको गठन, यसका तीनवटा सम्मेलन र तीनवटा महाधिवेशनको चर्चा पुस्तकमा सविस्तार गरिएको छ । त्यस अवधिमा नेकपाभित्र देखिएको वैचारिक द्वन्द्व र नेतृत्वको विवादका बारेमा पनि पुस्तकमा विवेचना गरिएको छ ।

नेकपाको विभाजनलाई भने लेखकले बडो दुःखद रूपमा लिएका छन् । नेकपाको विभाजनपछि, विखण्डित कम्युनिस्ट आन्दोलनका क्रममा देखिएका विभिन्न कम्युनिस्ट पार्टी र तिनको अवस्थाका बारेमा पनि पुस्तकमा चर्चा गरिएको छ । विभाजनसँगै झापा विद्रोहपश्चात एकीकरणको अभियान पनि सुरु भएको निष्कर्ष पुस्तकमा देखिन्छ ।

लेखकले कम्युनिस्ट आन्दोलनको विभाजन–विखण्डनका घटनालाई दुखद् रूपमा लिएका छन् भने एकीकरणका विभिन्न अभियानको अत्यन्तै सुखद् र उत्साहप्रद भावनाका साथ चर्चा गरेका छन् । कम्युनिस्ट आदर्शबाट च्युत हुने र आफ्नो अनुहारमा आफैँले कालो पोत्नेहरूप्रति उनले घृणाभाव व्यक्त गरेका छन् । कम्युनिस्ट आदर्शसहित आन्दोलनमा अविच्छिन्न रूपमा समर्पित रहनेहरूप्रति भने उनले श्रद्धाभाव व्यक्त गरेका छन् ।

आफ्नो लामो राजनीतिक जीवनमा बडालले डायरी लेखनलाई पनि निरन्तरता दिएका थिए । लेख्दै, थन्क्याउँदै गरेका डायरीहरू कतिवटा थिए, उनैलाई यकिन थिएन । कवि अनिल पौडेलले पुस्तक लेख्ने जाँगर जागृत गराएपछि उनले ती डायरीहरू खोजे । ५० वटा डायरी भेटिए । हरेक डायरीको धुलो टकटक्याउँदै गए ।

उनी लेख्छन्– ‘तिनीहरूलाई पढेँ । अनेकखाले मान्छेको तस्विर र चरित्र आयो झलझली । अनि आँट गरेर बसेँ यथार्थ लेख्न । त्यही लेखोटको समष्टि रूप हो यो पुस्तक । यसमा मैले कसैलाई पछार्न र कसैलाई उचाल्न कुनै किसिमको नाटकीय रूप दिएको छैन । यथार्थ जे हो, त्यही कुरालार्ई इमानदारितापूर्वक प्रस्तुत गरेको छु । अर्थात यसो भनौँ अनुहार जस्तो छ, ऐनाले त्यस्तै देखाएको छ ।’

लेखक बडालले भनेजस्तै, उनले जुनबेला जसलाई जस्तो देखे त्यस्तै चित्रण गरेका छन् । व्यक्ति होस् वा घटना, उनले आफ्ना आँखाले देखेको सत्यलाई पुस्तकमा उतारेका छन् । पार्टीका केही चर्चित बैठकमा को कसरी प्रस्तुत भयो भन्ने चित्रणमात्र उनले गरेका छैनन्, बैठकमा कसले के बोल्यो भन्ने कुरासमेत जस्ताको त्यस्तै पुस्तकमा उल्लेख गरेका छन् । त्यस प्रसङ्गले उनको पुस्तकलाई पढ्नमा रुचिकरमात्र बनाएको छैन, उनको लेखनमा आधिकारिकताको समेत पुष्टि गरेको छ ।

नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास लेखनका क्रममा बडालले कम्युनिस्ट पार्टी सहभागी रहेको र कम्युनिस्ट पार्टीकै नेताको नेतृत्वमा बनेको सरकारका कामहरूको समेत उल्लेख गरेका छन् । २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको कम्युनिस्टको एकल सरकार र २०७४ सालमा केपी ओलीको नेतृत्वमा बनेको कम्युनिस्टकै अर्को एकल सरकारका बारेमा पुस्तकमा सविस्तार प्रकाश पारिएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई नेतृत्वका गठबन्धन सरकारका बारेमा पनि पुस्तकमा चर्चा गरिएको छ । नेपालका कम्युनिस्टहरूको संसदीय अभ्यास कसरी अगाडि बढिरहेको छ भन्ने विषयमा पनि सन्दर्भवश परिचर्चा गर्ने काम लेखकले गरेका छन् ।

कम्युनिस्ट आन्दोलनको पुस्तक लेखनका क्रममा देशको राष्ट्रिय राजनीतिसँग गाँसिएका अन्य कतिपय विषयको चर्चा लेखकले गरेका छन् । महाकाली सन्धिका बारेमा उठेका विवाद, दरबार हत्याकाण्ड, कटुवाल प्रकरण, महाभूकम्पजस्ता विषयमा पनि पुस्तकमा चर्चा गरिएको छ ।

लेखकले अनावश्यक व्याख्या–विश्लेषणभन्दा पनि इतिहासको समग्र अभिलेखीकरणलाई पुस्तकमा महत्व दिएका छन् । ७५ वर्षको गौरवमय इतिहास निर्माण गरेको नेपालको कम्युुनिस्ट आन्दोलनका बारेमा अध्ययन गर्न चाहने, खोज–अनुसन्धान गर्नेहरूका लागि यो पुस्तक महत्वपूर्ण रहेको छ । यस पुस्तकलाई नेपाली कम्युनिस्ट आन्दोलनकै एउटा महत्वपूर्ण उपलब्धि मान्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्