Logo

किन मिडियामैत्री बन्न सकेन नेकपा ?


Published On : 3 March, 2020

प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका छन् । बुधबार अर्थात् भोलि उनको मिर्गौला प्रत्यारोपण हुँदैछ । त्यसैले पछिल्ला दुई दिनका अखबारका पाना उनको स्वास्थ्य उपचारमा केन्द्रित समाचारले भरिएका छन् । त्यसोतः प्रधानमन्त्री ओली र उनी नेतृत्वको सरकारका कामकारबाहीको आलोचनाले सञ्चारमाध्यमका पाना भरिन थालेको धेरै भइसकेको छ । अझ भनौँ, पछिल्ला केही महिनायता प्रधानमन्त्री ओली र सञ्चारमाध्यमबीच दोहोरी नै चलेको छ । ओली मिडियालाई ‘बलिङ’ गर्ने, मिडिया उनको ‘ब्याटिङ’ गर्न नछाड्ने ।

१४ फागुनमा पनि उनी मिडियामाथि खनिए । सरकारले असाधारण खालका काम गरेको तर सञ्चारकर्मीले त्यो नदेखी कहाँ बत्ती छैन, कहाँ पोल छैन, कहाँ सडक छैन त्यसको खोजी मात्र गरिरहेको धारणा व्यक्त गरे । त्यसदिन त उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखबार र तिनमा आवद्ध सञ्चारकर्मीमाथि अझ बढी खनिए । ‘पार्टीका विभिन्न व्यक्तिले पनि मिडिया सञ्चालन गरेका छन् । विभिन्न कमिटीमा पनि बसेका छन् । तर, समाचार पार्टी र सरकारकै विरोधमा लेख्ने गरेका छन्,’ नेकपाको अध्यक्षसमेत रहेका ओलीले भने, ‘पार्टीले त्यसको मूल्यांकन गरिरहेको छ ।’

आखिर ओली यसरी लगातार मिडियामाथि किन खनिएका छन् ? के उनले भनेजस्तै सरकारले असाधारण काम गरेको, तर सञ्चारकर्मीले नदेखेकै हो त ? खासमा समस्या सरकारको असफलता वा सफलतासँग मात्र जोडिएको छैन । न त सञ्चारकर्मीले नियतवश नै आलोचना गरेका हुन् । समस्या, स्वयं प्रधानमन्त्री ओली र उनी अध्यक्ष रहेको नेकपाको मिडिया व्यवस्थापनको हो । मिडिया व्यवस्थापन सफल बन्न नसक्दा सरकारले गरेका राम्रा कामबाट जनता सूसुचित नभएको सत्य हो । साथसाथै, जनचाहनाविपरीत, पार्टी मूल्य–मान्यता, विधि–प्रक्रियाविपरीत काम हुन नदिन, भइहाले आलोचनात्मक चेतका साथ प्रतिवाद गर्न, बचाउ गर्न र सच्याइहाल्न प्रेरित गर्न सक्ने योग्य, क्षमतावान मिडिया व्यवस्थापकहरूको अभाव पनि अर्को समस्या हो ।

ओली सरकारका पालामा मिडिया व्यवस्थापनका जिम्मेवारी बोकेका मान्छे हुँदै नभएका होइनन् । बग्रेल्ती छन् । प्रधानमन्त्रीको सचिवालयमा मात्र होइन, प्रत्येक मन्त्रालयमा प्रेस सल्लाहकार राखिएका छन् । प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीले समेत मिडिया हेर्ने टिम खडा गरेका छन् । यति मात्र होइन, स्थानीय तहहरूले समेत तलब–भत्ता दिएरै प्रेस संयोजकहरू भर्ती गरेका छन् । तर, ती अधिकांशको योग्यता र क्षमतामा ध्यान दिइएको छैन । अधिकांश कार्यदक्षता र क्षमताको भरमा होइन, चाकडीको भरमा टिकेका छन् । नांगै बनाएर बादशाहको सवारी चलाएजस्तै तिनले पनि आआफ्ना अन्नदाताको कमजोरी छोप्न आफ्नो आँखामा पट्टी बाँधेका छन्, र जसले बादशाह नांगो छ भन्छ, उसविरुद्ध खनिने गरेका छन् । नभए यो अवस्था आउने नै थिएन । किनभने, नेकपाको विचार, सिद्धान्तप्रति आस्था राख्ने पत्रकार, सञ्चारकर्मीको यो मुलुकमा कमी छैन ।

प्रेस चौतारी र प्रेस सेन्टरबीच एकता भएपछि बनेको प्रेस संगठनमै ८ देखि १० हजार सञ्चारकर्मी आबद्ध छन् । त्यहाँ भएका एकाध खराब होलान्, बाँकी धेरै क्षमतावान छन् । तर, तिनले क्षमताअनुसारको जिम्मेवारी पाएका छैनन् । प्रेस संगठन अहिले प्रदेश भेलामा व्यस्त छ । हरेक प्रदेशको भेलामा एक सयदेखि डेढसयको हाराहारीमा प्रदेश तहका अगुवा नेतृत्व सहभागी हुँदै आएका छन् । हरेक जिल्लामा संगठन विस्तार भएको छ । यति मात्र होइन, राजधानीबाट प्रकाशित हुने, प्रसारित हुने मुख्यधारका मिडियादेखि जिल्ला तहका शक्तिशालि मिडियामा श्रमजीवी पत्रकारका रूपमा नेकपाकै कार्यकर्ताको बाहुल्यता छ ।

यति हुँदा हुँदै पनि केन्द्रदेखि स्थानीय तहसम्मका सरकारले गरेका कामको चर्चाभन्दा बढी विरोध मिडियामा किन भइरहेको छ ? यसले के देखाउँछ भने संगठन ठूलो भएर मात्र सरकार सफल हुने होइन रहेछ । त्यहाँभित्र पत्रकारहरुको योग्यता, क्षमताको कति कदर भएको छ ? कति क्षमतावान जनशक्ति छन् ? तिनको सही मूल्यांकन पार्टीले गरेको छ कि छैन ? उचित जिम्मेवारी दिइएको छ कि छैन ? मिडिया नीति बनेको छ कि छैन ? त्यसको कार्यान्वयन भइरहेको छ कि छैन ? यस्ता कुरामा ध्यान दिएर कमजोरी सच्याउँदा मात्र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको चिन्ता दूर हुन सक्छ ।

व्यावसायिक नारा दिएर चलेका सञ्चारमाध्यमका प्राथमिकता बेग्लै होलान् । पुँजी र मुनाफामै उनीहरूको ध्यान होला । तर, पार्टी, विचार, संगठन र इमान्दार कुशल नेतृत्वको रक्षार्थ पञ्चायती दमनमा समेत नझुकेका, लोभ र प्रलोभनमा नबिकेका, निष्ठापूर्वक जनता जगाउने अभियानमा लाग्दै आएका मिसन पत्रकारिता गर्नेहरूका विरुद्ध प्रधानमन्त्रीको आक्रोश किमार्थ जायज छैन । भूमिगतकालदेखि नै पार्टीको पक्षमा गोलबद्ध भएकाहरू सञ्चारमाध्यम अहिले कसरी चलिरहेका होलान भनेर दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गर्दै गर्दा प्रधानमन्त्रीले कहिल्यै सोचेका छन् ? यो पार्टीको विजयमा, पार्टी र जनतालाई जोड्न, पार्टीका विचारलाई जनतासमक्ष पु¥याउन आज पर्यन्त ती सञ्चारमाध्यमले खेलेको भूमिकालाई प्रधानमन्त्री सम्झिएका छन् ? उल्टै अक्षम चैते, छेपारे पत्रकारहरूको झुन्ड बोकेर समृद्धको काल्पनिक यात्रामा हिँडेका छन् । प्रधानमन्त्री यतिबेला चैते र छेपारे पत्रकारहरूको झुन्डबाट घेरिएका छन् । शक्तिको पछाडि कुद्ने, निहित स्वार्थका निम्ति चाकडीमा तल्लिनहरूका मुखबाट निस्किएका सरकारका सफलताका गाथा सुनेर प्रधानमन्त्री दंग छन् । यो सत्य हो, समाजवादको लक्ष्य बोकेका, परिवर्तनका पक्षधर र पार्टीको विचार आदर्शप्रति निष्ठावान मिसन पत्रकारहरू पद, पैसा र शक्तिको पछि छैनन् । बरु, आलोचनात्मक चेतसहित पार्टीलाई बलियो बनाउन, नेताहरूका खराब आचरणविरुद्ध प्रहार गर्नुलाई नै आफ्नो धर्म सम्झिरहेका छन्, त्यही कर्म गरिरहेका छन् । गलत साधन बोकेर, गलत बाटो हिँडेर न साध्य पूरा हुन्छ, न गन्तव्यमै पुगिन्छ । यो कुरा पार्टीले बुझ्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्