दरबार हल्लाउने त्यो रिपोर्टिङ


Published On : 3 March, 2020

– केदारमान सिंह

२०३६ साल जेठ १० गते राजा वीरेन्द्रले जनमत संग्रहको घोषणा गरे । यो खबर सुन्नासाथ बीबीसीका दक्षिणपूर्वी एशिया प्रमुख मार्क टेली नयाँदिल्लीबाट काठमाडौँ आए । म त्यतिबेला एएफपीमा काम गर्थेँ । साथै, हङकङबाट प्रकाशित हुने ‘फारस्टर्न इकोनोमी रिभ्यू’ का लागि पनि मैले लेखहरु लेख्ने गर्थे ।

केदारमान सिंह

यो रिपोर्ट बीबीसीबाट प्रसारण भएपछि दरबारमा कसरी सूचना चुहियो भनेर हंगामा भयो । मेरो घरमा को–को आउँछन् ? म कहाँ कहाँ जान्छु भनेर २४सै घण्टा गुप्तचर खटाउने काम भयो । त्यतिबेला शहरभरि बहुदलको पक्षमा लहर आएको थियो । मै पनि युवा जोश बोकेको पत्रकार थिएँ । राज्यले म माथि कडा निगरानी राखेको कुरा मलाई थाहा थियो । तर, म शक्तिशाली मिडियाको रिपोर्टर भएको हुँदा मलाई छुने आँट दरबारले गर्न सकेन । आखिर मैले जनमत संग्रहको विषयमा जस्तो रिर्पोटिङ गरेको थिएँ, त्यस्तै परिणाम आयो पनि ।

त्यतिबेला मार्क टेली बीबीसीका चर्चित रिपोर्टर थिए । उनी काठमाडौँ आएको सुन्दा मैले जनमत संग्रहको रिर्पोटिङका लागि आएका होलान् भन्ने ठाने, पछि उनले मलाई फोन गरेर मसँग भेट्ने समय मागे । मार्क टेलीले मलाई जनमतसंग्रह घोषणा भयो, यस विषयमा बीबीसीका लागि पनि काम गर्न आग्रह गरे ।

उनको कुरो सुनेर मैले भने– मिस्टर टेली आईएम ब्यूरो चिफ अफ एएफपी । म कसरी बीबीसीमा काम गर्न सक्छु होला र ? टेलीले भने त्यो चिन्ता नगर । एएफपीसँग मैले तिम्रो लागि अनुमति लिन्छु भने ।

जनमत संग्रहको घोषणापछि नेपालमा राजनीतिक माहौल तात्यो । देश पञ्चायत र बहुदलमा विभाजित भयो । त्यसै क्रममा पेरिसबाट एएफपीको हेडक्वार्टरले मलाई बीबीसीमा काम गर्न ‘नो अब्जेक्सन लेटर’ पठायो । त्यतिबेला नेपालमा बीबीसीको नेपाली सेवा खुबै मन पराइन्थ्यो । हरेक राजनीतिक दलका नेतादेखि पञ्च र दरबारले पनि नेपाली, हिन्दी र अंग्रेजी सेवा सुन्थे । कतिपय रिपोर्ट मेरो आफ्नै स्वरामा नेपालीमा पनि प्रसारण गथ्र्यो ।

म एक जना डेमोक्रेटिक व्यक्ति भएकोले मैले जनमत संग्रहको समाचार पठाउँदा डेमोक्रेसीकै पक्षमा बढी पठाउँथे । तर, समाचार पठाउँदा निष्पक्ष रिर्पोटिङ गर्नुपथ्र्यो । त्यतिबेला धेरै सञ्चारमाध्यम थिएनन् । बीबीसीको नेपालमा राम्रो प्रभाव भएकोले विपी कोइराला, मनमोहन अधिकारीको भाषण बीबीसीबाट प्रसारण हुनु पनि बहुदलवादीहरुका लागि ठूलो सहयोग हुन्थ्यो ।

मेरो रिर्पोटिङ सुनेर दरबारियाहरु बीबीसीले राजाको आलोचना नगरिदिए हुन्थ्यो भनेर मलाई घुमाउरो पाराले दबाब पनि दिन्थ्यो । मरिचमानका मान्छेले मलाई फोन गरेर धेरैपटक धम्क्याएको पनि छ । मरिचमान सिंह त्यतिबेला पञ्चायत नीति तथा जाँचबुझ समितिमा थिए । तिनीले पनि धम्क्याउँथे । तर म उनीहरुसँग डराउँदिन थिए । किनभने म बीबीसी र एएफपीजस्तो विश्वप्रसिद्ध सञ्चारमाध्यमको ब्यूरो चिफ र रिपोर्टर थिएँ ।

एउटा घटना, बहुदलको पक्षमा लाग्ने कर्मचारीहरुमाथि कारवाही भयो । त्यो समाचार मैले ‘ब्रेक’ गरेपछि दरबारमा ठूलो हल्लीखल्ली मच्चियो । कतिपय कर्मचारीले मलाई फोन गरेर धन्यवाद पनि दिए । यसरी पञ्चायतको ठाडो विरोध नगरे पनि घटनाक्रमलाई निष्पक्ष रुपमा प्रस्तुत गर्दा त्यसको ठूलो असर पर्दोरहेछ ।

राजा वीरेन्द्रले जनमत संग्रह घोषणा गरेपछि त्यसको विषयमा मलाई एउटा रिपोर्ट बनाउन लण्डनबाट प्रेसर आयो । मैले सोेचे– पञ्चायतका विरुद्ध विद्यार्थीहरुले ठूलो आन्दोलन गरेका छन् । कतिपय विद्यार्थी जेल परेका छन् । कतिपयलाई होस्टेल, होस्टेलमा गएर निर्ममतापूर्वक कुटिएको छ । यस्तो अवस्थामा राजाले आफ्नो अस्तित्व जोगाउन ‘जनमत संग्रह’को घोषणा गरेको हो । यो विश्वलाई आफू प्रजातान्त्रिक छु भनेर देखाउन गरिएको नाटक मात्र हो । विभिन्न स्रोतले दिएको जानकारी अनुसार यो जनमत संग्रहमा सुधारिएको पञ्चायती व्यवस्थाको पक्षमा ५६ प्रतिशत र बहुदलीय व्यवस्थाको पक्षमा ४४ प्रतिशत मत आउनेछ । यो राजा वीरेन्द्रले चलाखीपूर्वक गरेको ‘स्टेज मेनेजमेन्ट’ मात्र हो भनेर रिपोर्ट पठाएँ ।

यो रिपोर्ट बीबीसीबाट प्रसारण भएपछि दरबारमा कसरी सूचना चुहियो भनेर हंगामा भयो । मेरो घरमा को–को आउँछन् ? म कहाँ कहाँ जान्छु भनेर २४सै घण्टा गुप्तचर खटाउने काम भयो । त्यतिबेला शहरभरि बहुदलको पक्षमा लहर आएको थियो । मै पनि युवा जोश बोकेको पत्रकार थिएँ । राज्यले म माथि कडा निगरानी राखेको कुरा मलाई थाहा थियो । तर, म शक्तिशाली मिडियाको रिपोर्टर भएको हुँदा मलाई छुने आँट दरबारले गर्न सकेन । आखिर मैले जनमत संग्रहको विषयमा जस्तो रिर्पोटिङ गरेको थिएँ, त्यस्तै परिणाम आयो पनि ।

एक दिनको कुरा हो– मलाई फोन गरेर मण्डलेहरुले मेरो घरमा आगो लगाइदिन्छु भने । मैले भने, बाबु मैले के अपराध गरेको छु र मेरो घरमा आगो लगाइदिने ? मेरो काम त निष्पक्षरुपमा समाचार सम्प्रेषण गर्ने काम हो । त्यसो गरेन भने बीबीसीले मैमाथि कारवाही गर्छ । मैले मेरो धर्म निभाएको हुँ । तपाईंलाई म सँग रिस उठेको छ भने मलाई गोली ठोकेर मार्नु । घरमा आगो लगाएर मेरो १६ जना परिवारलाई किन मार्नुहुन्छ भने । मेरो पत्रकारिता जीवनमा यस्ता धेरै रोचक घटनाहरु छन् । समय पाएँ भने ‘दृष्टि’मार्फत पाठकसमक्ष पुग्ने छु ।

प्रतिक्रिया दिनुहोस्