Logo
Logo

स्वास्थ्यलाभ र दीघार्युको कामना


- दृष्टि न्युज/संवाददाता


‘जसरी खेलको बीचमा ‘स्टाइकर’ले मैदान छोड्दैन, त्यसै गरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न ।’– गत मंगलबार मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज प्रस्थान गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीसँग यस्तो बाचा गरेका थिए । दोस्रोपटकको प्रत्यारोपणमा आउन सक्ने जटिलता उनलाई पनि थाहा थियो । तर, उनमा आश्चर्यजनक ‘आत्मबल’ थियो । हो, त्यो आत्मबलकै कारण प्रधानमन्त्री ओलीको दोस्रो प्रत्यारोपण सफल भएको छ । भोलि प्रत्यारोपणको पहिलो साता बित्दैछ । यसबीच उनको स्वास्थ्यमा उल्लेख्य सुधार आइसकेको छ । सामान्य खाना खान र हिड्डुल गर्न थालिसकेका छन् । त्यसोतः प्रधानमन्त्रीले चिकित्सकहरूलाई सोमबारै डिस्चार्ज गरिदिन आग्रह गरेका थिए । तर, प्रधानमन्त्री कार्यालयमा हुने भेटघाटका कारण संक्रमणको जोखिम रहने भन्दै चिकित्सकले स्वीकृति दिएनन् । तर, अब दुई चार दिनभित्रै उनी डिस्र्चाज्ड हुने सम्भावना देखिन्छ । प्रधानमन्त्री ओली अस्पतालबाट बालुवाटार फर्कन निकै हतारिएका देखिन्छन् । अप्रेसनअघिको मन्त्रिपरिषद् बैठकमा होस् या सफल उपचारको शुभकामना दिन आउने उच्चव्यक्तित्वहरू होस्, ओलीले सात दिनभित्र अस्पतालबाट आउने र मन्त्रिपरिषद् बैठक राख्ने बताउने गरेका थिए ।

यो हुटहुटीको खास कारण के होला ? हुनसक्छ, अब उनी सरकारको गतिलाई जनअपेक्षाअनुसार तीव्रता दिन चाहन्छन् र त्यसका लागि सरकारको प्राथमिकता परिमार्जन गर्न चाहन्छन् । जोखिमपूर्ण सल्यक्रियाका लागि अस्पताल जाने निश्चित भएपछि उनमा बोध भएको हुनसक्छ कि आफू नेतृत्वको सरकारले दुई वर्ष यसै बिताएछ । सानो र संकुचित घेरामा कैद हुँदा गर्न सकिने काम पनि गरिएनछ । यदि त्यस्तो हो भने, प्रधानमन्त्रीको हुटहुटी स्वागतयोग्य छ । सिंगो जीवन कुनै न कुनै किसिमको संर्घषमा बिताएका ओलीबाट ती जनसमुदायले धेरै ठूलो आशा गरेका छन्, जो दैनिक ज्याला गरेर गुजारा चलाउँदै आएका छन् । जो, मुस्किलले बालबच्चालाई स्कुल पठाउँछन् । जो, आफू वा परिवारजन विरामी हुँदा आर्थिक अभावका कारण उपचार गराउन अस्पताल पुग्न सक्दैनन् । ती लाखौँ लाख श्रमिक, ज्यालादारी मजदुर, किसान, भूमिहीन सुकुम्बासी सबैको आशा ओली हुन् । तर, उनको बितेको दुई वर्ष आशलाग्दो बन्न सकेन । जसले आफूलाई त्यति ठूलो मत दियो, त्यो वर्गलाई उनले अनुभूति हुने गरी सम्बोधन गर्न सकेका थिएनन् ।

तर, मृत्यु जितेर फर्कंदै गरेका ओलीले फेरि अर्को मौका पाएका छन् । उनको बाँकी जीवन वास्तवमै नाफाको जीवन हो । ती लाखौँलाख नेपाली जो अहिले पनि ओलीलाई नै तारणहार सम्झेर यतिबेला शिक्षण अस्पतालतिर आँखा लगाइरहेका छन्, तिनको मुहारमा खुसी छर्न पनि अब ओलीले विगतका भुल सच्याउनैपर्दछ । अस्पताल जानुअघि उनी आफैँले भनेका थिए, ‘‘भनिन्छ, आशाको दियो बलिरह्यो भने शान्ति, प्रेम र विश्वासको जग मजबुत तुल्याउन सकिन्छ । कुनै समय मुर्छित रहेका हाम्रा सपनालाई हामी सबै मिलेर जगायौँ । त्यसलाई ब्यूँताउनका लागि गत निर्वाचनमा मेरो नेतृत्वको वरीपरी तपाईंहरू सबैले आफूलाई उभ्याउनु भयो, यस वर्षलाई हामीले समृद्धिको आरम्भ वर्ष भनेका छौँ । जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्नँ । हामीले देखेको ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न केही दिनको अस्पताल बसाइ र आरामपछि थप ऊर्जा र आत्मविश्वास लिएर म काममा फर्कनेछु ।’ सारा नेपालीले अब त्यही आत्मविश्वास र संकल्प बोकेर प्रधानमन्त्री ओली फर्किने दिन कुरिरहेका छन् । त्यही स्पिरिट मुलुकले खोजेको छ । सारा नेपालीको आकांक्षा पूरा गर्न पार्टी नेताको दायराभन्दा माथि ओलीले आफूलाई देशकै नेताका रूपमा उभ्याउनेछन् भन्ने विश्वास लिएका छन् । दृष्टि परिवार उहाँको स्वास्थ्यलाभ र दीघार्युको कामना गर्दछ ।

प्रतिक्रिया दिनुहोस्