Logo
Logo

नेपाल प्रहरीको अर्को साहसिक कार्य


- दृष्टि न्युज/संवाददाता


०५२–०६२ । यो एक दशक नेपाली इतिहासमा सर्वाधिक उथलपुथलको दशक हो । त्यसअवधिमा नेपाली समाजमा लागेको घाउ आज पर्यन्त चह¥याइरहेको छ । राजनीतिक उद्देश्य प्राप्तिका निम्ति भन्दै उठाइएको बन्दुकले प्रत्यक्ष युद्धमा होमिएकाको मात्र होइन, कयौँ निर्दोषको ज्यान गयो । राज्य र विद्रोही दुवै पक्षबाट आहत भएर हजारौँ परिवार विस्थापित हुन पुगे । कयौँका जीवनधारा नै बदलियो । त्यो हिंसात्मक समयको गर्तमा थुप्रै सञ्चारकर्मीहरूसमेत मारिन बाध्य भए । सशस्त्र द्वन्द्वको अवधिमा २२ जना पत्रकारको हत्या भयो । तिनैमध्ये एक थिए, वीरेन्द्रकुमार साह । त्यो एक दशकको हिंसा ०६२ मै चटक्कै अन्त्य भएन । कयौँ वर्षसम्म अनेक रूपमा चलिरह्यो । त्यसको एउटा उदाहरण पनि हुन् साह । हिंसा त्यागेर विद्रोही माओवादी शान्ति सम्झौतामा आइसकेपछि पनि १८ असोज ०६४ मा पत्रकार साहको हत्या भएको थियो । बाराको कलैया घर भएका पत्रकार साहको टाँगिया बस्ती जंगलमा लगेर हत्या भएको थियो र जंगलमै शव पुरिएको थियो । एकाएक बेपत्ता भएका साहको शव एक महिनापछि गलिसकेको अवस्थामा फेला परेको थियो ।

स्थानीय कुन्दन फौजदार, हरेराम पटेल, मनेजर चौधरी, लालबहादुर सहनी र रामएकवाल सहनीले साहको हत्या गरेका थिए । हत्यापछि लामो समयसम्म हत्यारा फरार भए । विस्तारै केही कानुनको कठघरामा आए । तर, फौजदार राजनीतिक संरक्षणको फाइदा उठाउँदै उम्कँदै आएका थिए । तर, शनिबार राति उनी पनि प्रहरीको फन्दामा परे । बाराका प्रहरी प्रमुख एसपी कृष्ण पँगेनी नेतृत्वको टोलीले फौजदारलाई आफ्नै घर बसिरहेको अवथामा बारागढी गाउँपालिका–६ गडहलबाट पक्राउ ग¥यो । उनलाई नियन्त्रण लिने क्रममा प्रहरीले चार राउन्ड हवाइ फायरसमेत गर्नुपरेको थियो । मंगलबार अदालत खुलेसँगै फौजदारलाई अदालतमा उपस्थित गराउने तयारीमा बारा प्रहरी रहेको छ । पत्रकार साहको हत्यामा दोषी ठहर भइसकेकाले मंगलबारै अदालतले उनलाई कारागार चलाउन गर्नेछ ।

फौजदार पक्राउ परेपछि साहकी पत्नी उमरावती देवीले पति वियोगको पीडामा केही मल्हम लागेको प्रतिक्रिया दिएकी छिन् । साहको हत्याको फैसलापछि केही समय फौजदार फरार थिए । पछिल्ला वर्ष भने राजनीतिक आडमा घरमै बस्न थालेका थिए । यसबीच, बारामा थुप्रै प्रहरी प्रमुख परिवर्तन भए । तर, कसैले उनलाई पक्रने हिम्मत गरेका थिएनन् । एसपी पँगेनीले भने फैजदारलाई पक्राउ गरी उमरावतीको पीडामा केही मल्हम लगाएका छन् । त्यसोतः केही अघि दैलेखका पत्रकार डेकेन्द्र थापाका हत्यारापनि पक्राउ परेका थिए । हाल उनी कारागारजीवन बिताइरहेका छन् । तर, अन्य धेरै पत्रकारको हत्यामा संलग्नहरू अझै कानुनको दायरामा आउन सकेका छैनन् । द्वन्द्वको जोखिमपूर्ण समयमा पनि जनतालाई सूसुचित गराउने दायित्व बोकेका पत्रकारहरूको हत्या हुनु र गणतन्त्र आइसक्दा पनि हत्यारा पत्ता नलाग्नु निश्चय नै लज्जाको कुरा हो ।

पत्रकारका दुःखद घटना मात्र होइन, यो समाजमा अझै पनि कयौँ त्यस्ता पत्नि, कयौँ त्यस्ता आमा–बुवा वा कयौँ छोराछोरी छन्, जो आफ्ना परिवारजनका हत्यारा कानुनको कठघरामा आउने दिनको प्रतीक्षामा छन् । तिनको प्रतीक्षा जति लामो हुनेछ, समाजमा द्वन्द्वको घाउ उति चर्किरहनेछ । नेकपाको सरकारले यस्तो विषयलाई अलमल र टालटुलको विषय बनाउनु हुँदैन । दण्डहीनताको अवस्था अन्त्य गरेर कानूनी शासनमा मुलुकलाई डोहो¥याउन पीडितहरुलाई समयमै न्याय दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्