Logo
Logo

यू-१९ विश्वकप क्रिकेटः नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित


1.5k
Shares

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

आज दक्षिण अफ्रिकाको मनगंग ओभलमा भएको खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको हो ।
नेपालले दिएको १७० रनको लक्ष्य बंगलादेशले २५।२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

बंगलादेशको जितमा अरिफुल इस्लामले अविजित ५९ रन बनाए । उनले ३८ बलमा सात चौका र दुई छक्का प्रहार गरे । जिसान आलमले ४३ बलमा ६ चौका र दुई छक्कासहित ५५ रन थपे । असिकुर रहमानले १६, चोधुर मोहम्मद रिजवानले १५ र अहरार अमिनले १२ रन जोडे ।

नेपालका लागि पाँचै विकेट सुवास भण्डारीले लिए । आठ ओभर बलिङ गरेको सुवासले ४४ रन खर्चिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर १६९ रनको योगफल खडा गरेको थियो ।

बंगलादेशविरुद्ध निरिह देखिएको नेपाली ब्याटिङमा विशालविक्रम केसी र कप्तान देव खनालबाहेक अरुले उल्लेख्यनीय योगदान पुर्‍याउन सकेनन् ।

नेपालको लागि विशालले ४८, सुवास भण्डारीले १८ र ओपनर अर्जुन कुमालले १४ र दुर्गेश गुप्ताले नौ रन जोडेका थिए ।

नेपालका आकाश त्रिपाठी, गुल्सन झा, दीपक बोहरा र दीपेश कंडेल समान तीन रन जोडेर आउट भएका थिए । विपिन रावलले दुई रन थप्दा आकाश चन्द ‘गोल्डेन डक’ भए ।

नेपालले समूह चरणको खेलमा न्युजिल्यान्डसँग ६४ रनको र पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरेको थियो । तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकालेपछि नेपालले सुपर सिक्समा स्थान बनाएको हो ।

यता, बंगलादेशले भने समूह चरणमा भारतसँग ८४ रनको हार व्यहोरेको थियो । यसपछिका दुई खेलमा आयरल्यान्डलाई ६ विकेट र अमेरिकासँग १२१ रनको जित निकाल्दै सुपर सिक्समा स्थान बनाएको हो ।

नेपालले अब सुपर सिक्सको अर्को खेलमा भारतविरुद्ध फेब्रुअरी २ मा खेल्नेछ

प्रतिक्रिया दिनुहोस्