Logo
Logo

‘एकजना व्यस्त सर्जनको बर्थ-डे हो आज’



जन्मदिन सबैको निम्ति महत्वपूर्ण हुन्छ । माघ महिनामा जन्मेका सरोजको जन्मदिनको सम्झना बच्चाहरूलाई पनि हुन्थ्यो, उनीहरू सानै हुँदादेखि । सासुआमाले त झन् आफूले सकेको बेला पाठपूजा नै गरिदिनुहुन्थ्यो, पात्रोमा दिन दशा पनि हेरेर । आफू बीस वर्षमात्रै भएको बेला जन्मिएको पहिलो सन्तानको जन्मदिनलाई आमाले नसम्झने त कुरै भएन । घरकै निम्ति पनि विशेष थिए उनी– जेठो छोरा ! छोराकै चाहना भएको बेला जन्मिएको सन्तान ।

प्रायः अरुका जन्मदिन नसम्झे पनि आफ्नो जन्मदिन बिर्सिंदैनन् मानिसहरू । सरोजलाई भने अरुले सम्झाइदिनुपर्ने हुन्थ्यो । किन हो जन्मदिन ‘मनाउन’ न उनको ईच्छा देखिन्थ्यो न जाँगर । उनको जन्मदिन सम्झाउनैका लागि म कहिले केही लेखेर उनलाई दिन्थेँ, कहिले भने मेरै डायरीमा एउटा कविता या अरु केही लेखिदेउ भन्थेँ । यस्तै निहूँ पारेर शुभकामना दिने गर्थें ।

उनको पचासौं जन्मदिनमा हो उनी सर्जन भइसकेपछि हाम्रो जीवनमा घटेका अनेक घटना र उनको कामसँग सम्बन्धित कुराको संस्मरण–‘डाक्टरनीको डायरी’को पाण्डुलिपिलाई ‘सप्र्राइज’को रूपमा केही साथीहरूलाई पनि बोलाएर उपहार स्वरुप दिएकी थिएँ । तर, त्यो कहिल्यै प्रकाशनमा आएन । अहिले म त्यसैका पाना पल्टाउँदै, केही अंशलाई पुनर्लेखन गर्दै यहाँ पस्कँदैछु ।

त्यो पुरानो डायरीलाई पल्टाउँदा उनको उबेलाको कामको व्यस्त जीवन्त भएर भर्खरै भोगेको जस्तो महसुस हुन्छ ।

एउटा जन्मदिनको साँझसँगै घर फर्किनका निम्ति भनेर बुढालाई पर्खेकी थिएँ । बच्चाहरूले बिहानै सम्झाएका थिए– ‘आज त बुवाको बर्थडे हो नि, केही गिफ्ट किनेर ल्याइदिनु है !’ भनेकी थिई सानीले र आफ्नो तर्फबाट पनि आफै चित्र कोरेर एउटा कार्ड बनाएकी थिई ।

म अस्पतालमा सरोजलाई पर्खेर बस्दा बिचरा बच्चाहरू मात्र झन् घरमा एक्लै पर्खिनुपर्याे । अघिल्लो वर्ष पनि यस्तै भएको थियो– तर, त्यसबेला म पनि उनीहरूको साथमा घरमै थिएँ । त्यो वर्ष मेरी अनन्य साथीको जीवनसाथीको अपरेशन परेको थियो ।

हात्तिगौँडा बस्न थालेपछि कामबाट फर्कँदा बाटो पनि लामो भयो । विश्वभाषा क्याम्पसमा मेरो क्लास सकिएपछि बुढासँग गफ गर्दै घर फर्किनुको मनोवैज्ञानिक महत्व थाहा हुन थालेको थियो । साँझको ६ बज्यो, सात बज्यो, आठ बज्यो… म अपरेशन थिएटर बाहिर पर्खिरहेकी छु । तर, आफ्नो मान्छेको अनुहार देखेको होइन । म पर्खेको पख्र्यै …।

यसरी पर्खिनुपर्दा म प्रायः हातमा कापी कलम लिएरै पर्खिन्थें । मनमा आएको कुरा लेख्दै पनि गर्थें । त्यहाँ बस्दा बस्दै एकजना सिनियर सिस्टरबाट सुनेँ– ‘आज त दशवटा बन्दा बढी अपरेशन छ रे !’
‘ए हो र ?’ मात्र भनें ।
सिस्टरले माया गरेरै भन्नुभयो– ‘धेरै बेर पो पर्खिनु पर्यो त…’
‘धैर्य सिक्दैछु यहाँ बसेर । पर्खिनु मात्र त हो नि ! तपाईँहरूले जस्तो कामै त गर्नु पर्दैन नि मलाई…’

बिस्तारै भनेँ– ‘आज डाक्साबको जन्मदिन पनि हो, त्यसैले पनि पर्खेकी… पोहोर साल पनि आजकै दिन हामी घरमा पर्खेको पख्र्यै भएका थियौँ ।’

सिस्टरले नै सम्झिनु भयो– ‘हो मैले सम्झेँ, एकजना नेताको अपरेशन परेको थियो । त्यो बेला म पनि संगै थिएँ । रातभरि नै व्यस्त भएका थियौँ …।’

मलाई लाग्दै थियो– प्रत्येक वर्ष किन जन्मदिनमै विशेष काम गर्नुपर्ने सरोजलाई ? अघिल्लो जन्मदिन त मैले कहिल्यै नबिर्सिने भएको कुराको सम्झनाको रील फेरि एकपल्ट घुमे जस्तै लाग्यो । त्यसबेला बाबुको जन्मदिनमा केही रमाइलो गर्न भनी अधैर्य भएर पर्खिरहेका बच्चाहरूलाई भनेको कुरा सम्झेँ– ‘यस्तै हो सर्जनको बर्थ डे !’

अरू डाक्टरहरूको जन्मदिन कस्तो हुन्छन् मलाई राम्रो थाहा छैन । अपरेशनमा सर्जन एक्लै त हुँदैन, अन्य सर्जन, एनेस्थेटिस्ट डाक्टर र नर्सहरूको सिङ्गो टीम नै हुन्छ । सिनियर सर्जन भएकोले उनको जिम्मेवारी विशेष हुनु स्वाभाविक नै थियो । त्योबेला यसै पनि व्यस्त नै हुन्थे सरोज– क्लिनिकल जिम्मेवारीबाहेक संस्थागत जिम्मेवारी पनि आफैले बोक्नु पथ्र्यो । जन्मदिन नै परेकाले मात्र त्यो सम्झिएको हो ।

पर्खेकै बेला एनेस्थेसियोलोजिस्ट डा. प्रदीप राजभण्डारी अपरेशन थिएटर भित्रकै स्क्रब लगाएर बाहिर आए । आफ्नै घरमा कुरा गर्न आएका रहेछन् । मलाई देखेपछि भने– ‘ल, भाउजु त अझै यहाँ नै हुनुहुँदो रहेछ ! अपरेशन सकिन त अझै केही समय लाग्छ होला…’ ९ त बजिसकेको थियो ।

बच्चाहरुलाई गाह्रो भइसक्यो होला भन्ने लागे पनि ‘बढि भए १० त बज्छ होला नि’ भन्ने मनमा लाग्यो । एकै छिनमा सँगैको चेन्जिङ रूमबाट मोबाइल फोन बजेको आवाज आयो । त्यो आवाजलाई म चिन्थें– बुढाकै मोबाइल बजेको हो भन्ने थाहा थियो । म उठेर मोबाइल झिकें सानी छोरीकै फोन रहेछ । ‘अझै आउने बेला भएको छैन… ?!’

अब सकिन लाग्यो बुवाको काम भनी सम्झाएँ छोरीलाई । एकछिनपछि सरोज बल्ल बाहिर निस्किए । मैले लामो सास फेरेँ । सोधेँ– ‘अब सकियो ?’

‘…अझै केहीबेर लाग्छ । अपरेशन गरेको बिरामी होसमा नआई सर्जनले त्यतिकै छोडेर जान मिल्दैन… ।’ अझै पर्खिनुको विकल्प रहेन । सरोज पुनः अपरेशन थिएटरमै फर्केपछि मैले सुनेका केही कथा सम्झिन पुगेँ ।

कोही कोही डाक्टरहरूले राम्रो कामको जस् आफूले लिने र बिरामीलाई केही समस्या आए अरु सहकर्मी वा जुनियरहरूको टाउकोमा बिसाउने भन्ने कुरा सुनेकी थिएँ । त्यस्तोमा सरोज पर्दैनन् भन्ने लाग्यो । उनी सम्पूर्ण जिम्मेवारी आफै बोक्ने गर्छन् । अपरेशन गरेको बिरामी आर्थिक रूपले विपन्न भए चाहिने औषधि र उपकरणसमेत आफैले किनिदिने गरेको थाहा छ मलाई ।

प्रायः पछि मात्र थाहा हुन्थ्यो मलाई । यी कुराहरूमा मलाई कहिले गर्व लाग्थ्यो, कहिले भने रीसै पनि उठ्थ्यो मलाई । सुरु सुरुमा बुढा भर्खरै सर्जन भएको बेला आफै नै आर्थिक कठिनाई भोगिरहेको स्थितिमा त मलाई बुझ्नै पनि गाह्रो हुन्थ्यो उनको यस्तो ताल ।

यसरी एक्लै बसेर पर्खिँदा भोगेका सबै कुरालाई सम्झिइने रहेछ । एउटा डाक्टरलाई परिवारले बुझ्नैका निम्ति पनि यसरी पर्खिनु परेको जस्तो लाग्यो । एक प्रकारको परीक्षा नै थियो त्यो पनि ।

निक्कै ढिलो मात्रै सकियो सरोजको त्यो दिनको काम । संगै फर्किने बेला मैले बल्ल भन्न पाएँ ‘थाहा छ आज के हो ? एकजना व्यस्त सर्जनको बर्थ डे हो आज ! शुभकामना !’

प्रतिक्रिया दिनुहोस्