Logo
Logo

‘छिट्टै हाइलाइट हुन्छु भन्ने सोच त्याग्नुपर्यो’



काठमाडौं । ०५७–५८ सालतिर काठमाडौँ उपत्यकामा ‘एफएम क्रेज’ उत्कर्षमा भएको समय ललितपुर चापागाउँबाट टेलिफोन कार्यक्रमहरूमा एउटा आवाज सुनिन्थ्यो । गाउन भनेपछि हुरुक्कै हुने त्यो आवाज हुन्थ्यो, निशा देशारको । उनी एफएमका गायनसम्बन्धी कुनै पनि कार्यक्रम छुटाउँदिन थिइन् । एफएम प्रस्तोतामाझ निशाको आवाज चिरपरिचित नै बन्यो । र, एक दिन उनको प्रवेश नेपाली सांगीतिक फाँटमा भएरै छाड्यो । उनका एकपछि अर्को ‘हिट’ नम्बर आए । फिल्मी पाश्र्वगायनसम्म पुगिन् । भजन रेकर्ड गरेर संगीतमा पाइला टेकेकी निशाको पोल्टामा आज एकसे एक अवार्ड र पुरस्कार परिसकेका छन् । नारायणगोपाल, नातिकाजी, फत्तेमान पुरस्कारदेखि भीम विराग, छिन्नलता र सर्वोत्कृष्ट गायनका दर्जनौँ अवार्ड उनको घरमा सजिएका छन् । २०६६ सालमा रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी आधुनिक गीत सम्मेलनमा प्रथम स्थान हासिल गरेपछि निशाको सांगीतिक यात्रा झनै फराकिलो बन्दै गयो । रेडियो नेपालकी ‘क’ श्रेणीकी गायिका निशा देशारसँग एमपी सुब्बाले गरेको जम्काभेट :

व्यस्तता निकै बढेको छ, हैन ?
हजूर ! बिहानैदेखि व्यस्तै हुन्छु ।

बिहानैदेखि भन्नाले ?
बिहानी रियाज । कार्यक्रमहरूका लागि तयारी । कोर्सबुक पढ्नेलगायत घरका काम ।

कस्तो कोर्सबुक ?
संगीतमा सैद्धान्तिक ज्ञान पनि अत्यावश्यक भएकाले ललितकला क्याम्पसमा जोडिएकी छु । अहिले बिम्युज चौचो वर्षमा पढ्दै छु । आगामी वर्ष मास्टर्सका लागि पनि तयारी गर्दै छु ।

नेपाल भाषाको ‘ऐला लुवया…’ ले त तहल्कै मच्चायो नि, हैन ?
हो, यो गीतले नसोचेको सफलता हासिल गरिरहेको छ । देश–विदेशका सबैले मन पराइदिइरहनुभएको छ । नेपाल भाषाको गीत भइकन पनि सम्पूर्ण नेपालीको साझा गीत भइदिएको छ । ज्यादै खुसी लागिरहेको छ ।

यो गीत युट्युबमा कति भ्युज पुग्यो ?
दुई महिनाको अवधिमा ५५ लाख कट्न लागिसक्यो । यो भनेको हाम्रो लागि ठूलो उपलब्धि हो ।

औपचारिक संगीत यात्रा थालेको पनि धेरै भयो हैन ?
गाउन त सानैदेखि गाउँथेँ । तर, २०६६ सालमा रेडियो नेपालको राष्ट्रव्यापी गायन प्रतियोगितामा प्रथम भएपछि संगीत क्षेत्रमा औपचारिकरूपमा प्रवेश गरेँजस्तो लाग्छ ।

२०६६ सालअघिचाहिँ कुनै परिचय थिएन ?
थियो तर एकदम सीमित । नेपाल भाषाका गीत गाएर मेरो संगीत यात्रा सुरू भएको हो । त्यतिबेला नेपाली भाषामा मेरा गीत थिएनन् । रेडियो नेपालमा प्रथम भएपछि सबैको नजरमा परेँ । त्यसपछि संगीत यात्रा फराकिलो हुँदै गयो ।

भनेपछि निकै संघर्ष गर्नुपर्यो ?
अझै पनि गरिरहेकी छु । संघर्ष त जीवनभर चलि नै रहन्छ । सानैदेखि विभिन्न एफएमका कार्यक्रममा टेलिफोन गरेर गीत गाउँथेँ । कार्यक्रम प्रस्तोता दाइदिदीहरूले हौसला दिनुहुन्थ्यो । त्यही हौसलाका कारण मैले आफूलाई चिन्ने मौका पाएँ ।

आफूलाई कुन स्थानमा छुजस्तो लाग्छ ?
त्यस्तो खास लाग्दैन । संगीत साधना गर्दै छु । यसैमा आनन्द लागिरहेको छ । आफ्नो काममा दत्तचित्त हुन्छु । त्योबाहेक संगीत क्षेत्रमा आफूलाई सधैँ ‘सिकारु हुँ’ भन्ने ठान्छु ।

संगीतबाहेक अरू केही छन् ?
छैन । संगीतमै निर्भर छु । २०६६ सालदेखि नै गणना गर्ने हो भने १४ वर्ष भयो, व्यावसायिक संगीतमा लागेको । त्यसपछि अन्य क्षेत्रमा लागेको छैन । संगीतपछि संगीत नै हो मेरा लागि । त्यसबाहेक अरु कल्पनै गरेको छैन ।

भनेपछि संगीतबाट जीवन निर्वाह भइरहेको छ ?
अवश्य पनि । मेहनत, लगन, इमान्दारिता गुमाउनुहुन्न । यति भएपछि जुनसुकै क्षेत्रमा पनि बाँच्न सकिन्छ । र, साधना पनि उत्तिकै महत्वपूर्ण छ ।

अझै पनि नेपाली संगीत व्यावसायिक हुनसकेको छैन भनिन्छ नि ?
कस्तोलाई व्यावसायिक भन्ने ? मापदण्ड के हो ? त्यो नै स्पष्ट छैनजस्तो लाग्छ । निरन्तर लागिरहनेहरू यसैमा निर्भर छन् । त्यस्तो अवस्थालाई के भन्ने !

त्यसो भए नेपाली संगीतको भविष्य उज्ज्वल छ ?
अवश्य पनि । धैर्य, साधना र निरन्तरता हुनुपर्याे । र, छिट्टै हाइलाइट हुन्छु भन्ने सोच त्याग्नुपर्यो ।

छिट्टै हाइलाइट भन्नाले भाइरल ?
त्यो पनि हो । आज छ, भोलि गुमनाम हुनुभन्दा संगीत बुझेर आउनुपर्याे । जसले एउटा दीर्घकालीन बाटो पहिल्याओस् । र, हिँड्न सहज होस् ।

भाइरल हुनु राम्रो हैन ?
सबै कुराका दुईवटा पाटा हुन्छन् । जानेबुझेर भाइरल हुनु र चिठ्ठा परेजसरी भाइरल हुनुमा फरक छ । यी दुईमध्ये कुन माध्यमबाट भाइरल हुने भन्ने आफूमा भर पर्छ । यद्यपि, भाइरल केमा हुने ? भन्नेमा पनि निर्भर हुन्छ ।

प्रतिक्रिया दिनुहोस्