एजेन्सी । यस सिजनको अन्त्यमा पेरिस सेन्ट जर्मेन पीएसजीसँगको सम्झौता समाप्त भएपछि केलियन एमबाप्पे रियाल मड्रिडमा जाने भएका छन् ।
एमबाप्पेले गत वर्ष नै २०२३–२४ को सिजनपछि लिग वान टोली पीएसजीसँगको सम्झौता नवीकरण नगर्ने बताएका थिए । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अब उनी फ्री ट्रान्सफरमार्फत स्पेनिस क्लबमा अनुबन्धित हुनेछन् ।

फ्रेन्च अखबार पेरिसियन र ईएसपीएनले स्रोतलाई उद्धृत गर्दै २५ वर्षीय स्ट्राइकरले अर्को साता १४ पटकको युरोपियन च्याम्पियनसँग अनुबन्धपूर्वको सम्झौतामा हस्ताक्षर गर्न लागेको जनाएका छन् ।
उनी २०२२ मै रियालमा आउने चर्चा चलेको थियो । तर, ट्रान्सफर विन्डो खुल्नु केही हप्ता अघि मात्र उनले पीएसजीसँगको सम्झौता विस्तारको घोषणा गरेका थिए ।














