Logo
Logo

कांग्रेसका नेताहरूले भन्न थाले- ‘अब प्रधानमन्त्री माधव नेपाल’, ओलीलाई पिरलो 



काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भएलगत्तै संसद्को ठूलो दल नेपाली कांग्रेसका केही नेता सरकारको नेतृत्व नै परिवर्तन गर्नुपर्ने बताउन थालेका छन् । 

कांग्रेसका नेताहरूले गठबन्धन दलमा भएको पूर्वसहमति अनुसार अब प्रधानमन्त्री बन्ने पालो ‘माधवकुमार नेपालको हो’ भन्न समेत भ्याइसके । ‘समुदायमा कांग्रेस’ अभियानका क्रममा दाङ पुगेका बेला पूर्वउपसभापति विमलेन्द्र निधिले र नवलपुर पुगेका बेला पूर्वमहामन्त्री शशांक कोइरालाले सत्ता गठबन्धनभित्रको समझदारीअनुसार अब प्रधानमन्त्री हुने पालो माधवकुमार नेपालको हो भनेका थिए ।

नेता कोइरालाले वर्तमान सरकार असफल भएको दाबी गर्दै अब माधव नेपालको नेतृत्वमा सरकार बनाउनुपर्नेमा जोड दिएका छन् । उनले भनेका थिए– ‘प्रधानमन्त्री पुष्पकमल दाहाल सरकार सञ्चालनमा असफल भए, अब माधव नेपाललाई प्रधानमन्त्री बनाऔँ, यो सहमतिको सरकार हो । सबैले पूर्वसहमति पालन गर्नुपर्छ भन्ने लाग्छ ।’

कांग्रेसका नेताहरूले नेपाललाई प्रधानमन्त्री बनाउने चर्चा गर्न थालेपछि एमाले अध्यक्ष ओलीले आपत्ति जनाएका छन् । ओलीले स्वतन्त्र सांसदलाई कांग्रेस नेताहरूले प्रधानमन्त्रीमा प्रस्ताव गरेको भन्दै प्रश्न उठाएका छन् । 

यति मात्र होइन, ओलीले स्वतन्त्र सांसदलाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेर कांग्रेसले जनताको मतको अवमूल्यन गरेको आरोपसमेत लगाए । विपक्षी एमाले मात्र नभएर सत्तारुढ कांग्रेसकै नेताहरूले प्रधानमन्त्रीको विकल्प खोज्नुपर्ने बताउन थालेपछि अब साँच्चै दाहाल नेतृत्वमाथि प्रश्न उठ्न थालेकै हो त ? भन्ने प्रश्न टड्कारो भएको छ ।

सत्ता गठबन्धन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच १० महिनाअघि भएको सहमतिअनुसार अझै एक वर्षपछि सरकारको नेतृत्व परिवर्तन हुनुपर्ने हो । त्यस बेला पुष्पकमल दाहालपछि माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो । दाहाललाई दुई वर्ष सरकार चलाउन दिने भनिए पनि कांग्रेसका केही नेताहरू अहिले नै नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने भन्न थालेका छन् । 

शनिबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले स्वतन्त्र हैसियतका सांसदलाई प्रधानमन्त्रीको प्रस्ताव गरिएको भन्दै यो जनमतको अवमूल्यन हुने दाबी गरे । 

ओलीले भने– ‘दलको होइन, स्वतन्त्र हैसियतको सांसदलाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर भनेका छन्, भनेपछि राजनीति कहाँ पुग्यो ? भागबन्डा र सत्ताका लागि कसैलाई कुर्सीमा बसाउने ? देश भड्खालामा गए जाओस्, उकालो लागोस् कि ओरालो लागोस् कसैलाई केही मतलब छैन । सत्ता, जहाँ पनि सत्ता ।’

ओलीको संकेत माधव नेपालप्रति नै लक्षित थियो । पार्टी विभाजनपछि ओली र नेपालबीच राम्रो सम्बन्ध छैन । दुई वर्षअघि एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका नेपाल गत निर्वाचनमा रौतहटबाट निर्वाचित भए पनि उनको दलले राष्ट्रिय मान्यता पाउन सकेन । जनमतमा कमजोर दलको नेतालाई प्रधानमन्त्री बनाउनु उपयुक्त नहुने एमालेको तर्क छ ।

सभापति शेरबहादुर देउवासँग असन्तुष्ट कांग्रेसभित्रकै शेखर कोइराला समूहसमेत दाहाल नेतृत्वको सरकारसँग खुसी छैन । कोइराला समूह आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गर्नुपर्ने, नभए दाहाललाई जसरी पनि हटाउने पक्षमा छ । 

आफूसँगको गठबन्धन तोडेर कांग्रेससँग मिलेर सरकारमा गएको माओवादीसँग एमाले सुरुदेखि नै रुष्ट छ । सरकार बनाउने र भत्काउने खेलमा नलाग्ने भने पनि पछिल्ला दिनमा ऊ जसरी पनि प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाउने रणनीतिमा छ । 

त्यतिमात्र होइन, गठबन्धनले ११ महिनाअघि गरेको आलोपालो प्रधानमन्त्रीको सहमतिलाई पनि एमालेले गिजोल्न थालेको छ । 

प्रतिक्रिया दिनुहोस्