Logo
Logo

यसमा बहस गरौं- लेनिनले किन ‘जबज’ मान्नुभएन ?


झलनाथ खनाल


हामीले विद्रोह गरेर निर्माण गरेको पार्टीले करिब अढाइ वर्ष विताउन लागेको छ । यो अवधिमा हामीले प्राप्त गरेका अनुभवहरूलाई सारसंकलन गर्दै आजको समग्र राष्ट्रिय÷अन्तर्राष्ट्रिय विश्लेषणको साथमा हामी राष्ट्रिय महाधिवेशनतर्फ जाँदै छौँ । प्रचारका कामहरू, संघर्षका कामहरू र संगठनका कामहरूलाई महाधिवेशन केन्द्रित गरेर अगाडि बढाउनुपर्ने आवश्यकता छ ।

महाधिवेशनबाट हामीले हाम्रो पार्टीलाई हर हिसावबाट रुपान्तरण गर्नुपर्ने छ । बैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनात्मक रुपमा रुपान्तरण गरेर अघि बढ्दा मात्रै हामीले गरेको विद्रोहको औचित्य पुष्टि हुन्छ । अझ कार्यशैली र कार्यपद्धतिहरूमा त हामीले अझै धेरै रुपान्तरण गर्नुपर्नेछ । त्यसो गरेर मात्रै हामी साँचो अर्थमा एउटा क्रान्तिकारी पार्टी निर्माण गर्न सक्छौँ । एउटा माक्र्सवादी, लेनिनवादी पार्टी निर्माण गर्न सक्छौँ ।

जनआधारित पार्टी बनाउन सक्छौँ । वर्गदृष्टिकोणले युक्त भएको पार्टी बनाउन सक्छौँ । नेपालको समाजवादी क्रान्तिलाई हाक्ने पार्टी चानचुने पार्टी हुँदैन । अरु जति पनि कम्युनिष्ट पार्टीहरू छन् । ती नामका कम्युनिष्ट पार्टी भए पनि समाजवादी क्रान्ति हाँक्ने पार्टी अहिले पनि बन्न सकेको छैन । त्यस्तो पार्टी बनाउने जिम्मा आज हाम्रो पार्टीको काँधमा आएको छ ।

जनताको बहुदलीय जनवाद (जबज)को रक्षा गर्ने कुरा हामीले गर्यौँ भने, जनवादी क्रान्तिमा हामीले तीन–चार वटा कार्यक्रम अगाडि सार्यौ । पहिला क. पुष्पलालले ००८ सालमा अगाडि सार्नुभएको कार्यक्रम–नयाँ जनवादी कार्यक्रम थियो ।

०१९ सालमा क. तुल्सीलालले राष्ट्रिय जनवादको कार्यक्रम अगाडि सार्नुभयो । त्यसपछि फेरि हामीले नयाँ जनवादी कार्यक्रम नै अगाडि सार्यौ । कसैकसैले यसलाई जनताको जनवादी कार्यक्रम पनि भने ।

पछिल्लो अवधिमा हामीले जनताको बहुदलीय जनवाद भन्यौँ । यी जनवादी क्रान्तिका कार्यक्रमहरू हुन् । यदि, औचित्य छ भने यी सबैको रक्षा गर्नुपर्छ । होइन भने, ती कार्यक्रमहरू विगतको क्रान्तिको कार्यक्रमहरू हुन् । अब हामी सबै समाजवादी क्रान्तिको कार्यक्रमको पक्षमा उभिनुपर्छ ।

हिजो कुनै काम बाँकी, अधुरो छ भने त्यसलाई हामीले आजको कार्यक्रको अंग बनाएर जानुपर्छ । जस्तोः क. पुष्पलालले अगाडि सार्नुभएको नयाँ जनवादी कार्यक्रमले सामन्तवाद, दलाल नोकरशाह पूँजीवाद र साम्राज्यवादलाई प्रहार गरेको थियो । अहिले हामीले सामन्तवादलाई समाप्त गर्यौँ । तर, दलाल नोकरशाह पूँजीवाद र साम्राज्यवादलाई समाप्त गरेका छैनौँ ।

त्यसकारण यो कार्यक्रम सकिएको छैन, पुष्पलालले अगाडि सार्नुभएको नयाँ जनवादको कार्यक्रमलाई नै हामीले अगाडि बढाउनुपर्छ वा त्यसको उपादेयता अझै छ भन्न मिल्छ त ? मिल्दैन । किनभने, हामी क्रान्तिको नयाँ चरणमा आइसक्यौँ । हो, त्यो दलाल नोकरशाह पुँजीवाद र साम्राज्यवादलाई समाप्त गर्ने विषय अब हाम्रो समाजवादी कार्यक्रमका अभिन्न अंग हुन्छन ।

अबको समाजवादी कार्यक्रम
महाधिवेशनमा नेपाली विशेषताको समाजवादी कार्यक्रम प्रस्तुत गर्ने छौँ । नेपाली समाज, त्यसको विकासक्रम, नेपाली क्रान्तिको विकासक्रम, आजको अवस्था, यो समाजका स्वरुपहरू, समाजका वर्गीय संरचनाहरू, वर्गीय अन्तरविरोधहरू, प्रधान वर्गीय अन्तरविरोध, आधारभूत अन्तरविरोधहरू, प्रधान राजनीतिक अन्तरविरोध, हाम्रो प्रधान शत्रु अथवा प्रधान निशाना आदि जस्ता तमाम चिजहरूको बारेमा हामीले विश्लेषण गर्नुपर्ने हुन्छ । र, हिजोको कार्यक्रमले किन भएन अब ? किन हामीलाई नयाँ कार्यक्रम चाहियो ? समाजवादी कार्यक्रम के कारणले चाहियो ? हामीले यसको औचित्य पुष्टि गर्नुपर्छ ।

अबको राज्य व्यवस्था कस्तो हुनेछ ? उद्योग प्रणाली कस्तो हुनेछ ? कृषि प्रणाली कस्तो हुनेछ ? शिक्षा प्रणाली कस्तो हुनेछ ? स्वास्थ्य प्रणाली कस्तो हुनेछ ? पर्यटन प्रणाली कस्तो हुनेछ ? यातायात प्रणाली कस्तो हुनेछ ? सञ्चार प्रणाली कस्तो हुनेछ ? आदि इत्यादि श्रृंखलावद्ध चिजहरूको हामीले ठोस विश्लेषण गनुपर्छ । यसो गरेपछि मात्रै यो देशमा भएका विकार, विकृतिहरू समाप्त हुन्छन ।

शोषण, अन्याय, अत्याचार समाप्त हुन्छन । वर्गीय शोषण समाप्त हुन्छ र समाजवादी मुलुक बन्छ भन्ने कुरा हामीले आम जनताको बीचमा लिएर जान सक्नुपर्छ । तबमात्रै नयाँ आत्मविश्वास जागृत हुन थाल्छ । र, हामी समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्छौँ । समाजवादसम्बन्धी जनमत निर्माण गर्ने स्थिति बन्छ ।

कम्युनिष्ट आन्दोलन पुनर्गठन गर्न
राजनीतिक प्रतिवेदनले राष्ट्रिय÷अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्छ । देशको वर्तमान परिस्थितिको विश्लेषणमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अवस्था कस्तो छ ? कस्ता राजनीतिक शक्तिहरू यहाँ छन् ? तिनीहरूको वर्गीय चरित्र के छ ? उनीहरूको के उद्देश्य लिएर हिडिरहेका छन् ? जस्ता विषयका साथै हाम्रो चाहिँ कुरा के हो ? यो कुराको विश्लेषण गर्दै आजका हाम्रा कामहरूको बारेमा बताउनुपर्छ ।

संगठनात्मक प्रस्तावमा हामी सैद्धान्तिक औचित्यहरू, नीतिगत औचित्यहरूमा व्याख्या विश्लेषण गर्ने छौँ । अबको जनवाद र केन्द्रीयता यस्तो हुन्छ भन्ने स्पष्ट किटानी विधानमै गर्नुपर्छ । हाम्रा वैचारिक, राजनीतिक र संगठनात्मक कार्यदिशामाथि आधारित भएर हाम्रो विधान बन्छ ।

पहिला विधान बनाउने अनि कार्यदिशा तय गर्ने कुरा गर्यौँ भने उल्टो हुन्छ । त्यसकारण वैचारिक, राजनीतिक र संगठनात्मक कार्यदिशाका आधारमा कस्तो पार्टी बनाउन गइरहेको छौँ, त्यसआधारमा विधानको संरचना बन्छ ।

देश ठूलो संकटमा छ
अहिले हाम्रो देश ठूलो संकटमा छ । राजनीतिक रुपमा हेर्नुभयो भने दिशाहीन अवस्था छ । हामी आफै सानो पार्टी छौँ । अगाडि बढ्न कोसिस गर्दै छौँ । कम्युनिष्ट आन्दोलनका अन्य घटकहरू अधिकांश दक्षिणपन्थी अवसरवादको बाटोमा छन् । हामीलाई पनि त्यसको बाछिटाले छुने गरेको छ । त्यसकारण एउटा क्रान्तिकारी दिशा नलिइकन कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्न सकिदैन ।

अर्कोतर्फ, साम्राज्यवादीहरू खासगरी अमेरिकी साम्राज्यवाद र भारतीय प्रभुत्ववाद हाम्रो देशलाई हर प्रकारले नियन्त्रण लिन, यहाँको कम्युनिष्ट आन्दोलनलाई तहसनहस बनाउन र यो देशलाई चीनविरोधी अखडामा रुपान्तरित गर्न टुपीदेखि पाइतालासम्मको बल लगाएर हिडिरहेका छन् । बीआरआईसँग एउटा सम्झौता गर्नसमेत दिँदैनन् । हाम्रो देशको प्रधानमन्त्री बेइजिङ जान्छन । तर, एउटा सम्झौता गरेर आउन सक्दैनन् । किनभने, घुच्चुकमा समात्ने कोही शक्ति छ, त्यसकारण उनले आँट गर्नै सक्दैनन् । यसरी साम्राज्यवादीहरूले देशलाई नियन्त्रणमा लिन खोजिरहेका छन् । साम्राज्यवादीहरूका लागि यहाँ सबैभन्दा ठूलो अवरोध यो देशको कम्युनिष्ट आन्दोलन थियो । कम्युनिष्टको संसदमा झण्डै दुई तिहाई बहुमत थियो । १० लाख पार्टी सदस्य थिए । देशको सबैभन्दा ठूलो पार्टी थियो । ६ वटा प्रदेशका बहुमतको सरकार थियो । पालिकाहरूमा ६० प्रतिशत कम्युनिष्टको सत्ता थियो । हामी फेरि त्यो स्थितिमा फर्किन सक्छौँ कि सक्दैनौँ ? दुई तिहाईको कम्युनिष्ट आन्दोलनलाई तहसनहस गर्ने काम भयो । यो केपी ओलीकै कुबुद्धिको कारणले मात्रै हो कि अरु केही कारण पनि छन् ? यसको भित्री कारण मात्रै छ कि बाहिरी कारण पनि छ ? त्यसका हाम्रो के कति कमजोरी छन् ? सबैले सोच्नुपर्ने स्थिति छ । राम्रो ढंगले समीक्षा गर्नुपर्ने आवश्यकता छ ।

अहिले उभिएर हेर्दा साम्रज्यवादीहरूको पहड लगातार बढ्दै गइरहेको देख्दै छौँ । दक्षिणपन्थीहरूको शक्ति लगातार बढ्दै गइरहेको देख्दै छौँ । हाम्रो मद्धतले उनीहरूको शक्ति बढिरहेको छ ।

आफ्नै खुट्टामा उभिऔँ
अघिल्लो चुनावमा प्रत्येक्षमा कांग्रेसले २३ सिट ल्याएको थियो । अहिले कति पुगेको छ ? अब आउने चुनावमा कांग्रेस हामी एकल लड्छौँ भन्दै छ । तर, हामीलाई झुक्याउन उनीहरूका नेता के भन्दैछन्– गठबन्धन कायम रहन्छ । हामीलाई गठबन्धनबाट लोभ्याइदिने अनि आगामी चुनावमा के गर्छन भन्ने स्थानीय, प्रदेश, प्रतिनिधि सभा र राष्ट्रिय सभाको चुनावले देखाइसकेको छ ।

राष्ट्रिय सभामा हामीलाई जम्मा दुई सिट दिने काम भयो । हामी त्यसैमा मख्ख पर्ने हो र ? हाम्रो कारणले यो गठबन्धन बनेको थियो । हाम्रो सहयोग नभएको भए, हाम्रो योगदान नभएको भए यो गठबन्धन बन्दैन थियो । त्यसको मूल्य खोइ त ? खोलामा बगाइयो । अब कसैले दिनेवाला छैन । बुद्धले भन्छन–तिमी कसैको भर नपर । यदि, भर पर्छौँ भने आफैमाथि भर पर । सही र गलत आफै छुट्याउ । अरुले छुट्याइदिदैनन् । हामीले सही र गलत आफै छुट्याएर काम गर्न सक्नुपर्छ । अनि मात्रै हामी अग्रगतितर्फ जान्छौँ ।

त्यसकारण हामीले आजको अवस्थामा आफुलाई दह्रो बनाउन सकेनौँ भने हामी आफै पनि सिद्धिन्छौँ । कम्युनिष्ट आन्दोलन त प्रक्रियावाद र अवसरवादले सिध्याउछ । अवसरवादलाई ठिक ढंगले प्रहार गर्न सकेनौँ र आफैभित्रको कमजोरीलाई पनि सच्याउन सकेनौँ भने हामीले पनि सिद्धिनुपर्ने हुन्छ ।

ब्यापक बहस गरौँ
सबैभन्दा पहिला हामीले आगामी महाधिवेशनलाई हरप्रकारले सफल महाधिवेशनको रुपमा सम्पन्न गर्न सक्नुपर्छ । कहिले जबज पनि भन्ने, कहिले समाजवाद पनि भन्ने हो भने कता जाने ? हामी अलमलमा पर्छौँ । जबज नै भन्ने हो भने त एमाले छ । हामीले जबज भन्यौँ भने, हामीले भनेको भन्दा केपी ओलीले भनेको बढ्ता सुन्छन । हामी क्लियर हुुनुपर्छ–कता जाने ? समाजवादको बाटोमा जाने हो भने समाजवाद र पूँजीवादको भिन्नता के हो ? यो बारेमा शिरदेखि तिरसम्म छ्याङ्ग हुुनुपर्छ । अनि मात्र हामी समाजवादको बाटोमा जान्छौँ । पूँजीवाद र समाजवादमा आधारभूत मात्रै होइन, गुणात्मक भिन्नता छ । यो भिन्नताबारे हाम्रो पंक्तिमा अहिले पनि प्रष्टता छैन । यो प्रष्ट पार्न व्यापक बहस, व्यापक अध्ययन जरुरी छ ।

बहुदलीय जनवाद त रुसमा पनि थियो । लेनिनले किन जबज मान्नुभएन ? यसमा बहस गरौँ । हामीले कोही कमरेडका विरुद्ध बोल्ने कुरा होइन यो । हामीले सैद्धान्तिक, वैचारिक, राजनीतिक समझलाई उन्नत बनाउनका लागि यी कामहरू गर्ने हो । अनि मात्रै संगठनले बेग्लै खालको लहर लिएर अगाडि बढ्न सक्छ ।

अनि वामपन्थी एकता
हामीले आगामी क्रान्तिको बाटो छर्लङ्ग देखाउनुपर्छ । हाम्रा लक्ष्यहरूलाई क्लियर गर्नुपर्छ । त्यसो भयो भने हामी नयाँ ढंगले अगाडि बढ्न सक्छौँ । हाम्रो पार्टीले ठिक दिशा लिन सक्दा मात्रै अरु वामपन्थीहरूलाई पनि एकतावद्ध गर्न सक्छौँ । वामपन्थी एकता किन नगर्ने भनेर भन्न सक्छौँ । तर, त्यसका लागि हामीसँग हक कतिबेला हुन्छ भने, क्रान्तिको सिंगो श्रृंखला हामीसँग हुनुपर्छ ।

पूँजीवादी, दक्षिणपन्थीसँग गठबन्धन गर्नुभन्दा वामपन्थीहरू बीचमा गठबन्धन गर्ने कुरा यो यो कारणले सही छ । किन आउँदैनौँ तिमीहरू भन्न सकिन्छ । अनि मात्रै वास्तविक रुपमा वामपन्थीहरूको बीचमा एकता कायम हुन्छ । वामपन्थी एकता गरौँ, गरौँ भनेर मात्रै हुँदैन । वामपन्थी एकता गर्ने ठोस नीति, सिद्धान्त र कार्यदिशा हामीले अगाडि सार्नुपर्छ ।

जनताको आक्रोश
हुँदाहुँदा पुनरुत्थानवादीहरू सल्बलाउन थाले । उनीहरू शक्तिशाली भएर हो ? होइन । केपी ओलीसँग प्रधानमन्त्री हुँदा कत्रो शक्ति थियो ? तर, जनताका मुद्धा केही पनि संबोधन भएनन् । न भूमिसुधार गरियो, न कृषि क्रान्ति गरियो । न राष्ट्रिय औद्योगिकीकरण गरियो । न शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन गरियो, न गरिबी उन्मुलन गरियो । न राष्ट्रियतालाई सुदृढिकरण गरियो । जनताको पक्षमा केही पनि काम भएनन् । उल्टै दुई तिहाई बहुमत भएको संसद विघटन गरियो । जनता निराश भए ।

त्यसपछि गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवाको सरकार आयो । त्यो सरकारले गर्दा कि भनेको झनै गरेन । जनता निराशाबाट आक्रोशित हुन थाले । निर्वाचनपछि वामपन्थी पार्टीकै नेताको नेतृत्वमा सरकार बन्यो । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको पनि एक वर्ष भयो । अब त एउटा दुतावासबाट २० करोड सोझै खर्च गर्न पो दिन थाले । नेपालको सार्वभौमसत्ता कहाँ गयो ? सरकारले जनताका समस्या सम्बोधन होला भनेको त राष्ट्रघाती सम्झौता पो गर्न थाल्यो । यो कारणले अहिले जनता असन्तुष्ट मात्रै होइन, आक्रोश बन्न थालेका छन् ।

वर्ग नभुलौँ
मिटरव्याजी पीडित ११ दिन हिडेर तराईबाट माइतीघरमा आन्दोलन गर्न आए । खोइ कम्युनिष्ट पार्टी त्यहाँ ? तपाईँ हामी त्यो वर्गको पार्टी हो कि होइन ? तर, हामी सत्ताधारी पार्टी भयौँ । सत्ताधारी पार्टी त त्यसरी जान मिलेन । यी सारा चीजमा कम्युनिष्ट आन्दोलनका भयानक गल्तीहरू छन् । यी गल्तीहरूलाई सच्याएर हामी अगाडि बढ्न सक्नुपर्छ । पुनर्गठित, क्रान्तिकारी पार्टीको रुपमा हामीले यो पार्टीलाई उभ्याएर अगाडि बढ्दा मात्रै लक्ष्य प्राप्त गर्न सकिन्छ ।

(माघ १४ र १५ गते काठमाडौंमा बसेको नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय परिषद्को दोस्रो बैठकमा सम्मानित नेता झलनाथ खनालले गरेको सम्बोधनको सम्पादित अंश ।)

प्रतिक्रिया दिनुहोस्