Logo
Logo

एक असल मान्छेको मृत्युपछि…



मान्छेको जीवनयात्रा आफूसँग भएको एक चिम्टी सास भएसम्म मात्र त हो ! कतिबेला त्यो सास आफूबाट छुट्छ कसलाई पो थाहा हुन्छ र ? डाक्टर वैद्यहरुले समेत सबै बिरामीको आयु ठ्याक्कै यति नै छ भनेर सधैँ भन्न सक्दैनन् ।

यसपालिको जाडोले धेरैजसो बिरामीलाई लिएर गयो । पुराना बिरामीलाई मात्र हैन, बिरामी नै नपरेकालाई समेत लग्यो । कतिलाई अप्रत्यासित दुर्घटनाहरूले पनि लगे । यसरी गएकाहरूमध्ये कोही भने नजिकबाट चिनेका र ज्यादै असल मान्छेहरु पनि थिए । यस्ता असल मानिसहरूको मृत्युको खबरले मनमा पीडा हुनु स्वाभाविक हो । एकजना पुराना मित्र– भूमिगतकालका एक असल कमरेडको मृत्युको खबर सुन्नुपर्दा भने अझै विशेष दुःख लाग्यो ।

उनको देहावसानभन्दा दुई हप्तामात्र अघि पाटन अस्पतालमा उनलाई भेट्न गएका थिए सरोज । रक्सी–चुरोट आदि कुनै पनि दुव्र्यसन नभएका ती ज्यादै असल मानिसको केही दशकदेखि नै मिर्गौलाको समस्या भएको हामीलाई थाहा थियो । अटोइम्युन डिजिजले केही समययता कलेजोलाई पनि असर गरेको रहेछ । हामीले निकै पछि मात्र थाहा पायौँ । मृत्यु भयबाट मुक्तजस्ता लाग्ने उनी मृत्युको कुरालाई उडाएरै कुरा गर्थे हामीले भेटेको बेला । तर पाटन अस्पतालमै भेट्न गएको बेला भने जिजीविषा फेरि प्रबल भएर आएको जस्तो थियो अरे ।

जीवनशैली अत्यन्त सरल भएका, जुझारू, स्पष्ट वक्ता, सहयोगी, इमानदार… उनीजस्ता थिए, त्यस्ता मान्छे हाम्रो समाजमा कमै भेटिन्छन् । त्यस्ता मानिसहरू धेरै हुने हो भने समाज कति असल हुन्थ्यो होला ! त्यस्ता थिए हाम्रा मित्र दामोदर उपाध्याय ।

भारतको नाम चलेकै अस्पतालमा पुर्याउनेबित्तिकै नै अझै जटिलता थपिएपछि फर्केर स्वदेशमै देह छोडे दामोदरले । सुनेपछि दुःखित हुँदै आर्यघाटमा पुग्यौँ हामी दुवैजना । धेरै पुराना मित्रहरुसँग भेट भयो । त्यो दिन आर्यघाटमा अन्त्येष्टि कुरिरहेका मृत शरीरहरूको लामै लस्कर थियो । हाम्रो एकजना परिचित र प्रिय मान्छेको मलामी जाँदा अनगिन्ती अपरिचित मानिसहरूको अन्तिम संसकार भइरहेको दृश्यले मन अझै भारी भयो । र त्यो सँगै अनित्यता बोध पनि भयो । जाने बाटो त सबैको त्यही नै हो । एकदिन त आफ्नै पनि पालो आउँछ !

त्यहाँ बसुञ्जेल दामोदरका गुनहरु सम्झिरहेँ । भूमिगत कालका सम्झना पुस्तकका पाना पल्टाएझैँ फैरि एकपछि अर्को गर्दै सम्झिन थालेँ । हाम्रो ‘भूमिगत’ बिहेपछि घर न घाटका भएका थियौँ । काठमाडौँ नरदेवीको एउटा गल्लीभित्र एउटा साँघुरो कोठामा डेरामा बस्थ्यौँ । सँगै अर्को एउटा कोठामा त्यो बेलाका विद्यार्थी कार्यकर्ता र नेताहरु बस्थे । कहिले भूमिगत नेताहरु पनि आएर बस्ने घर थियो त्यो । माथि घरपट्टीहरु बस्थे । तल्लो तल्ला बहालमा बस्नेहरुलाई दिएका थिए ।

त्योबेला पार्टीको कुनै अफिस भवन हुने कुरा थिएन । पार्टीका बैठकहरु बस्ने ‘सेल्टर’हरूमध्ये एउटा सुरक्षित घर त्यो पनि थियो । त्यही घरमा दामोदर उपाध्याय, उनका भाइ दीना र टीका, सुरेन्द्र पाण्डेलगायत साथीहरुसँग मिलेर बस्थ्यौँ । त्यही डेरामा मलाई छोडेर सरोज भूमिगत संगठक भएर गएका थिए । म दुई जिउकी भइसकेकी थिएँ ।

म एक्लै भएर पनि तर एक्लै थिइन । ती विद्यार्थी मित्रहरुसँग अत्यन्त ककति गाढा सम्बन्ध थियो । त्यति आत्मीय सम्बन्ध त परिवारसँग पनि हुन गाह्रो हुन्थ्यो । एकजना ‘भाउजु कामरेड’को रुपमा मेरो स्वास्थ्यको समेत ख्याल राख्ने ज्यादै असल ‘देवर कामरेड’हरु पाएकी थिएँ । कहिले एक्लै पकाएर खान्थेँ । गाह्रो हुँदा तीनै मित्रहरुसँग मेशमा खान्थें । त्यसबेला का कति बिर्सि नसक्नु कुरा त यही स्तम्भमा पनि लेखिसकेकी छु ।

सुत्केरी हुनुअघि केही समयसम्म त एउटै खाटमा दुईजना दुईजीउका साथी– सुशीला श्रेष्ठ र म एउटै खाटमा पनि सुत्यौँ । सुशीला पनि भूमिगत कार्यकर्ता थिइन् । हामी दुवैलाई आवश्यक रेखदेख वास्ता पुर्याउने आत्मीय कामरेड थिए दामोदर । उनको भूमिगत नाम थियो चिन्तामणि, छोटकरीमा ‘सिएनटी’ भन्थे सबै साथीले ।

मेरो पहिलो सन्तान जन्मिएको बेला त्यो डेरा सुशीलालाई छोडेर अर्कै मित्रको डेरामा सरेकी थिएँ । म सुत्केरी हुनु अघि भूमिगत रुपमै मलाई भेट्न काठमाडौँ आएका थिए, केही समयको निम्ति सरोज । सरोजलाई बस्न सजिलो होस् र सुशीलालाई पनि बस्न सजिलो होस् भनेर मैले ठाउँ फेर्नुपरेको थियो । सुत्केरी हुँदा सात दिन हस्पिटलमा बसेँ ।

त्यसपछि भीमसेन थानको एउटा गल्लीभित्र अर्को कामरेडको डेरामा एउटा छुट्टै कोठा मिलाइएको थियो हाम्रो निम्ति । अस्पतालमा साथी जान जमुना आइदिएकी थिइन् । रातभरि व्यथा लागेर भोलिपल्ट ९ बजेतिर मात्र पहिलो सन्तान छोरीको रुपमा मैले पाएँ । छोरी पाएकोमा खुसी हुनेमध्येकै एक आमा बनेकी थिएँ ।

सुत्केरी हुनु भनेको विशेष हेरविचार चाहिने अवस्था हो । तर परिवारबाट टाढा साथीहरुकै भरमा सबै कुरा भैरहेको थियो । अर्का मित्र दामोदर सापकोटाकी बहिनी कलाले खाना बनाएर खुवाउने गरेको कुरा पनि कहिल्यै बिर्सिनै सक्तिन ।

घाटमा बसिरहेको बेला मित्रहरूका गुनहरु सम्झँदा सम्झँदै केही रमाइला कुराहरुको पनि याद आयो । छोरीको न्वारान गर्ने दिन थियो । अर्काको घरमा थियौँ हामी । न्वारानको दिन ‘चोख्याउने’ कुनै काम गर्छन् कि गर्दैनन् भनेर घरबेटीहरू चनाखा थिए । कुनै पण्डितलाई बोलाउने अवस्था र परिस्थिति पनि थिएन । दामोदर उपाध्यायले नै “हाम्रा मित्रका बा पुरोहित नै हुनुहुन्थ्यो । मलाई थाहा छ के गर्नु पर्छ…” भने । अनि बिहान शुद्धी गरेको नाटक गर्दै सुत्केरी चोख्याएको विश्वास दिलाइयो घरबेटीलाई । हतार हतारमा सिउने धागोलाई नै बेसार दलेर पहेँलो बनाइयो, कालो टीकाको निम्ति कागज बालेर खरानी र तेल मिसाइयो, मन्त्रोच्चारण गरेझैँ गरी ध्वनि उच्चारण गरिरहे ‘पण्डित’ बनेका दामोदरले । साँच्चैको ‘न्वारान’ अर्थात् बच्चाको नाम राख्ने काम भने त्यो दिन बेलुका मात्र भयो । काठमाडौँमा रहेका त्यो बेलाका पार्टीका ठूला नेता र त्यो सुरक्षित भूमिगत स्थितिमा उपस्थित हुनसक्ने मित्रहरूलाई निम्तो दिएका थिए हाम्रा अभिभावक बनेका साथीहरुले नै ।

एकदमै रोचक ढङ्गले नाम राख्ने काम भएको थियो । उपस्थित हरेकले ए–एउटा नाम प्रस्ताव गरेर त्यसमा फेरी सबैले भोटिङ गर्दा दुई अन्तर्राष्ट्रिय वीराङ्गनाहरुको नामले जीते । ती दुवैको नाम जोडेर छोरीको नाम राखियो ।

दामोदर त्यो बेला हाम्रो अभिभावक थिए, मित्र थिए, जस्तै अप्ठेरोमा पनि हाँस्न सक्ने हँसाउन सक्ने विनोदी सहयात्री थिए । भावपूर्ण श्रद्धाञ्जली मित्र ! तपाईँ सधैँ हामीसँगै हुनुहुन्छ !

प्रतिक्रिया दिनुहोस्