Logo
Logo

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ४२ करोड बढी


441
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा उल्लेखनीय प्रगति गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफामा १२ दशलमव ९० प्रतिशतको वृद्धि भएको छ ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको दोस्रो त्रैमासिक अवधिसम्ममा कुल बिमा शुल्क आर्जन रु. २,०००.०६ करोड रहेको छ । जुन गत वर्षको सोही अवधिमा प्राप्त कुल बिमा शुल्क रु. १,८६२.७२ करोडको तुलनामा ७.३७ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले समीक्षा अवधिमा रु. ३ अर्ब १६ करोड प्रथम बिमा शुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ दशलमव ६९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ अर्व ६४ करोड रुपैयाँ प्रथम बिमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीका अनुसार नवीकरण बिमा शुल्क १६ अर्ब ८३ करोड रहेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ दशलमव ३८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १५ अर्ब ९७ करोड रुपैयाँ नवीकरण बिमा शुल्क आर्जन गरेका थियो ।

कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्ममा रु. ६८२.०५ करोड खुद दाबीभुक्तानी गरेको छ । कम्पनीले छिटो र छरितो तरिकाले बिमितहरूको दाबीभुक्तानी गर्ने नीति अवलम्बन गरेको जनाएको छ । कम्पनीले नेपाल बिमा प्राधिकरणले जारी गरेको लगानी निर्देशिकाबमोजिम सुरक्षित क्षेत्रमा लगानी गर्दै दोस्रो त्रैमासिक अवधिसम्ममा रु. १८,६१०.२१ करोड भरपर्दाे एवं सुरक्षित क्षेत्रमा लगानी गरेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा करिब १५० अर्ब ८६ करोड रुपैयाँ रहेको जीवन बिमा कोष २१ दशलमव ७४ प्रतिशतले वृद्धि भई करिब १८३ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको महाविपत्ति कोषमा १ अर्व ४ करोड रुपैयाँ सञ्चिति छ । त्यसैगरी, कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब ३ करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी १७ करोड रुपैयाँ रहेको छ ।

८ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १० दशलमव ४२ रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १२८ दशलमव ०१ रुपैयाँ, मूल्य अनुपात आम्दानी ६२ दशलमव ८६ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २,४०१ रुपैयाँ र औसत प्रतिफल दर १० दशलमव ०२ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्