Logo
Logo

बलम्बुका सहायक हवल्दार मृत्युबारे अध्ययन गर्न बन्यो समिति



काठमाडौं । ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको भ्यानबाट लडेर प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको प्रकरणमा उपत्यका प्रहरी कार्यालयले छानबिन थालेको छ ।

उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा समिति गठन गरेका हुन् । समितिमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट एसपी मिलन केसी र जिल्ला प्रहरी परिसर, काठमाडौंबाट डीएसपी सदस्य छन् ।

गएराति ११ः१५ बजे ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको बा १ झ ७४१८ नम्बरको गाडीबाट लडेर हेमराज एलजीको मृत्यु भएको थियो । घटना भएलगत्तै नजिकै रहेको मिड पोइन्ट अस्पतालमा लगिएको थियो । लगत्तै बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल लगिएपनि चिकित्सकहरुले मृत घोषित गरेका थिए ।

अहिले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । ‘यो पूर्णतः दुर्घटना हो, तर ड्यूटीबाट फर्किँदा केही विषयहरुमा लापरबाही भएको हुनसक्ने देखिएका छन्’, एआईजी थापाले भने, ‘भविष्यमा पनि यस्ता कसरी हुन नदिने भनेर सिफारिस गर्नेसम्मको जिम्मेवारी दिएर छानबिन समिति बनाएका छौं ।’

प्रहरीका अनुसार, सतुंगल नजिकै कोठामा जाँदा ओर्लिने बेला पछाडिबाट सडकमा खस्दा मृत्यु भएको प्रारम्भिक जाँचमा देखिएको छ । भ्यानका चालक सहायक हवल्दार रामप्रसाद यादवलाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्