Logo
Logo

भिजिट भिषाको कनेक्सन दुबईदेखि रुससम्म



काठमाडौं । त्रिभुवन विमानस्थलबाट भिजिट भिसाका नाममा हुने मानव तस्करीमा खाडी मुलुक मात्र होइन रुस युद्धमा समेत नेपलालाई फसाइएको पाइएको छ । अध्यागमनमा दलालहरुकै सेटिङकै माध्यमबाट दुबई हुँदै रुस पुर्याइएको त्यहाँ युद्धमा फसाइएकोबारे त्यहाँबाट फर्केर आएकाले पनि पुष्टि गरेका छन् ।

विमानस्थलबाट भिजिट भिषाको नाममा मानव तस्करीमा संलग्नविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै गर्दा थप तथ्यहरुमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । गत कात्तिक १४ गते विभिन्न एयरलाइन्सबाट पर्यटक भिसामा विभिन्न देश जान लागेका यात्रुहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा चेकजाँच गर्दा उनीहरुको हवाई यात्रा अनुमति लगायतका कागजात शंकास्पद देखिएपछि प्रहरीको ध्यान तानिएको थियो ।

त्यसपछि प्रहरीले सम्बन्धित एयरलाइन्सका कर्मचारीसँग सोधपुछ गरेको थियो । एयरलाइन्सले समेत कागजातहरु पूरा नभएको भनेपछि उनीहरूका राहदानी लगायतका कागजात प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि विमानस्थल सुरक्षा प्रहरीले यी कागजात उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाएको थियो ।

अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गर्ने क्रममा कुवेत जान लागेका महिलाहरुबाट बरामद भएका कागजात नक्कली भएको पुष्टि भएको थियो । नक्कली श्रम स्वीकृति बनाइदिने गीता साहसहितलाई प्रहरीले सुरुमा पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

मंसिर १७ गते पक्राउ परेका उनीहरुले नक्कली प्रहरी रिपोर्ट, श्रम स्वीकृतिलगायत तयार गरेर ट्राभल्सका कर्मचारीले सेटिङ मिलाउने गरेको खुलेको थियो । त्यसपछि प्रहरीले लगातार अनुसन्धान गरेर टुंगोमा पुर्याई जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ९ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिसकेको छ । मुद्दा दर्ता गरिसक्दा रुसबाट फर्केर आएका नेपालीहरुले आफूहरु भिजिट भिषामा दुबई गएको र त्यहाँबाट दलालहरुले रुस पुर्याइएको बताइसकेका छन् । प्रहरीको ध्यान यसतर्फ पनि गएको जनाएको छ । प्रहरीले भिजिट भिषाको नाममा आर्जन भएको सम्पत्तिमाथि पनि छानवीन गर्न सिफारिस गरेको थियो । सोही अनुसार प्रकृया समेत अघि बढेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रवक्तासमेत रहेका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले बिहीबार लिखत कीर्ते र संगठित अपराधमा मुद्दा दर्ता गराएका बताएका छन् । जिल्ला न्यायाधिवक्ता अर्यालले पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्काको सम्पत्ति लगायतमा थप छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लेखि पठाउने निर्णयसमेत भएको बताए ।

जिल्ला प्रहरी परिसर, काठमाडौँले भिजिट भिसा प्रकरणमा संलग्न रहेकामध्ये २२ जनालाई प्रतिवादी बनाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पेस गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँले दिएको रायसहितको प्रतिवेदनमा त्रिभुवन विमानस्थलमा कार्यरत अध्यागमन अधिकृतहरू नरवीर खड्का, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकाश डंगोल, पिताम्बर रिमाल र पहिले अध्यागमन कार्यालयमा कार्यरत रही हाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना तथा समन्वय शाखामा कार्यरत शाखा अधिकृत तारा बहादुर कुँवरलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न प्रतिवेदन दिएको थियो ।

सेटिङमा भिजिट भिसामार्फत मान्छे पठाएबापत २ लाख रुपैयाँ बुझिसकेको अवस्थामा अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरिएको भए पनि अन्य अध्यागमन अधिकृतहरू भने सबै फरार नै रहेका छन् । नरवीर खड्काकै बयानका आधारमा अन्य अध्यागमन अधिकृतहरूले समेत भिजिट भिसाको सेटिङ गरी कमिसन लिने गरेको पाइएपछि उनीहरुविरुद्ध समेत मुद्दा दायर भएको हो ।

त्यसबाहेक भिजिट भिसामा सेटिङ गर्ने, नक्कली कागजात तयार पार्ने र आफ्नो नक्कली कागजात तयारी पारी विदेश जान खोज्ने मानिसहरु समेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न लागिएको हो ।

मुद्दा दायर भएका अन्य व्यक्तिहरूमा नक्कली कागजात तयार पार्ने र अध्यागमनमा सेटिङ मिलाउने चितवन खैरहनीकी गीता शाह र काठमाडौँ तीनकुनेका अरुण दाहाल, अध्यागमनमा सेटिङ मिलाउनेहरू मिर्चौया सिरहाका सरोजकुमार यादव, दोरम्बा ७, रामेछापका पदम लामा, पाँचखाल ५, काभ्रेपलाञ्चोकका मनोज तामाङ, चापाकोट नगरपालिका १, स्याङ्जाका रामप्रसाद भण्डारी, सत्यवती ७, गुल्मीका दिनेश ज्ञवाली, वालिङ ५, स्याङ्जाका रविन अर्याल, पथरी शनिश्चरे ७, मोरङका विनोद कार्की, धर्मदेवी नगरपालिका, संखुवासभा स्थायी ठेगाना भई हाल कामनपा ९ सिनामंगलस्थित होटल बाल्टिक ईन होटलका सञ्चालक ४२ वर्षीय आशिष भन्ने केदारबहादुर खड्का, सिमरा १५ बाराका कौशिला मगर, माहात्या दुधकोशी ४, सोलुखुम्बुकी लक्ष्मी राई र कमलामाई ५, सिन्धुलीकी रिता दमाइ रहेका छन् ।

प्रहरीको अनुसन्धानका क्रममा विभिन्न व्यक्तिहरूले संगठित समूह बनाई भिजिट भिसाका नाममा रकम लिएर मानव तस्करी गर्ने गरेको खुलेको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अध्यागमन अधिकृत नरवीर खड्काले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा दिएको भिडियो बयान तथा कागजमा आफूहरूले सामान्यतः दैनिक २० जना र कहिलेकाहीँ १ सयदेखि १५० जनासम्मलाई सेटिङमा पठाउने गरेको बयान दिएका छन् ।

यसरी सेटिङमा पठाउँदा पुरुष भए प्रतिव्यक्ति १० देखि १५ हजार रुपैयाँ र महिला भए प्रतिव्यक्ति ४० देखि ५० हजार रुपैयाँसम्म कमिसन पाउने गरेको बयान दिएका छन् । भिजिट भिसामा सेटिङमार्फत मान्छे पठाउनका लागि अध्यागमन कार्यालयमा अध्यागमन अधिकृतहरू रहेको सहजीकरण समिति रहेको र त्यही समितिले नै सेटिङमा पठाउने गरेको खुलेको छ ।

समितिमा अध्यागमन अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकाश डंगोल, पिताम्बर रिमालसमेत रहने गरेको बयान दिएका थिए । प्रतिवादीहरूलाई लिखत कीर्तेको कसुरमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना तथा संगठित अपराधमा लिखत कीर्ते कसुरको आधार सजाय गरी साढे १० वर्ष कैद सजाय र १ लाख ५ हजार जरिवानाको माग गरिएको छ ।

खड्काले एक करोड बुझे
नक्कली कागजात बनाएर भिजिट भिसामा सेटिङमार्फत् विभिन्न मुलुकमा मान्छे पठाउने काममा संलग्न रहेको आरोपमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्काले एउटै ट्राभल्सबाट १ करोड रुपैयाँ घुस बुझने गरेका थिए ।

प्रहरी अनुसन्धानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा कार्यरत खड्काले एउटै ट्राभल्सबाट १ करोड रुपैयाँ बुझेको भन्दै ट्राभल्सका कर्मचारीले बयान दिएका छन् । पक्राउ परेका हाल थुनामा रहेका खड्काले सिनामंगलमा रहेको निमा छिरिङ ट्राभल्सबाट मात्रै भिजिट भिसा सेटिङका लागि १ करोड रुपैयाँ बुझेको भन्दै उक्त ट्राभल्सका कर्मचारीले कागज गरिदिएका छन् ।

काभ्रेको पाँचखाल–३ का मनोज लामाले सञ्चालन गरेको निमा छिरिङ ट्राभल्समा उनकै साला नाता पर्ने पदम लामाले काम गर्थे । उक्त ट्राभल्सका कर्मचारी पदमले अध्यागमन अधिकृत नरवीरले मात्रै १ करोड रुपैयाँ बुझेको बताएका छन ।

‘हालसम्म अध्यागमन अधिकृत नरवीरको सेटिङमार्फत ३०० जनालाई विदेश पठाइएको छ । त्यसबापत नरवीरलाई सेटिङका लागि १ करोड बुझाइसकेका छौँ,’ पदमले बयानको क्रममा भनेका थिए ।

त्यसैगरी नरबीरले पुरुष र महिलाको छुट्टाछुट्टै दररेट तोकेर रकम लिने गरेको पनि पाइएको छ । ‘भिजिट भिसामा जाने व्यक्तिहरुको एयरपोर्टमा सेटिङ गरी मेरो भिनाजु मनोजले भनेअनुसार रकम दिने गरेको हो । अध्यागमन अधिकृत नरबीर खड्कालाई पुरुषका लागि प्रतिव्यक्ति १७ हजार र महिलाका लागि प्रतिव्यक्ति ५० हजारका दरले रकम दिने गरिएको थियो,’ उनले बयानमा भनेका छन् ।

नरबीरलाई मंसिर २६ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २ लाख रुपैयाँ घुस लिँदै गर्दा होटलबाटै पक्राउ गरेको थियो । उक्त रकम पनि निमा ट्राभल्सले नै दिएको थियो ।

‘मंसिर २६ गते दिउँसो होटल वाल्टिनको काउन्टरमा १ जना महिला स्टाफलाई नरबीर खड्कालाई २ लाख दिनु भनि छाडेको थिए, सोही रकम २ लाख घुस बुझ्दै गर्दा खड्का पक्राउ परेका हुन’, पदमले खुलाएका छन् ।

यतिमात्रै होइन नरबीर खड्का ट्राभल्समा आफैँ गएर रकम समेत उठाउने गर्थे । मंसिर ४ गते मात्रै उनले निमा ट्राभल्समा गएर त्यसका सञ्चालक मनोजसँग ३ लाख ५० हजार रुपैयाँ बुझेको समेत अनुसन्धानबाट खुलेको छ ।

पदमले बयानमा समेत भनेका छन्, ‘नरबीर खड्का सर कहिले हाम्रो अफिसमा आएर र कहिले होटलमा रकम बुझ्ने गुर्नुहुन्थ्यो ।’ अध्यागमन अधिकृत नरबीर खड्का पक्राउ परेपछि यसमा संलग्न अन्य कर्मचारीहरुको संलग्नता पनि खुलेको थियो ।

किरियापुत्री बसेकै बेला फरार
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ घर भएका ताराबहादुर कुँवर पछिल्लो समय गृहमन्त्रालयको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना तथा समन्वय शाखामा कार्यरत थिए ।

प्रहरी स्रोतका अुनसार उनको संलग्नता खुल्दा उनी बाबुको किरियामा बसेका थिए । किरियाको काम सकिएपछि पक्राउ गर्ने प्रहरीले बताए पनि उनी त्यसपछि फरार भए । अहिलेसम्म पनि फरार नै छन् ।

उनीसहित ८ जना अध्यागमनका कर्मचारीलाई फरार प्रतिवादी बनाएर मुद्दा चलाइएको छ । कुँवरले निमा ट्राभल्सबाट मात्रै १२० जनालाई सेटिङमा विदेश पठाएको खुलेको छ । कुँवरको सरुवा भएपछि उनैले चिनजान गराइदिएका नरवीरमार्फत काम हुने गरेको भन्दै पक्राउ परेकाहरुले बयान दिएका छन् ।

कुँवरसँगै अध्यागमन अधिकृतहरु कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो फरार छन् ।

सेटिङमा अघोषित समिति
भिजिट भिसाको सेटिङ मिलाउनका लागि समिति नै बनाएर काम हुने गरेको पाइएको छ । समिति बनाएर सेन्ट्रल कलेक्सन गरेर रकम बाँडफाँड गर्ने गरेको पाइएको छ ।

एक जनालाई अवैध तरिकाले भिजिट भिसामा बाहिर पठाए बापत ५० हजार रुपैयाँसम्म अध्यागमनका कर्मचारीहरुले लिने गरेका थिए । अध्यागमनका शाखा अधिकृत नरबीर खड्काकै संयोजकत्वमा विमानस्थलमा यात्रु सहजीकरण समिति थियो । उक्त कुरा खड्काले समेत स्वीकार गरेका छन् ।

‘भिजिट भिसामा सेटिङ मिलाउने एजेन्टहरुमार्फत लिने गरेको भनेको ठाउँहरमा लिने गरी उनीहरुले रकम उठाउँथे । उक्त भिसाको लागि सहजीकरणको लागि एउटा समिति बनेको हुन्छ । समितिमा कुशल बराल, शैलेन्द्र ढकाल, बिमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमालसमेत हुनुहुन्छ,’ उनले बयानमा भनेका छन् । यात्रु सहजीकरण समितिभन्दा पनि यो त उठ्ती–पुठ्ती समिति जस्तो देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्