
पोखरा । बागलुङ नगरपालिकाले पनि छाडा छाडिएका कुकुर व्यवस्थापन गर्न डग होस्टेल बनाउने भएको छ ।
छाडा कुकुर व्यवस्थापन गर्न अनेक उपाय लगाएको नगरपालिकाले सामुदायिक कुकुरको संख्या नघटेपछि डग होस्टेलको अवधारणा ल्याएको हो ।
पछिल्लो २ वर्षको अवधिमा मात्रै १५ सय जनाभन्दा बढी मान्छेलाई सामुदायिक कुकुरले टोकिसकेपछि यस्तो कदम चालिएको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताएका छन् । उनले कुकुरले लखेट्दा सवारी दुर्घटना भएर मान्छेको मृत्यु समेत भएको जनाए ।
चालु आर्थिक वर्षकोे नीति तथा कार्यक्रममै उल्लेख गरेर छाडा कुकुर व्यवस्थापन गर्न कुकुर होस्टल अवधारणा ल्याइएको मेयर श्रेष्ठले बताए । बागलुङ नगरपालिका वडा नं. १३, कालाखोलामा कुकुर होस्टल बनाउन एक करोड रुपैयाँ लाग्ने उनको भनाइ छ ।
कुकुर होस्टलका लागि चालु आर्थिक वर्षमा नगरपालिकाले ३५ लाख र गण्डकी प्रदेशले ६५ लाख रुपैयाँ विनियोजन गरेका छन् । मेयर श्रेष्ठका अनुसार अहिले पनि बागलुङ मुख्य बजार क्षेत्रमा करिब ५ सय वटा छाडा कुकुर छन् । ‘ती सबै छाडा कुकुरलाई भ्यासेक्टोमी गरिसकेका छौं । तर, संख्या बढ्न छोडेको देखिएन’, उनले भने, ‘घरपालुवाबाट जन्मेका कुकुरका बच्चा पनि सडकमै छोडिरहेका छन् । रोगी, बिरामी कुकुर पनि त्यसै छोड्ने गरेको पाइयो ।’














