Logo
Logo

अरुण चौधरीलाई छाड्ने न्यायाधीश आचार्य मुगु सरुवा



काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणका आरोपी व्यवसायी अरुणकुमार चौधरीसहित ३ जनालाई रिहा गर्न आदेश दिने न्यायाधीश यज्ञप्रसाद आचार्य कारबाहीमा परेका छन् ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले काठमाडौं जिल्ला अदालतका न्यायाधीश आचार्यलाई कारबाही स्वरुप दुर्गम जिल्ला मुगु काजमा सरुवा गरेकाे सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा योजनाबद्ध रुपमा निजी स्वामित्वमा ल्याएको विषयमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गत बिहीबार (माघ १८ गते) चौधरीसहितलाई पक्राउ गरेको थियो ।

सीआईबीले सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी, तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो ।

पक्राउ परेपछि ३ जनामाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले प्रथमपटक ४ दिनको म्याद थप गरेको थियो । ४ दिनको म्याद सकिएपछि सीआईबीले उनीहरुलाई पुनः म्याद थपका लागि माघ २२ गते, सोमबार अदालतमा उपस्थित गराएको थियो ।

जिल्ला न्यायाधीश आचार्यको इजलासले व्यवसायी चौधरीसहित संजय ठाकुर र अजितनारायण सिंह थापालाई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्न भनी प्रहरीका नाममा आदेश दिएको थियो ।

अदालतको आदेशानुसार चौधरी माघ २४ गते रिहा भएका थिए । यद्यपि सीआईबीले चौधरीसहित ३ जना विरुद्धको अनुसन्धान भने जारी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्