Logo
Logo

उपचार गर्दा मान्छे मारेकाे आरोपमा नक्कली डाक्टर पक्राउ


1.6k
Shares

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले कर्तव्य ज्यान मुद्दामा फरार रहेका नक्कली डाक्टरलाई ११ वर्षपछि पक्राउ गरेको छ । ०६९ सालमा हलेँसी पोलिक्लिनिक दिक्तेलमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि फरार रहेका सुनसरीको गढी गाउँपालिका–३ का जीवानन्द मेहता ११ वर्षपछि पक्राउ परेका हुन् ।

मेहताको लापरबाहीका कारण दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ७२ वर्षीय चन्द्रसेन राईको मृत्यु भएको भन्दै मृतक परिवारले दिएको किटानी जाहेरीका आधारमा उपचारमा संलग्न मेहतालाई प्रहरीले पक्राउ गरेको हो ।

उपचार गर्ने क्रममा पोलिक्लिनिकमा भर्ना भएका राईको ०६९ फागुन १७ गते साँझ मृत्यु भएको थियो । पाँच मिनेटको अन्तरमा दुईवटा सुई लगाएको पाँच मिनेटपछि बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त देवीसरा राईले सोही साल चैत्र १४ गते मेहताविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिए । उपचारमा संलग्न मेहताले नक्कली प्रमाणपत्र पेस गरेर पोलिक्लिनिकमा काम गर्दै आएको छानबिनका क्रममा खुलेपछि मृतक परिवारले किटानी जाहेरी दिएको थियो ।

बिरामी राईको मृत्युपछि फरार रहेका मेहतालाई यही माघ २४ गते घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

तत्कालीन अवस्थामा आयुर्वेदमा एचए उत्तीर्ण गरेका मेहताले चीनबाट एमबिबिएस गरेको नक्कली प्रमाणपत्र पेस गरेर उपचार गरिरहेको खुलासा भएको थियो। उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले सोही दिनदेखि महिना दिनसम्म पोलिक्लिनिक बन्द गराएका थिए ।

जिल्ला प्रशासन कार्यालयको रोहबरमा बसेको सर्वपक्षीय बैठकमा दुवै पक्षबीच मृतकको उपचारमा संलग्न मेहतालाई कारबाही गर्ने, पोलिक्लिनिकको सेवा सुविधालाई पारदर्शी ढंगले सञ्चालन गर्ने, एमबिबिएस डाक्टर राखेर मात्र पोलिक्लिनिक सञ्चालन गर्ने, सार्वजनिक सूचना आह्वान गरेर मात्र कर्मचारी छनोट गर्नेलगायतका बुँदाहरूमा सहमति भएपछि पोलिक्लिनिक एक महिनापछि चैत २९ गतेदेखि खुलाइएको थियो । नक्कली डाक्टरले उपचार गर्दा बिरामीको मृत्यु भएको खबर फैलिएपछि बिरामी जान छाडेसँगै हाल पोलिक्लिनिक स्वतः बन्द भइसकेको छ ।

प्रहरीले सोही पोलिक्लिनिक सम्बद्ध सप्तरी छिन्नमस्ता गाउँपालिका–५ का ४२ वर्षीय महेशप्रसाद साह र बोदेबरसाइन नगरपालिका–२ का ४२ वर्षकै अशोककुमार साहलाई पनि अनुसन्धानका लागि पक्राउ गरेको छ । पक्राउ परेका तीनैजनाविरुद्ध आइतबार तीन दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए ।

महेशप्रसाद र अशोककुमार घटनापछि पुनः दिक्तेलमै छुट्टाछुट्टै दुईवटा पोलिक्लिनिक खोलेर सञ्चालन गर्दै आएका थिए। उनीहरू दुवैजनालाई दिक्तेलस्थित आ–आफ्नो पोलिक्लिनिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्