Logo
Logo

तराईका जिल्लामा एसपीको चासो



काठमाडौं । बिचौलियाहरू सक्रिय भएपछि विवादित छविका एसएसपी ओम रानालाई मानव वेचबिखनमा व्यूरोको प्रमुख बनाएरै छाडे । पोखरा तालिम केन्द्रमा मुकुन्द मरासिनी, दुधौली तालिम केन्द्रमा प्रवीण पोखरेललाई पठाउन भ्याए । दूधौली तालिम केन्द्रमा भएको भ्रष्टाचार मुद्दामा तत्कालिन डिआइजी महेशविक्रम शाह दोषी ठहर भएका थिए । धनुषा तालिम केन्द्रमा गोपालचन्द्र भट्टराई, सुर्खेत तालिम केन्द्रमा राजेन्द्रप्रसाद भट्ट र दीपायल तालिम केन्द्रमा कृष्णबहादुर पल्ली मगरको सरुवा भएको छ ।

एसएसपीमा चलखेल गरेका विचौलियाहरुले नेपाल प्रहरीको एसपीको सरुवा नै रोकिदिएका छन् । २१ जिल्लाका एसपीको सरुवा हुनुपर्नेमा अझै सरुवा हुन सकेको छैन । तराईका १० जिल्लामा कसलाई पठाउने भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठका नजिक रहेका किचौलियाहरुबीच होडबाजी चलेको छ ।

बदनाम एसपीहरू बिचौलियामार्फत आर्थिक चलखेल गरी तराईका जिल्लामा जाने प्रयासमा छन् । गत शुक्रबार सरुवा गर्ने प्रहरी प्रधान कार्यालयको तयारी भएपनि मुख्य जिल्लामा पठाउने एसपीको नाममा गृहमन्त्री आफैँले पनि चासो राखेको स्रोतको दाकी छ ।

हाल झापा, मोरङ, सिराहा, महोत्तरी, पर्सा, चितवन, रुपन्देही, बर्दिया, कैलाली र कञ्चनपुरको प्रहरी नेतृत्व फेरिँदै छ । १० जिल्लाका लागि ३० भन्दा धेरै एसपीहरुबीच प्रतिस्पर्धा छ । शक्तिकेन्द्रको सिफारिस, बिचौलियाको चलखेल तथा गृह मन्त्रालय–आइजिपीको टक्करका कारण एसपी सरुवा हुन सकेको छैन ।

झापामा करिब करिब एसपी मिलन केसीको निश्चित भैसकेको र उनलाई पठाउन बालकोट समेत सहमत रहेको बेला अर्का बद्नाम एसपी पदम विष्ट थपिएका छन् । गौतम केसीको पनि झापाका चासो रहेको छ । बिष्ट सुर्खेतमा कार्यरत रहँदा लागु औषध मुद्दामा प्रतिवादीलाई उन्मुक्ति दिएको घटनामा मुछिएका थिए ।

त्यस्तै, मोरङमा जान श्याम कुमार राई र श्याम खत्रीको प्रतिस्पर्धा छ । राई यसअघि बौद्ध वृत्तमा हुँदा घुस काण्डमा परेका अधिकृत हुन् । खत्री पनि कार्यसम्पादनमा कमजोर मानिन्छन् । मोरङमा बसुन्धरा खड्काले पनि मन गरेका बेला कांगे्रेस नेता शेखर कोइरालाको पनि चासो रहेको छ ।

कोशी प्रदेशका डिआइजी चन्द्रकुबेर खापुङको समेत पावर लगाइरहेका छन् । तर श्यामको बद्नामीमा दुई राई साक्षी नबस्ने भएपछि उनी अख्तियार प्रमुखकोमा पुगेको स्रोतको दाबी छ । महोत्तरी र सिराहामा सन्तोष आचार्य, चक्रराज जोशी, रुपेश खड्का लगायतको सिफारिस छ । चितवनमा भावेस रिमालले माओवादी नेतासँग सेटिङ मिलाएका छन् ।

पर्सामा कुमोध ढुंगलेको लगभग निश्चित जस्तै छ । पर्सामा ढुंगेललाई पठाउन गृहमन्त्री र प्रहरी महानिरीक्षकबीच सहमति जुटिसकेको छ । रुपन्देहीमा बसुन्धारा खड्काको प्रबल सम्भावना छ । तर, अर्का एसपी दयानिधि ज्ञवालीसमेत शक्तिकेन्द्र धाइरहेका छन् ।

यसअघि तराईमा बसिसकेका एसपीहरू भने पहाडी जिल्ला छानिरहेका छन् । धनकुटा, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, धादिङ, गोरखा, तनहुँ, स्याङ्जा, गुल्मी, पाल्पा, सुर्खेतलगायत पहाडी जिल्लाका एसपीहरू पनि फेरिँदैछन् । खासगरी तराईका जिल्लामा एसपीहरुको चासो रहेको स्रोतको दाकी छ ।

प्रतिक्रिया दिनुहोस्