Logo
Logo

कुनै नेपाली नागरिकता विहिन हुनुपर्दैन : सुनिता नेपाल


693
Shares

स्याङ्जा । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले कुनैपनि नेपाली नागरिक नागरिकता विहिन नहुने बताएका छन् । वालिङ नगरपालिकामा आयोजित जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नेपालले नेपाली पहिचान खुल्ने कागजात भए नागरिकताबाट बञ्चित हुन नपर्ने बताएका हुन् ।

उनले पालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले व्यक्तिगत घटना दर्ता गर्दा संयमता अपनाउन पनि आग्रह गरे । ‘घटना दर्ता वैयक्तिक पक्षसँग सम्बन्ध राख्दछ, व्यक्तिको जीवन, आयआर्जन लगायतका विषयसँग जोडिएको हुँदा व्यावहारिकतामा समेत घटना दर्ता गर्नुपर्छ ।’ अधिकारी नेपालले भने, ‘संयमता अपनाएर र प्रकृयाअनुसार नागरिकलाई नागरिकताको प्रमाणपत्रको सिफारिस गर्नुहुन अनुरोध गर्दछु ।’

अधिकारी नेपालले आमाबाबु नै नभएका बालबालिकाको लागि पनि संरक्षक खोजेर भएपनि जन्मदर्ता गर्न अनुरोध गरे ।
कतिपय नागरिकहरु कानुनको अज्ञानताको कारण नागरिकताको सिफारिस लिन कहाँ जाने भन्ने समेत जानकारी नहुने उल्लेख गर्दै उनीहरुको समस्यालाई ख्याल राख्दै कानुनको दायरामा रही घटना दर्ता तथा आवश्यक सिफारिस गर्न जनप्रतिनिधि तथा कर्मचारीहरुलाई आग्रह गरे ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजना तथा वालिङ नगरपालिकाको व्यवस्थापनमा आयोजित अन्तरक्रिया कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले जनप्रतिनिधि र कर्मचारी एक आपसमा समन्वय गरेर काम गर्नुपर्ने बताए ।

उनले कर्मचारी र जनप्रतिनिधि दुवैले नागरिकको सेवा गर्ने भएकाले दुवैले नागरिकका भावना बुझेर काम गर्नुपर्ने उल्लेख गरे ।
नगरप्रमुख खाँणले जिल्ला प्रशासन कार्यालयले विपद्को जोखिममा परेको नागरिकलाई राज्यले दिनुपर्ने राहत उपलब्ध नभएकोले उक्त विषयमा तत्काल निर्णय गरी टुङ्गो लगाइदिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्