
पोखरा । ६ किलो सुन, ६ किलो चाँदी र ६२ लाखभन्दा बढी नगदसहित पोखराबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत पश्चिम बंगाल मेदिनिपुर दासपुर ११ घर भई हाल पोखरा महानगरपालिका–२ मोहरिया टोल बस्ने ४० वर्षीय सुरजित भौमिक रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन कुमार थापाले जानकारी दिए ।
पोखरा–२ मोहरिया टोलस्थित कविन्द्रप्रसाद श्रेष्ठको घर भाडामा लिई विगत लामो समयदेखि भौमिकले गरगहना बनाउने कालिगढको रुपमा काम गर्दै आएका थिए ।
भैमिकले घर भाडामा लिई अवैध सुन ल्याइ विभिन्न गरगहना बनाएर बेचबिखन तथा कारोबार गर्ने गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनको कोठामा लुकाइ राखेको सुनका गरगहना, काचो सुन, चाँदी, नगद र विभिन्न बैंकका चेकसहित नियन्त्रणमा लिएको थापाले बताए ।
प्रहरीका अनुसार उनको साथबाट पाँच किलो दुई सय ग्राम काँचो सुन, नौ सय ९९.९० ग्रामको एक ढिका (विस्कुट) एक थान र ५० ग्रामको एक ढिक्का (विस्कुट) गरी ६ किलो दुई सय ४९.९० ग्राम सुन बरामद गरेको छ ।
साथै उनका साथबाट ६ किलो चाँदी, ६२ लाख ८१ हजार नगद, विभिन्न बैंकका ६० लाख रुपैयाँबराबरका १३ थान चेक, मोबाइल, भारतको आधारकार्डलगायत सामान बरामद भएको एसपी थापाले जानकारी दिए ।
प्रहरी टोलीले २९ माघको साँझ भौमिकको कोठामा छापा मारेको थियो । बरामद गरिएका सुन, चाँदी, नगदसँगै अन्य सामग्री संकलन गर्न दुई दिन लागेको थियो ।
प्रहरी पुगेलगत्तै भौमिकले सुरुमा घरबेटीको कोठा भनेका थिए। एसपी थापाले भने, ’हामीले हेदै, बुझ्दै र अनुसन्धान गर्दा भौमिकै कोठा हो भन्ने भएपछि कोठामा छापा मार्दा स्रोत नखुल्ने सुन, चाँदी र गहन भेटियो। उनको यो सुन पसल भन्ने केही खुलेको छैन। हाललाई स्रोत खुलाउन नसकेकाले पक्राउ गरेको हो ।’ थापाका अनुसार थप अनुसन्धान राजस्व अनुसन्धान विभागले गर्छ।














