
काठमाडौं । पीडित परिवार तथा नागरिकको जिवन रक्षाको लागि सचेतना अभियानले रुसी सेनामा भर्ति भएका नेपालीहरुलाई सकुशल घर फिर्ताको वातावरण बनाइदिन आग्रह गरेको छ ।
नेकपा एकीकृत समाजवादी अभियानले युक्रेन–रुस युद्धमा ज्यान गुमाएका नेपालीका परिवारलाई क्षतिपूर्ति, घाइतेहरुको उचित उपचार र सेनामा भर्ती भएकाहरुका लागि सकुशल घर फिर्तीको बातावरण बनाइदिन पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको हो ।
कुनै साइनो सम्बन्ध नभएको देशमा भएर नेपाली नागरिकले ज्यान गुमाउनु परेको, बाँचेकाहरुले पनि स्वदेश फर्किन नपाएको समाचारहरु सार्वजनिक भइरहेका बेला कृतु भण्डारी नेतृत्वको सो अभियानले रुसी सेनामा रहेका नेपालीहरुलाई सहज रुपमा घर फिर्तीको वातावरण बनाई दिन परिवारको तर्फबाट प्रमुख राजनीतिक दलहरुको ध्यानाकर्षण गराएको हो ।
रुस युक्रेन युद्ध सुरु भएलगत्तै वेपत्ता भएका कञ्चनपुरका विपिन जोशी अझै सम्पर्कवीहिन छन् । कयौं नेपालीहरु रुसी सेनामा कार्यरत रहेको र घर फर्किन चाहँदा पनि रुसी सेनाहरुले पासपोर्ट खोसेर पुनः युद्धमा पठाउने, कुटपिट गर्ने जस्ता कार्यहरु भइरहेको समाचारहरु सार्वजनिक भइरहेका छन् ।















