काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई)ले ओमर अयुब खानलाई प्रधानमन्त्री पदको उम्मेदवार बनाउने भएको छ ।

पीटीआईका वरिष्ठ नेता असद कैसरले जेलमा रहेका पूर्वप्रधानमन्त्री खानसँग भेट गरेपछि उनले ओमर अयुबलाई प्रधानमन्त्री पदको रूपमा अघि सार्ने बताएका हुन् ।
५४ वर्षीय ओमर अयुब पीटीआईका महासचिव र पूर्व सैन्य तानाशाह मोहम्मद अयुब खानको नाति हुन् । उनका खैबर पख्तुनख्वा प्रान्तको हरिपुरबाट पाकिस्तान मुस्लिम लिग (पीएमएल–एन)को उम्मेदवारको रूपमा सन् २०१३ को चुनावमा हार बेहोरेपछि सन् २०१८ मा आमचुनावभन्दा अघि पीटीआईमा समावेश भएका थिए ।
गएको फेब्रुअरी ८ मा भएको चुनावमा कुनै पनि दलले स्पष्ट बहुमत पाएका छैनन् । तर इमरान खान समर्थित स्वतन्त्र उम्मेदवारले सबैभन्दा धेरै सिटमा जितेका छन् ।
यसअघि पूर्वप्रधानमन्त्री नवाज शरीफ नेतृत्वको पीएमएल–एनले छ दलीय गठबन्धनमा नयाँ सरकार बनाउने बताइसकेको छ ।














