Logo
Logo

दलहरूको लुटले जनतामा निराशा छायो : प्रभु साह



रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले फिरंगी नेतृत्वका कारण गौरको विकास हुन नसकेको बताए । 

रौतहटको गौरमा आज आजपाको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले गौरसहित रौतहट एवं मधेसको विकासका लागि धर्ती पुत्र नेताको नेतृत्व हुन आवश्यक रहेको बताए । 

‘गौर वा रौतहटको विकास किन हुन सकेन् ? तपाई हामी सबैलाई थाहा छ फिरंगी नेतृत्व रहेसम्म त्यो सम्भव छैन् । फिरंगी नेताहरुको कारण रौतहट सहित मधेस मानव विकास सूचांकमा पछाडि परेको छ’ उनले भने, ‘यहाँको विकासका लागि यहीका धर्ती पुत्र नेताको नेतृत्व हुन जरुरी छ, यी फिरंगी नेतृत्वले यहाँको बिकास हुँदैन् । त्यसमा हामी सचेत हुनैपर्छ ।’ 

फिरंगी नेताको नेतृत्वका कारण रौतहटको विकास हुन नसकेको बताउँदै उनले मानव विकास सूचांकमा पछाडि पर्नुमा उनीहरूको आसेपासेको भ्रष्टाचारका कारण पनि रहेको उनले बताए ।

हरेक हिसाबले मधेस भन्दा पछाडि परेको कर्णाली मधेसभन्दा मानव सूचांकमा अगाडी हुन दुःख विषय भएको बताउँदै उनले यहाँको नेतृत्व परिवर्तन हुन जरुरी रहेको बताए । रौतहट सहित मधेसको विकासका लागि यहाँ विकास प्रेमी र धर्ती पुत्र नेता नेतृत्वमा हुन आवश्यक रहेको साहको भनाई रहेको छ । 

प्रमुख भनिएका दलहरूको सिन्डिकेट र लुटका कारण मुलुक समृद्ध हुन नसकेको बताउँदै उनले दलीय सिन्डिकेटको अन्त्य हुनुपर्ने बताए । अहिलेको व्यवस्था असफल भएको बताउँदै साहले दलहरूको भ्रष्टाचार र सरकारको मनोमानी कार्यका विरुद्धमा आवाज उठाउनुपर्ने समय आसकेको बताए । 

‘अहिले हेर्ने हो भने दलहरूले लुट मच्चाएका छन् । काम केही गर्नु छैन्, जनतालाई झुक्क्याउने, आसेपासे पाल्ने, भ्रष्टाचार, अनियमितता गर्ने र समृद्धिको गफ दिने कामले आम जनता पनि आजित भरसकेका छन्’ साहले भने, ‘यो दलहरूको मनोमानीका विरुद्धमा आवाज उठाउने समय आसकेको छ । यो व्यवस्था, दलीय सिन्डिकेट, भ्रष्टाचार तथा कुशासनका विरुद्धमा सडकमा उत्रिन ढिला नगरौँ ।’

यस्तै आजपा अध्यक्ष साहले गौर हत्याकाण्डका हत्यारालाई कारबाही गर्नुपर्ने माग समेत गरे । गौर हत्याकाण्डका हत्याराहरू खुलेआम घुमिरहेको भए पनि उनीहरूलाई सरकारले किन कारबाही नगरेको भन्दै उनले सरकारसँग आक्रोश व्यक्त गरेका छन् । 

हत्यारा जोगाउनका लागि सरकार छोड्ने भन्ने जस्ता कुरा गर्नेहरूले मधेसको विकासका लागि किन बोल्दैनन् भन्दै उनले प्रश्न गरे । जसपा नेता उपेन्द्र यादवप्रति लक्षित गर्दै आजपा अध्यक्ष साहले संघीय सरकारमा सहभागी भएको मधेस सरकारको नेतृत्व समेत गरेका नेताहरू हत्यारा बचाउन सरकार छोड्छु भन्नेले मधेसको विकासका लागि किन बोल्दैनन् ? किन मौनब्रत बसेका होलान् ? भन्दै प्रश्न गरेका छन् ।  

यसैगरी आजपाले भन्सार कानुनमा रहेको ४५ प्रतिशतको पुरस्कारको व्यवस्था हटाउनुपर्ने माग सहित सङ्घर्ष गर्दै आएको छ । सोही विषयमा बोल्दै अध्यक्ष साहले भन्सार कानुनमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था नहटाए सम्म पार्टीले सङ्घर्षका कार्यक्रम जारी राख्ने चेतावनी दिए । 

भ्रष्टाचारविरुद्ध संघीय राजधानी काठमाडौंदेखि मधेस, पहाडका विभिन्न ठाउँमा आन्दोलन गरिरहेको आजपाले अहिले देशैभरि संगठन निर्माण, गठन, पुनर्गठन सहित अगाडी बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्