
काठमाडौं । गृह मन्त्रालयले प्रहरी कर्मचारी समायोजन समिति गठन गरेको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गर्दे प्रहरी समायोजनका लागि समिति गठन गरी काम अगाडि बढाइएको बताए
उनले मन्त्रालयका प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको जानकारी दिए ।
समितिमा मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिव सह–संयोजक, प्रहरी प्रधान कार्यालयका डिआइजी, गृहका उपसचिव सदस्य र मन्त्रालयका प्रहरी कर्मचारी प्रशासन शाखाका उपसचिव सदस्य सचिव रहेको ५ सदस्यीय समिति गठन गरेको हो ।
समितिमा रहेका व्यक्तिहरूको नाम भने मन्त्रालयले सार्वजनिक गरेको छैन । ‘प्रहरी कर्मचारी समायोजन समिति गठन भई प्रहरी कर्मचारी समायोजनसम्बन्धी कार्य थालनी भइसकेको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।
मन्त्रालयले २०७२ सालको संविधान तथा प्रहरी समायोजन ऐन, २०७६ बमोजिम समायोजन गरी संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउन पनि सरकार निरन्तर काम गरिरहेको उल्लेख छ ।














