Logo
Logo

बुद्धि विकास मण्डलको वार्षिकोत्सवमा कविगोष्ठी



ललितपुर । बुद्धि विकास मण्डल ललितपुरले वसन्तपञ्चमीका दिन आफ्नो वार्षिकोत्सव कविगोष्ठी गरेर मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले उक्त कविगोष्ठीको उदघाटन गर्दै दही जस्तै ६६ वर्षदेखि सीमित घेराभित्र जमेर बसेको प्रज्ञा–प्रतिष्ठानलाई चलायमान र तरङ्गीत पार्दै विविध विषय वस्तुमाथि प्राज्ञिक बहस गर्दा कतिपयलाई असह्य भएको बताएका थिए ।

उनले गाउँगाउँका समुदायको रैथाने ज्ञान ,सीप र प्रत्येक विषयमा प्रज्ञा–प्रतिष्ठानले विमर्श थाल्दा कतिपय परम्परावादीहरू तरङ्गीत भएको बताए । उनले अपवाद छाडेर कवि वा साहित्यकारले भ्रष्टाचार गरेको नपाइएको भन्दै कविगोष्ठीको आयोजना गरेर बुद्धि विकास मण्डलले कवि चेतनालाई मुखरित गरेकोमा खुसी व्यक्त गरेका थिए ।

यस्तै, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा प्रेस काउन्सिल नेपालका पूर्व बोर्ड सदस्य चेतनाथ धमलाले शुभकामना मनतव्यका क्रममा सरस्वतीलाई नेपाली समाजले विद्याको प्रतीकको रूपमा स्वीकार गरेको बताउँदै कविता विचार ,कला र सौन्दर्यद्वारा प्रदत्त हुने विषयमा जोड दिए ।

उनले प्राविधिक रूपमा शब्द र वाक्य जोड्दैमा कविता हुन नसक्ने उल्लेख गर्नुभएको थियोे ।साथै उहाँले आफ्नो कविता समेत सुनाएका थिए ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका वर्डा न.५ का अध्यक्ष विकासमान श्रेष्ठले बुद्धि विकास मण्डलले विभिन्न सहयोग, सांस्कृतिक र सामाजिक काम गर्दै आएको बताए । साथै, संस्थाले कविगोष्ठी आयोजना गरेकोमा प्रशंसा गर्दै कविता भनेको जीवन हो भन्दै यस प्रकारका गतिविधिलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

कविगोष्ठीमा पुरुषोत्तम ढुङ्गाना, पुनम निरौला, शोभादेवी प्रधान श्रेष्ठ, राधा चालिसे, सुनिल पुरी, मणिराज सिंह, राधा कार्की, अर्पणा केसी, द्वारिकानाथ खनाल, चन्दना अर्याल, बुद्धि महर्जन र सिर्जना सरोवर लगायतले कविता वाचन गरेका थिए ।

बुद्धि विकास मण्डलका कोषाध्यक्ष तथा कविगोष्ठीका संयोजक केदार कार्कीले स्वागत मनतव्यसहित कार्यक्रमका बारेमा प्रकाश पार्दै २०१० सालमा स्थापना भएको ७० वर्ष पुरानो यस संस्थाले विभिन्न खेलकुद, सामाजिक र सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

वार्षिकोत्सवको अवसरमा नेपालका वरिष्ठ र नयाँ कविहरूलाई समेटेर कविगोष्ठी राखिएको थियो । यस संस्थाले वार्षिकोत्सव तथा कविगोष्ठी सम्पन्न गर्नका लागि केदार कार्कीको संयोजकत्व र सुधाकर ढुङ्गानाको सहसंयोजकत्वमा श्यामबाबु केसी, रामशरण महत र शिवप्रसाद शर्मा सदस्य रहेको ५ सदस्यीय उपसमिति गठन गरेको थियोे ।

प्रतिक्रिया दिनुहोस्