काठमाडौं । गृह मन्त्रालयले प्रहरी समायोजन अघि बढाउन समिति गठन गरेको छ । मन्त्रालयका प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
विज्ञप्तिमा जनाएअनुसार समितिमा मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिव थानेश्वर गौतम सह–संयोजक, प्रहरी प्रधान कार्यालयका प्रहरी नायव महानिरीक्षक र मन्त्रालयका उपसचिव सदस्य छन् ।

मन्त्रालयका प्रहरी कर्मचारी प्रशासन शाखाका उपसचिव सदस्य–सचिव रहनेगरी पाँच सदस्यीय समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ । प्रशासनमा हाल महाशाखा प्रमुख तोकिएका छैनन् । महाशाखा प्रमुख कसलाई राख्ने भन्नेबारे निर्णय हुनुअघि सुरक्षा तथा समन्वय महाशाखा प्रमुख नारायणप्रसाद भट्टराईले प्रशासन पनि हेरिरहेका छन् ।
कानुनअनुसार ‘प्रहरी कर्मचारी समायोजन समिति’ बनाएर समायोजन सुरु भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । प्रहरी समायोजन ऐन–२०७६ बमोजिम नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरी सेवामा समायोजन गरी संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउन निरन्तर काम भइरहेको मन्त्रालयले जनाएको छ ।














