Logo
Logo
एमाले कैलाली अधिवेशन

थारु भेटिएन, पहाडीबाटै काम चलाइने


7.3k
Shares

धनगढी । गत निर्वाचनमा कैलालीबाट नेकपा एमाले ‘क्लीनस्वीप’ भएपछि अध्यक्ष केपी शर्मा ओलीले कैलालीको नेतृत्व थारु नेतालाई सुम्पिने संकेत गरेका थिए ।

ओलीले जिल्लाका केही थारु अगुवाहरुलाई टेलिफोन मार्फत राय सल्लाह पनि लिएका थिए । तर कैलालीको सुखडमा आजबाट सुरु नवौ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमसम्म आइपुग्दा ओलीले खोजी गरेको थारु पात्र न भेटिदा कैलालीमा मिसन २०८४ को भविष्यप्रति अन्योलता देखिएको छ ।

कैलालीको राजनीतिमा थारु जातिको निर्णायक भुमिका छ । ९ लाख ७ हजार ८१६ जनसंख्यामा ३ लाख २५ हजार ६७० थारु र बाकीं राना थारुहरुको जनसंख्या जोड्दा कैलालीमा ४१.५२ प्रतिसत थारुजातिको जनसंख्या देखिन्छ । २०४८ मा कांग्रेस र २०५१ साल यताका निर्वाचनमा नेकपा एमालेलाई थारु मतदाताहरुको राम्रो साथ रहेको तथ्याङ्कले देखाउँछ ।

२०६४ मा माओवादी र २०७० मा फोरम लोकतान्त्रिक तर्फ थारु मत आकर्षित हुदा एमालेको थारु भोट बैंक गुमेको देखिन्छ । २०७४ को निर्वाचन नतिजाले अलिकति आशा देखाए पनि २०७९ को नतिजा एमालेका लागि अत्यन्त खराब देखिदा कैलालीमा नेकपा एमालेको भविष्यप्रति शिर्ष नेतृत्व चिन्तित बन्दै आएको छ ।

थरुहट कि अखण्ड सुदूरपश्चिम भन्ने मुद्दामा एमालेका सुदूरपश्चिमका नेताहरुले थारु विरोधी अभिव्यक्ति दिएको भन्दै कैलालीका थारुहरु नेकपा एमालेसंग रुष्ट भएका थिए । त्यस बखत थारु नेताहरुले एमाले पार्टी परित्याग गरेका थिए । यद्धपी कैलालीमा कुनै बेला नाम चलेका दुई दर्जन नेता मध्ये पूर्व अध्यक्ष होरीलाल चौधरी मात्र एमालेमै फर्के पनि हाल निस्क्रिय छन ।

एक तथ्याङअनुसार कैलाली क्षेत्र नं १ मा करिब ४५ प्रतिसत थारु मतदाता छन । यसैगरी क्षेत्र नं २ मा ४० क्षेत्र नं ३ मा ६० क्षेत्र नं ४ मा २५ र क्षेत्र नं ५ मा ४० प्रतिसत थारु मतदाता रहेका छन ।

नेकपा एमालेका एक जना थारु नेताका अनुसार सुदूरपश्चिम प्रदेशको कुल जनसंख्याको १४.७६ प्रतिसत थारु जनसंख्या रहेको छ । गत असोजमा सम्पन्न सुदूरपश्चिम प्रदेश अधिवेशनमा एक जना पनि थारु नेता पदाधिकारीमा नअटाउनुले एमाले थारुहरुको पार्टी होइन कि भन्ने शंका उत्पन्न भएको छ ।

कैलालीको पार्टी र जनबर्गिय संगठनहरुमा कार्यकारी भुमिकामा एकाध थारुलाई नेताका रुपमा देखाउन खोजिए पनि नेकपा एमालेप्रति थारुहरुको कुनै आकर्षण नरहेको ती थारु नेता बताउँछन ।

१३ पालिका र ५ निर्वाचन क्षेत्रमा थारु समुदायबाट हाल देखिने नेतामा नारदमुनि राना, गौरी शंकर थारु, नेपालु चौधरी, ममता चौधरी र विष्णु चौधरी मात्र छन । बाँकी लो प्रोफाइमा रहेका स्थानिय सक्रिय कार्यकर्ताहरु मुस्किलले एक दर्जन जति होलान ।
गत निर्वाचन लगत्तै मिसन ग्रासरुट अभियान मार्फत कैलालीका सयौं थारुगाँउबाट थारु नेतृत्व जन्माउने उद्घोष पनि गरिएको थियो तर एक जना थारु युवामा पनि एमालेप्रति आकर्षण जगाउन नसकिएको ग्रासरुटमा खटिएका नेताहरु स्वीकार्छन ।
मिसन २०८४ सफल पार्न यसपटक जिल्लाको नेतृत्व थारु नेतालाई दिने ओली इच्छा सफल नहुने भएपछि अध्यक्षको पद पहाडी नेताकै पोल्टामा पर्ने देखिएको छ । जिल्ला अध्यक्षका लागि तीन गुटले तीन जनालाई मैदानमा उतारेका छन । ती तीन जना यस्ता छन –

दुर्गा प्रसाद जोशी

नेकपा एमाले कैलालीको हालसम्मको इतिहासमा एकदमै खराब कार्यसम्पादन गरेको भनेर चर्चा बटुलेका दुर्गा प्रसाद जोशी कैलाली एमालेका कार्यवाहक अध्यक्ष हुन । यिनकै कार्यकालमा संघीय र प्रदेश निर्वाचनमा शुन्य जित र स्थानिय निर्वाचनमा ११ पालिकामा भारी पराजय भोग्नु परेको थियो ।

उक्त पराजयले जोशीको नेतृत्व क्षमता माथि प्रश्न उठेका थिए । असक्षमता र नैतिकताका आधारमा पद त्याग नगरी पदमा बसिरेहेको भनि व्यापक आलोचना भएको थियो । निर्वाचित पार्टी अध्यक्ष रतन थापालाई षडयन्त्रपूर्वक कार्वाही गरेपछि जोशी कार्यवाहक अध्यक्ष भएका थिए ।

यिनको कार्यकाल भरी पार्टी भित्र झगडा, बैमनष्यता, अनुशासनहिनता र एकले अर्काको करिअरलाई समाप्त पार्नेसम्म षडयन्त्र मौलाएको कैलालीका एमाले कार्यकर्ताहरु बताउँछन । जोशीलाई डोटीबाट कैलालीमा बसोबास गर्ने एमालेहरुको साथ देखिन्छ । जोशी कांग्रेसको राजनीति गर्दै एमालेमा आएका हुन । कुनै बेला सुदूरपश्चिममा भीम रावल शक्तिमा छदा रावलका विश्वास पात्रका रुपमा रहेका उनी सेती प्रादेशिक अस्पतालका अध्यक्ष समेत भएका थिए ।

राजनीतिमा क्षमता कमजोर देखिए पनि व्यवसायमा सफल ब्यापारीको छवी जोशीले बनाएको धनगढीस्थित उनका समकालिन बताउँछन । यिनलाई एमालेका नेता लेखराज भट्टको साथ देखिन्छ । भट्ट पनि डोटी कै हुन । आफु कार्यवाहक अध्यक्ष भएकोले स्वभाविक रुपमा अध्यक्ष हुन पाउनु पर्ने दावी उनको छ । ओलीले आफुलाई सर्वसम्मत अध्यक्ष बनाउँछन कि भन्ने झिनो आशा जोशीले पालेको कैलालीमा चर्चा छ ।

डेजी पाण्डे

हाल एमाले कैलालीका सचिवका रुपमा रहेका डेजी पाण्डेले आफुलाई बलियो उम्मेद्वारको रुपमा प्रचार गरिरहेका छन । २०७८ मा सचिव पद जित्दा कैलालीका एमालेजनले राम्रो कार्यसम्पादनको आशा गरेका थिए । तर, दुई बर्षे कार्यकाल भरी पार्टी भित्र तीव्र अन्तरसंघर्ष चर्काउने मुख्य खेलाडीका रुपमा डेजीको नाम चर्चामा आइरह्यो ।

नेता– नेता र कार्यकर्ता–कार्यकर्ता बीच जासुसी संयन्त्र खडा गरेर झगडा गराई कैलालीको पार्टीलाई कमजोर बनाएको आरोप उनि माथि लाग्दै आएको छ । आफ्नै अध्यक्ष रतन थापालाई पदाधिकारीको बैठक गरौं भनी कर्णाली चिसापानीको रिसोर्टमा पुर्याई टन्न रक्सी पिलाई मात्तेको अवस्थामा शिर्ष नेताहरुलाई गाली गलौज गर्न उस्काएको आरोप डेजी माथि छ ।

रतन थापाले गाली गलौज गरिरेको अडियो गोप्यरुपमा रेकर्ड गराएर लेखराज भट्ट मार्फत महासचिव शंकर पोखरेल र अध्यक्ष केपी ओली समक्ष पुर्याएको र रतन थापालाई स्थानिय चुनावको मुखमा पार्टीबाट कारवाही गराउन सफल भएको आरोप डेजीलाई लगाइन्छ । आठौं जिल्ला अधिवेशनमा डेजी र रतन फरक फरक गुटबाट जितेका थिए ।

मन परेका नेताको धेरै चाकरी गर्ने र मन नपरेका नेताहरुको एकदमै तल्लोस्तरमा गाली बेइज्जती गर्ने स्वभाव डेजीको रेहेको कैलालीका एमालेहरु बताउँछन ।

स्थानिय निर्वाचनमा उम्मेद्वारहरुसंग पैसा लिई टिकट बेचेको आरोप डेजीलाई लागेको थियो । त्यो बेला यो मुद्दा ओली निवास बालकोटसम्म पुगेको बताइन्छ । आफ्नो कुरा मात्र सही हो अरु सबै गलत हुन भनेर जिद्दी गर्ने स्वभाव रहेका डेजी अखिलको राजनीतिबाट आएका हुन् । झण्डै एक दशकसम्म भीम रावलको कोपभाजनमा परेँ । पार्टीमा गतिलो काम गर्ने अवसर पाईन । म त भीम रावल पीडित हू भन्दै सेन्टिमेन्ट मत सहित आठौं अधिवेशनमा सचिव जितेका डेजी अहिले भीम रावलका दाहिने हात मानिने झटप रावलको साथ लिई कैलालीको जिल्ला अध्यक्षका लागि प्रतिस्पर्धामा छन् ।

जिल्ला सचिव भएको फाइदा उठाउदै संगठित सदस्यता घोटाला र जिल्ला अधिवेशन प्रतिनिधि चयनमा व्यापक चलखेलको आरोप समेत उनलाई छ । परिणाम आफु अनुकुल पार्न अधिवेशन प्रतिनिधि चयनमा जालझेल गरेको भन्दै डेजी विवादमा तानिएका छन् । डेजीको व्यवहार गैह्र राजनीतिक प्रकृतीको भएकोले कैलालीका अधिकांश नेता कार्यकर्ता उनबाट चिढिएका छन ।

रक्सी मासु खुवाएर हुन्छ वा प्रतिनिधि खरिद गरेर हुन्छ जसरी पनि चुनाव जित्नु पर्छ भन्दै डेजीले आफ्नो टिम एक महिना अघि देखि नै परिचालन गरेको कैलालीमा चर्चा छ । डेजीलाई स्थायी कमिटी सदस्य कर्ण बहादुर थापा र प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीको पनि भित्रि साथ र सहयोग रहेको बताइन्छ ।

डेजी अखिलको राजनीतिबाट एमालेमा आएपनि उनका परिवारमा सबै कांग्रेस छन । यता नेकपा एमालेबाट उनी सचिव हुदै गर्दा उनका सदोहर भाई कृष्ण पाण्डे नेपाली कांग्रेस कैलालीको सचिवमा पराजित भएका थिए । डेजीकी श्रीमति डडेल्धुराको राम्रो पृष्ठभूमी भएको कांग्रेस परिवारबाट हुन । उनी कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु देउवाले फन्डिङ गर्दै आएको संस्थामा महेन्द्रनगरमा जागिरे छिन ।

एमालेको नेता हुने एमालेको सिद्दान्त, नीति र बिचार सही छ र यसले मात्र देश र जनताको हित गर्न सक्छ भनेर आफ्नै श्रीमति र भाईलाई कन्भिन्स गर्न नसक्ने मान्छेले अरु जनतालाई के कन्भिन्स गर्न सक्ला भन्ने प्रश्न डेजीले सामना गर्नु परिरहेको छ ।

यज्ञराज ढुंगाना
यज्ञ पनि अखिलको राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन । नेकपा एमालेको प्रदेश कमिटी सदस्य रहिसकेका उनी कार्यकारी पदका लागि पहिलो पल्ट प्रतिस्पर्धामा उत्रिएका छन । उनी अनटेस्ट भएकाले कार्यसम्पादनको मुल्यांकनमा सामेल हुनु परेको छैन । दुई बर्ष अघि जस्तो गरी डेजी पाण्डे फ्रेस उम्मेद्वार थिए त्यही अवस्थामा अहिले यज्ञ रहेको र यिनको काँधमा जिम्मेवारी आएपछि मात्र क्षमता बारे थाहा हुने एमालेका नेता कार्यकर्ता बताउँछन ।

फ्रेस, पढेलेखेको युवा पक्कै पनि राम्रो गर्ला भनेर सचिवमा जिताइयो । पुरा कार्यकाल नै बर्वाद गर्यो पार्टी खत्तमै पार्यो भन्दै एमाले कैलालीका एक जना नेताले डेजी पाण्डेबारे दृष्टी संवाददातासंगको कुराकानीमा भने ।

यज्ञ धनगढीका सफल युवा व्यवसायी पनि हुन । पुर्णकालिन व्यापारी पुर्णकालिन राजनीतिमा कसरी सफल हुनसक्छ भनेर प्रश्न गर्नेहरु पनि छन । उनलाई एमाले केन्द्रिय सदस्य तथा बैतडीका नेता दामोदर भण्डारीले साथ दिएका छन ।

साथै, केन्द्रिय सदस्य लीला भण्डारी, दिपक देवकोटा र कमल तिमिल्सेना र प्रदेश सचिव रण बहादुर चन्दको समेतको साथ यज्ञलाई रहेको बताइन्छ । कैलालीमा एमालेको पछिल्लो निरासाजनक अवस्थाबाट चिन्तित बनेका अध्यक्ष केपी ओलीले यि तीन जना उम्मेद्वार मध्येबाट तुलनात्मकरुपमा यज्ञ ढुङ्गानाले अलि फरक गर्न सक्छ की भनेर प्रतिक्रिया दिएको चर्चा छ । यद्दपी ओलीले अध्यक्ष सहित पदाधिकारी टिम सर्वसम्मत चयन गर्दा उपयुक्त हुने कुरा सुझाएको बताइन्छ ।

निर्णायक लेखराज

अध्यक्षका उम्मेद्वार दुर्गा प्रसाद जोशीप्रति स्याम्पेथी देखाए पनि एकता प्रक्रिया नामको गुटको अस्तित्व जोगाउन लेखराज भट्टलाई धौ धौ परेको छ । गत असोजमा सम्पन्न प्रदेश अधिवेशनमा पनि आफ्नालाई स्याटल गर्न पार्टी भित्रकै आफ्ना कट्टर विरोधी खेमासंग सहकार्य गरेका लेखराजले यसपटक कैलालीको अधिवेशनमा भने दामोदर भण्डारी गुटसंग सहकार्य गरेर एकता प्रक्रियाबाट आएकाहरुलाई स्याटल गर्ने संकेत देखाएका छन ।

उता अध्यक्षमा यज्ञ ढुङ्गानालाई अघि सारेका दामोदर भण्डारीले सचिवमा पनि आफ्नै पहाड जिल्लावासी बिष्णु चन्द हुनुपर्ने अडान कायमै राखेकाले लेखराजसंगको छलफल निष्कर्षमा पुगेको छैन । यता लेखराजले आफ्नो मामाको छोरा हितेश ओझालाई सचिव बनाउन चाहेका छन ।

पाँच जना पदाधिकारीमा उपाध्यक्ष र सचिव दिएमा सहकार्य हुनसक्ने जनाउ दिएको दामोदर भण्डारी निकट गुटका एकजना सदस्यले दृष्टीलाई बताए । करिव साढे छ सय प्रतिनिधिहरुमा लेखराज भट्ट निकट १ सय ५० जति रहेको आंकलन गरिएको छ । पाँच सदस्यीय पदाधिकारीका लागि ५३ जनाले इच्छा देखाएका छन ।

खर्च बढाइदिएकोमा आक्रोश

प्रदेश अधिवेशन सम्पन्न भएको पाँच महिना बित्दा पनि उधारो भुक्तान नभएको भन्दै धनगढीका व्यवसायीहरु दुखी भएका छन । प्रदेश अधिवेशनताको १५ लाख उधारो तिर्न धनगढीका व्यवसायीहरुले ताकेदा गर्न थालेपछि प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैसी हैरान भएका छन । कैलालीको मोवाइल नंबरबाट आएका फोन उठाउ की नउठाउ भन्ने अवस्थामा अध्यक्ष जैसी पुगेको बताइन्छ ।

असोज २१ र २२ दुई दिनका लागि भनिएको अधिवेशन सात दिनसम्म चल्दा आर्थिक भार बढेको थियो । अझ अधिवेशनका बेला भीआइपी ट्राफिक बढदा होटल खर्च, गाडी मोटर र प्लेन टिकटको भार बढेको प्रदेश कमिटीका एकजना पदाधिकारीले बताए ।

यो धनगढीमा आवश्यकता भन्दा बढी नेताहरु आउने र आवश्यकता भन्दा बढी समय गेस्ट सर्विस लिने भएकाले प्रदेश र कैलाली जिल्ला कमिटीलाई आर्थिक भार बढदै आएको बताइन्छ ।

‘अहिले पनि जिल्ला अधिवेशन कैलालीको हुदै छ तर धनगढीमा बैतडी, अछाम, बाजुरा, दार्चुला, डडेल्धुरा, डोटी भुगोल कार्यक्षेत्र भएका नेताहरु आएर अड्डा जमाएर बसेका छन । तिनीहरु कैलालीको अधिवेशनमा किन आउनु पर्यो । मासुभात खान आएजस्तो’ कैलालीका नेताहरुको गुनासो छ ।

उद्घाटन सत्रमा आएर एक दिनको स्टे लिएर फर्के त ठिकै छ, बेहोरौला । धनगढीमा पुरै अड्डा जमाएर बसेका छन भन्दै एक जना जिल्ला नेताले प्रदेश र जिल्ला इन्चार्ज, कैलाली भुगोलमा जिम्मा पाएका केन्द्रिय सदस्यहरु बाहेकका नेताहरुको काम नभएको बताए । अधिवेशनको उदघाटन आज अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्