Logo
Logo

समाजवादी मोर्चाले जनपरिचालन कार्यक्रम ल्याउने



काठमाडौं । चार दलीय समाजवादी मोर्चा नेपालले जनपरिचालनसहित प्रभावकारी जनपरिचालनका कार्यक्रम ल्याउने भएको छ । आइतबार नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय सुविधा नगरमा बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सचिवालयका सदस्य देव गुरुङले नेतृत्व परिवर्तन गर्दै प्रभावकारी ढङ्गले जनपरिचालन गर्ने निर्णय भएको जानकारी दिए । मोर्चाको आलोपालो नेतृत्व परिवर्तन गर्ने सहमति अनुसार नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’लाई बैठकले संयोजक चयन गरेको छ । बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव भने अनुपस्थित थिए । उनी जनकपुरमा रहेकाले उपस्थित हुन नसकेको बताइएको छ ।

‘उपेन्द्रजी जनकपुरमा भएकाले अनुपस्थित हुनुभयो । उहाँको सहमतिमै नेतृत्व परिवर्तन भएको हो । आजको बैठकमा समग्र मोर्चाको गतिविधिबारे समीक्षा भयो’ बैठकबारे जानकारी दिँदै गुरुङले भने, ‘प्रभावकारी ढङ्गले जनपरिचालनका कार्यक्रम बनाउने जिम्मा शीर्ष नेताहरूलाई दिइएको छ । उपन्द्रजीसँगै बसेर केही दिनमा सचिवालय बैठक बसेर ठोस कार्यक्रम सार्वजनिक गर्ने सहमति भएको छ ।’

मोर्चाको गन्तव्य र ओरेन्टेसन तथा अन्य घटकलाई सहभागी गराउने विषयमामा समेत आगामी दिनमा छलफल हुने उनले बताए । तर, कार्यदलका अर्का सदस्य राजेन्द्र श्रेष्ठले अन्य दललाई मोर्चामा सहभागी गराउने विषयमा छलफल नभएको बताए । बैठकमा मोर्चाले अहिलेसम्म गरेका कार्यक्रमको समीक्षा र आगामी दिनका थप योजनाबारे छलफल भएको उनको भनाइ छ ।

उनले सहमतिमै नेतृत्व परिवर्तन गरेको बताउँदै भने, ‘आगामी बैठकको नेतृत्व विप्लवजीले गर्नुहुनेछ । त्यसपछि सहमतिमै कसले गर्ने भन्ने विषयमा छलफल हुन्छ ।’ उनले दुई तीन दिनभित्रै सचिवालयको बैठक बसेर ठोस कार्यक्रम ल्याउने बताए ।

प्रतिक्रिया दिनुहोस्