Logo
Logo

एसइईको सबै तयारी पूरा


- दृष्टि न्युज/संवाददाता


महोत्तरी, ५ चैत । भोलि बिहीबारबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा(एसइई) का लागि महोत्तरीमा सबै तयारी पूरा भएको छ । परीक्षा केन्द्रको सुरक्षा व्यवस्था, परीक्षा सञ्चालनका लागि जनशक्ति व्यवस्थापन, अनुगमन र हेल्थ डेस्कसहितको तयारी पूरा भएको जिल्ला परीक्षा समन्वय समितिले जनाएको हो ।
महोत्तरीमा यस वर्ष ८ हजार ३२९ परीक्षार्थी एसइई परीक्षामा सामेल हुँदैछन् । यो परीक्षाका लागि जिल्लामा ३० परीक्षा केन्द्र व्यवस्था गरिएका छन् । सबै परीक्षा केन्द्रका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्नुका साथै आकस्मिक स्वास्थ्य डेस्कको प्रबन्धसमेत मिलाएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।
परीक्षालाई मर्यादित बनाउन आवश्यक सुरक्षा प्रबन्ध र सघन अनुगमनको व्यवस्था मिलाएको समितिले जनाएको छ । परीक्षा सञ्चालन र व्यवस्थापनका लागि प्रदेश शिक्षा विकास निर्देशनालय र जिल्ला परीक्षा समन्वय समितिबीच आवश्यक समन्वय भइरहेको छ । यसपालि महोत्तरीसहित प्रदेश नं २ का आठ जिल्लाबाट कूल ७२ हजार ८३९ परीक्षार्थी सहभागी हुँदैछन् ।
प्रदेशका आठै जिल्लामा २६७ परीक्षा केन्द्र व्यवस्थापन गरिएको छ । यसपालिको परीक्षामा प्रदेशभित्र सबैभन्दा बढी धनुषाबाट ११ हजार ३९३ र सबैभन्दा कम रौतहटबाट सात हजार ७०५ परीक्षार्थी सहभागी हुँदैछन् । धनुषामा ४३ र रौतहटमा ३० परीक्षा केन्द्र तोकिएको प्रदेश शिक्षा विकास निर्देशनालय जनकपुरधामका निर्देशक चुडामणि फुँयालले जानकारी दिए ।
परीक्षा मर्यादितरूपमा सञ्चालन गर्न जिल्ला परीक्षा समन्वय समितिको नेतृत्वमा सुरक्षा, स्वास्थ्य सचेतना र आकस्मिक उपचारकक्ष, अनुगमनको आवश्यक प्रबन्धका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरिएको निर्देशक फुँयालले बताए ।

सप्तरीमा ९ हजार सहभागी हँुदै

राजविराज– सप्तरीबाट नौ हजार १४० विद्यार्थी एसइई परीक्षामा सहभागी हुने भएका छन् । तीमध्ये चार हजार ५३१ छात्र र चार हजार ६०९ छात्रा रहेको शिक्षा विकास तथा समन्वय एकाइ सप्तरीका प्रमुख फणिन्द्र खत्रीले जानकारी दिए ।
नियमिततर्फ आठ हजार ४६८, एक्जाम्टेडतर्फ १३६ र अपग्रेडिङतर्फ ५३३ विद्यार्थीले सो परीक्षामा सहभागिता जनाउँदैछन् । परीक्षाका लागि जिल्लामा ३४ परीक्षा केन्द्र तोकिएको छ । जसमध्ये ३३ परीक्षा केन्द्र नियमिततर्फका विद्यार्थीका लागि र एउटा केन्द्र एक्जाम्टेड र अपग्रेडिङका विद्यार्थीका लागि निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख खत्रीले जानकारी दिए ।

सुदूरपश्चिमा ५४ हजार ५३७ सहभागी हुँदै

डोटी – सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई)का आवश्यक सबै तयारी पूरा भएको छ ।
सुदूरपश्चिम क्षेत्रीय शिक्षा विकास निर्देशनालय दिपायल राजपुरका अनुसार सबै परीक्षा केन्द्रमा प्रश्नपत्र, उत्तरपुस्तिकालगायतका सामग्री पुगिसकेका छन् । सुदूरपश्चिम प्रदेशबाट यस वर्षको एसइईमा छात्र २६ हजार १४२, छात्रा २८ हजार ३९५ गरी कूल ५४ हजार ५३७ सहभागी हुने भएका छन् । यस वर्षको नियमित एसइईतर्फ छात्र २४ हजार २५७ तथा छात्रा २६ हजार ३९१ गरी कूल ५० हजार ६४८ सहभागी हुने भएका छन् ।
प्राविधिक धारतर्फ छात्र ६६३ तथा छात्रा ३६४ गरी कूल एक हजार २७ जना सहभागी हुने भएको तथा ग्रेडवृद्धितर्फ छात्र एक हजार २२२ तथा छात्रा एक हजार ६४० गरी कूल दुई हजार ८६२ रहेको सुदूरपश्चिम क्षेत्रीय शिक्षा विकास निर्देशनालय दिपायल राजपुरका निर्देशक दुर्गाराज विष्टले जानकारी दिए ।

उनका अनुसार सभ्य तथा मर्या्दित एसइई सञ्चालनका लागि सुदूरपश्चिम प्रदेशभरिमा कूल २११ परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नियुक्ति भइसकेका र उनीहरुलाई परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आवश्यक अभिमुखीकरण दिइसकिएको छ ।
त्यस्तै परीक्षालाई व्यवस्थित, अनुसाशित, मर्यादित र भयरहित तरिकाले सम्पन्न गर्नका लागि शिक्षा विकास तथा समन्वय एकाइलगायत एसइई परीक्षा जिल्ला समन्वय समितिका पदाधिकारीसहित शिक्षा विकास निर्देशनालयबाट यहाँका नौवटै जिल्लामा परीक्षामा सहजीकरण र अनुगमन गर्नका लागि अनुगमन टोली खटाइसकिएको निर्देशक विष्टले बताए । उनले भने, ‘परीक्षालाई भयरहित वातावरणमा सम्पन्न गर्न अनुगमन टोली खटाइएको छ, टोलीले आफ्नो परीक्षा केन्द्रमा सभ्य तरिकाले एसइई सञ्चालन गर्ने छ ।’
यस वर्ष एसइईका लागि तोकिएका परीक्षा केन्द्रमा कोरोनाविरुद्ध सावधानी अपनाएर परीक्षा सञ्चालन र व्यवस्थापन गर्न लागिएको छ । शिक्षा मन्त्रालयको अपिलअनुसार विद्यार्थीलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्धका लागि सम्बन्धित स्थानीय तहलाई अनुरोध गरी हेल्थ डेस्कको स्थापना गरिसकिएको जनाइएको छ । त्यस्तै सुदूरपश्चिम क्षेत्रीय शिक्षा विकास निर्देशनालय दिपायल राजपुरले विद्यार्थीलाई परीक्षा दिन आउँदा र घर जाँदा साबुनपानी प्रयोग गरेर हात धुन, मास्क प्रयोग गर्न, अरुसँग हात नमिलाउन र सकभर भीडभाडमा नजान आग्रह गरेको छ ।
त्यस्तै परीक्षा केन्द्रमा अनावश्यकरूपमा जम्मा भएर भीडभाड नगर्न पनि सबैलाई अपिल गरेको छ । परीक्षा सकिएपश्चात आ–आफ्नो कोठा वा घरमा गइहाल्ने र अनावश्यक हिँडडुल नगर्नसमेत परीक्षार्थीलाई अनुरोध गरिएको निर्देशक विष्टले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्