Logo
Logo

प्रमाणसहित निवेदन दिन सुप्रिम सहकारीका पीडितसँग प्रहरीको अनुरोध



बुटवल । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता र शेयर सदस्यहरुलाई रकम जम्मा गरेको प्रमाणसहित निवेदन दिन इलाका प्रहरी कार्यालय बुटवलले आग्रह गरेको छ ।

कार्यालयले आइतबार एक सूचना जारी गर्दै सहकारीका सदस्य र बचतकर्तालाई बचत पासबुक, शेयर प्रमाणपत्र, बालबालिका भए जन्मदर्ताको प्रमाणपत्रसहित इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिन आग्रह गरेको हो ।

यसअघि प्रहरीले उक्त सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाई पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।

उक्त सहकारीका संस्थापक अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई ले बचतकर्ताको झण्डै सवा एक अर्ब रकम हिनामिना गरेको आरोप छ । केन्द्रीय कार्यालय बुटवल र भैरहवा सेवा केन्द्रबाट सहकारीले राई अध्यक्ष तथा सञ्चालक रहेका विभिन्न पाँचवटा कम्पनीलाई ऋण दिएको थियो ।

राई २०७८ सम्म सुप्रिम सहकारीको अध्यक्ष थिए । रुपन्देही लगायत आसपासका जिल्लाका १० हजार ३९१ जना बचतकर्ताहरुको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना भएको भन्दै बचतकर्ताहरुले प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए ।

संस्थापक अध्यक्ष एवं संरक्षक जीबी राई फरार छन् र उनको खोजीका लागि प्रहरीले इन्टरपोल मार्फत डिफ्युजन नोटिस जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्