Logo
Logo

सम्पत्ति शुद्धीकरणमा दोषी दम्पतिलाई चार करोड बढी जरिवाना



काठमाडौं । सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका माओवादी केन्द्र कोशी प्रदेश कमिटीका कोषाध्यक्ष रेवतराज पुरी गगनलाई अदालतले जरिवाना तोकेको छ । विशेष अदालतबाट माघ २८ मा दोषी ठहर भएका पुरीको सजायस्वरूप आइतबार जरिवाना तोकिएको हो ।

मुद्दा दायर भएको तीन वर्षपछि विशेषका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले रेवतराज र उनकी श्रीमती केशावती पुरीलाई दोषी ठहर गरेको थियो । उनीहरुले चार करोड रुपैयाँभन्दा बढी सम्पत्ति शुद्धीकरण गरेको अदालतको ठहर गरेको छ ।

सम्पत्ति शुद्धीकरण (मनिलाउण्ड्रिङ) ऐन २०६४ को दफा ३० (१) (क) बमोजिम रेवतराज र केशावतिलाई जनही दुई करोड एक लाख ६७ हजार ४४७ रुपैयाँ (कुल चार करोड तीन लाख ३४ हजार ८९४ रुपैयाँ) जरिवाना तोकिएको छ । सोही ऐनको दफा ३४ (१) बमोजिम आरोपपत्रमा जफत गर्न दाबी लिइएको सम्पत्तिबाट विगोबराबरको सम्पत्ति जफत हुने समेत विशेषले ठहर गरेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रेवतराजका दम्पतिसहित ६ जनालाई प्रतिवादी बनाउँदै २१ माघ ०७७ मा मुद्दा दायर गरेको थियो। प्रतिवादीहरु मनमाया पुरी, देवकुमारी पुरी, कृष्ण कुमार पुरी र संगीता पुरीले भने सफाइ पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्