Logo
Logo

हिन्दु राष्ट्र एजेन्डाबारे महासमितिमा छलफल हुँदैनः नेपाली कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले पार्टी कुनै पनि धार्मिक राज्यको पक्षमा नरहेको प्रष्टाएको छ । फागुन ३ र ४ गते सानेपामा बसेको केन्द्रीय समितिमा २२ केन्द्रीय सदस्यले महासमिति बैठकमा सनातन हिन्दु राष्ट्रको पक्षमा उभिन माग गर्दै पुरक प्रस्ताव ल्याए पनि यो एजेन्डाले आधिकारिकता नपाउने कांग्रेसले बताएको छ ।

‘नेपाली कांग्रेस कुनै पनि एकल विचारको पक्षमा छैन । त्यसैले हामीले बहुलवादमा आधारित बहुदल भन्यौं । एकल धर्मको राज्य, एकल वंशको शासन, एकल जातीय शासन, एकल विचारको शासन नेपाली कांग्रेसका लागि स्वीकार्य छैन’, महासमितिस्थल ललितपुरको गोदावरीमा आइतबार भएको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भने ।

उनले केहीले हस्ताक्षर गरेर हिन्दु राष्ट्र चाहन्छौं भनेको पनि बताए । ‘केही साथीहरूले हस्ताक्षर गरेर हामी हिन्दु धर्म मान्छौं, हिन्दु राष्ट्र चाहन्छौं भन्नु भएको हो । उहाँहरूले यो प्रस्ताव बनोस् भनेर माग गर्नुभएको छ । तर यो कांग्रेसको प्रस्ताव बनेन,’ उनले भने, ‘महासमितिमा छलफल गर्ने प्रस्ताव नै नबनेपछि के देखिन्छ भने– केन्द्रीय समितिमा असहज परिस्थिति नबनेपछि महासमितिमा पनि बन्दैन भन्ने हामीलाई लागेको छ ।’

उनले कांग्रेस जातीय, क्षेत्रीय, धार्मिक, साम्प्रदायिक पार्टी नभएको बताए । ‘यो राष्ट्रिय पार्टी हो, उहाँहरूले केन्द्रीय समिति र महासमितिमा बोल्न भने पाउनु हुन्छ,’ विश्वकर्माले भने, ‘अहिले हामी कुनै पनि धार्मिक राज्यको पक्षमा नेपाली कांग्रेस गएको छैन । जाँदैन । त्यस्ता विचार व्यक्त हुन सक्छन् तर आधिकारिकता पाउँदैन ।’

प्रतिक्रिया दिनुहोस्